बागमती


दोस्रो प्रयासमा पनि मुख्यमन्त्री बन्न नसकेपछि मन्त्री बने बहादुरसिंह लामा

दोस्रो प्रयासमा पनि मुख्यमन्त्री बन्न नसकेपछि मन्त्री बने बहादुरसिंह लामा

लामा भन्छन्-खुम्चिनु भन्दा पनि महत्वपूर्ण कुरा कार्यशैलीलाई कसरी अगाडि बढाउने भन्ने पनि हो। तस्बिर : सुनिता विष्ट/नेपालखबर


सुनिता विष्ट
चैत २६, २०७९ आइतबार २०:४८, काठमाडौँ

नुवाकोटबाट निर्वाचित प्रदेशसभा सदस्य बहादुरसिंह लामा बागमतीको मुख्यमन्त्री बन्ने दौडमा थिए।

गत मंसिर ४ को निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवाको शर्त अनुसार संघीय सरकारको टिकट त्यागेर प्रदेशमा अड्किएका लामाका लागि चुनौती नै चुनौतीको चाङ बन्यो। 

संसदीय दलको नेता चयनका लागि गत पुस १३ गते मकवानपुरबाट निर्वाचित सांसद इन्द्रबहादुर बानियासँग उनको प्रतिस्पर्धा भयो।

लामो समयको संवादले पनि निश्कर्ष निकाल्न नसकिएपछि अन्तमा लोकतान्त्रिक पद्धतीको अनुशरण गरेको भन्दै केन्द्रकै ढाँचामा निर्वाचन भयो। कांग्रेसका ३७ सांसदमध्ये लामाको पक्षमा २१ मत खस्यो।

बानियाको पक्षमा १६ मत।

५ मतान्तरले संसदीय दलका नेता बनेका लामाको मुख्य मिसन नै मुख्यमन्त्री बन्ने थियो।

राजनीतिक उतारचढावकै बीचमा केन्द्रकै हावा अनुसार प्रदेश सरकारका पातहरू पनि हल्लिन थाले। जसको असर बागमतीमा पनि पर्दा उनको मुख्यमन्त्री बन्ने सपना पूरा हुन पाएन।

केन्द्रमा पूरानो गठबन्धन भत्किएर माओवादी, एमाले र राप्रपा लगायतका दलहरू मिलेर नयाँ गठबन्धन बनेपछि उनको सपना चकनाचुर बन्यो।

प्रदेशको नेतृत्व गर्ने सोचमा रहेका लामा प्रमुख प्रतिपक्षी दलको भूमिकामा उभिन बाध्य भए। 

त्यसो त, केन्द्रमा एक महिनामै पूरानो गठबन्धन फर्कियो। त्यसले बागमतीमा राप्रपा र एमाले सरकारबाट बाहिरिनु पर्दा कांग्रेस र एकीकृत समाजवादी सरकारमा प्रवेश पायो। 

उनले यो अवसरलाई आफू अनुकुल बनाउन प्रयास नगरेका भने होइनन्। राप्रपा र एमालेले बनाएको सरकारलाई मानेर जान नसकिने भन्दै मुख्यमन्त्री सहितकै नेतृत्व परिवर्तन हुनपर्ने माग उनीसहित कांग्रेसका सबै नेताहरूले राखे। 

मुख्यमन्त्री दिनुपर्ने कांग्रेसको दबाव र छोड्दै नछोड्ने अडानमा उभिएका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अडानका कारण गठबन्धनमै दरार आउने अवस्था समेत बन्यो।  

भिडिओः

मुख्यमन्त्री बन्नकै लागि दौडधुप गरिरहेको कांग्रेसले गत चैत ८ गते मुख्यमन्त्रीले दोस्रो पटक विश्वासको मत लिने दिन उपस्थिती नै जनाएन।

काठमाडौंमा नै संसदीय दलको बैठक राखेर प्रदेश राजधानी नफर्किएको कांग्रेसले सर्त पूरा भएपछि मात्रै १० गतेका लागि प्रदेश सभा राख्न सुझायो। जसअनुसार आलोपालोमा मुख्यमन्त्री बन्ने सर्तसहित मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दियो। 

अझै पनि मुख्यमन्त्रीको आश नमारेको बताउँदै आएको कांग्रेसबाट मुख्यमन्त्रीको दाबेदार नै अर्थमन्त्रीको जिम्मेवारी बहन गर्न पुगेका छन्। संसदको शपथ ग्रहण गरेदेखि नै मुख्यमन्त्रीको दाबेदारको रुपमा चर्चा कमाएका लामाले दोस्रो पटकको प्रयासमा पनि मुख्यमन्त्री बन्न सकेनन्। 

अन्ततः उनी अर्थमन्त्रीमा चित्त बुझाउन बाध्य भए। 

संसदीय प्रणालीमा यस्तो भइरहने भन्दै यो विषयमा अचम्मित हुन नपर्ने लामा बताउँछन्। 

६ मन्त्रालयको दाबी गरिरहेको कांग्रेस संसदीय दलका नेता लामा भन्छन्, ‘खुम्चिनु भन्दा पनि महत्वपूर्ण कुरा कार्यशैलीलाई कसरी अगाडि बढाउने भन्ने पनि हो।’ 

मन्त्री लामाले थपे, ‘प्रदेशलाई अगाडि बढाउनको लागि हामीले एकताबद्ध भएर कोलिसियन गभर्मेन्ट भएको कारणले गर्दा यो हुनु सामान्य हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .