बागमती


बालुवा चाल्नेहरूलाई थाहा छैन श्रमिक दिवस (तस्बिरहरू)

बालुवा चाल्नेहरूलाई थाहा छैन श्रमिक दिवस (तस्बिरहरू)

सुनिता विष्ट
बैशाख १८, २०८० सोमबार २०:५५, हेटाैँडा

आज १३४औँ श्रमिक दिवस। सरकारले नै यो दिवसको अवसरमा सार्वजनिक बिदा समेत दियो। बिदाका कारण सरकारी तथा गैरसरकारी कार्यालयहरू समेत बन्द भए।

देशभर विभिन्न कार्यक्रमका साथ श्रमिक दिवस मनाइएको छ। विभिन्न संघ संस्थाले र्‍याली, सभा तथा विभिन्न कार्यक्रम गरेर यो दिनलाई श्रमिकको व्यथाहरुको व्याख्या गर्न व्यस्त देखिन्थे।

तर साँच्चै श्रम गरेर बिहान बेलुकाको छाक टार्नेहरुलाई भने यो दिवसले अलिकति पनि छोएको छैन। श्रममै रमाइरहेका छन्। न बिदाको खुसी, नत दिवसको तामझामको बारेमा जानकारी। हिजो जसरी दिन बित्यो त्यसरी नै बित्यो आजको दिन पनि।

बिहानैदेखि देशैभर प्रभातफेरी, अन्तरक्रियाजस्ता कार्यक्रम सञ्चालन गरिएका थिए। बागमती प्रदेशको राजधानी हेटौँडामा सोमबार अन्तर्राष्ट्रिय श्रमिक दिवस लक्षित दर्जनौँ कार्यक्रमहरु भए। दिवसको अवसरमा जस्ता कार्यक्रम भए तापनि श्रमिकको न्यायका लागि कुनै उदाहरणीय काम भने हुन सकेको छैन।

श्रम गर्नेलाई थाहा छैन दिवस
सहर बजारका हजारौँ मानिसले श्रमिक दिवस मनाइरहँदा आज श्रमिक दिवस हो भन्ने थाहा पनि नपाएका दर्जनौँ मजदुर भेटिए। श्रमिक दिवसका दिनमासमेत श्रम गरेर छाक टार्नेहरूलाई यो दिवसले कुनै महत्व राखेन।

हेटौँडा बजारबाट छोटो दूरीमा रहेको हेटौँडा– १ मा पर्ने राप्ती नदी तटमा बालुवा चालिरहेका भक्त तामाङलाई आज श्रमिक दिवस हो भन्ने पनि थाहा नभएको सुनाए।

‘हामी काम गरेर खान पर्नेलाई जे दिवस भए पनि के?’, उनले भने, ‘हाम्रो त डेली काम नै यही हो। एक दिन काम गर्न नपाए चुल्होमा आगो बल्दैन। श्रमिक दिवस भन्ने त तपाईंले भन्नुभए पछि थाहा पाएँ’ साथमै रहेका छोराछोरीलाई देखाउँदै उनले थपे, ‘यिनीहरुलाई पढाउन पर्छ। खुवाउनु पर्छ। दिवस भनेर घर बसेर भएन।’

आफ्नो श्रीमानसँगै खोलामा बालुवा खोतलिरहेकी २३ वर्षीया सबिना तामाङले दिवस भएपनि ठूलाहरुलाई हुने बताइन्। ‘हामी काम गरेर छाक टार्नुपर्नेहरुलाई दिवसले केही गर्दैन’ उनले हाँस्दै भनिन्, ‘थाहा त थिएन।’

यता, हेटौंडा १३ कुख्रेनी खोलामा बालुवा चाल्दै गरेकी २४ वर्षीया सानुमाया पाख्रिनले पनि आज श्रमिक दिवस हो भन्ने नै थाहा नभएको बताइन्। चर्को घाममा खोलाको बगरमा ढुंगाबाट छान्दै गिट्टी एकातिर र बालुवा अर्कोतिर बनाउँदै चाल्नको लागि तयारी गरिरहेकी सानुमायाले यो दिवसमा के हुन्छ र भन्दै उल्टै प्रश्न थपिन्।

‘जे दिवस भए पनि छाक टार्नका लागि दुःख नगरी खान पाइँदैन,’ सानुमायाले भनिन्, ‘खै केही पनि थाहै भएन। गाउँका कोही कोही बजार गएका त छन् तर किन गका भन्ने थाहा थिएन।’

सोही खोलाको किनारमा दुइटा लौरी गाडेर घाम छेक्नका लागि एउटा सानो पछ्यौराको छानो बनाएर खोलाको बगरबाट बालुवा खोतलिरहेकी ५० वर्षीया हरिमाया पनि यो विषयमा उस्तै अनभिज्ञ छिन्। छाक टार्नका लागि चर्को घाम नभनी श्रम गरिरहेकी हरिमाया जे दिवस भए पनि धनीहरूलाई मात्रै भएको बताउँछिन्।

‘हामी गरिबलाई त काम नगरी, हाड छाला नघोटी कहाँ खान पाइन्छ र? श्रमिक दिवस क्या हो थाहा छैन’, हरिमायाले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .