बागमती


डेढ करोडको वासुदेव सभागृह भत्काइयो तर बनेन व्यापारिक भवन

डेढ करोडको वासुदेव सभागृह भत्काइयो तर बनेन व्यापारिक भवन

वासुदेव गृह भत्काएर व्यापारिक भवन बनाउने भनिएको स्थान।


सुनिता विष्ट
असार १९, २०८० मंगलबार १२:२३, हेटौँडा

झन्डै डेढ करोड खर्चेर बागमती प्रदेशको राजधानीअन्तर्गत हेटौँडा–४ मा बनाइएको ‘वासुदेव सभागृह’ प्रयोगमा नआउँदै भत्काइयो- सट्टामा व्यापारिक भवन बनाउन भनेर।

भत्काउनुअघि वासुदेव सभागृह

‘वासुदेव बहुद्देश्यीय व्यापारिक भवन’ बनाउन भनी १ करोड ३० लाख खर्च भइसकेको सभागृहमा निर्माण पूरा नहुँदै हेटौँडा उपमहानगरपालिकाका तत्कालीन मेयर हरिबहादुर महतको कार्यकालमा डोजर चलाइयो।

अनि २०७८ मंसिर २० गते लामा-रसुवा-बानियाँ निर्माण सेवासँग ३ वर्षभित्र बनाइसक्नेगरी ठेक्का सम्झौता मात्र गरिएन, त्यही वर्ष पुस १० गते भवन शिल्यान्यास पनि गरियो।

तर अहिलेसम्म निर्माणको सुरसारसम्म हुन सकेको छैन।

तत्कालीन स्थानीय विकासमन्त्री कमल थापाको पहलमा २०६३ सालमा निर्माण थालिएको उक्त सभागृहको नाम सुरुमा ‘ज्ञानेन्द्र सभागृह’ भए पनि दोस्रो जनआन्दोलनपछि सभागृहमा मकवानपुरका सहिद वासुदेव घिमिरेको नाम जोडिएको थियो।

त्यो भताभुंग पारेर डेढ वर्षअघि शिलान्यास गरिएको व्यापारिक भवनको निर्माण अहिलेसम्म सुरु नै हुन नसके पनि त्यसका लागि भनेर हेटौँडा उपमहानगरपालिकाले हरेक आर्थिक वर्ष बजेट छुट्याउन भने छाडेको छैन। सोही क्रममा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ अन्तर्गत पनि त्यसका लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ।

ठेक्का लगाउने तत्कालीन मेयर महतको कार्यकाल गत वैशाखमै सकियो। तर अघिल्लो स्थानीय सरकारले बहुवर्षीय योजनाका रुपमा अघि बढाएका कामलाई निरन्तरता दिने चलनअनुसार बजेट विनियोजन गरिएको हो।

तीनवर्षे ठेक्का सम्झाैताअनुसार निर्माण कम्पनीले २०८१ मंसिरसम्ममा व्यापारिक भवन बनाइसक्नुपर्नेछ। तर सभागृहको प्रांगणमा रहेको राजा वीरेन्द्र शाहको सालिक के गर्ने भन्ने विषयमा विवाद हुँदा काम सुरु नै गर्न नपाइएको बताउँछ– ठेकेदार कम्पनी। 

राप्रपानिकट नेताहरूले व्यापारिक भवन बनाउने नाममा ऐतिहासिक, कलात्मक तथा पुरातात्विक महत्त्व बोकेको राजाको सालिक भत्काउन नहुने बताइरहेका छन्। सभागृहअगाडि रहेको राजा वीरेन्द्रको सालिक मास्न नहुने एक पक्षको अडान र त्यसलाई अन्त सारेर सुरक्षित गर्ने विषयमा उपमहानगरपालिकाको बेवास्ताले व्यापारिक भवन निर्माण अघि बढ्न नसकेको बताइन्छ। 

त्यही भवन निर्माणका लागि चालु आर्थिक वर्षअन्तर्गत पनि १५ करोड रुपैयाँ विनियोजन गरिएको तर समयमा काम सुरु गर्न नपाउँदा उक्त बजेट नै फ्रिज हुने अवस्थामा पुगेको उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपाने बताउँछन्। 

‘ठेक्का सम्झौतासम्मको समय कुर्नैपर्‍यो। आउँदो मंसिरसम्म पनि काम सुरु भएन भने विकल्प सोच्नुपर्छ’, उनले नेपालखबरसँग भने।

दुईतला अन्डरग्राउन्ड, चारतिरबाट लिफ्ट, दुईवटा भर्‍याङ, टपमा भ्युटावर, सपिङ गर्न पसल, अफिस, रेस्टुरेन्ट, गेमिङ जोनलगायत सुविधासहितको १३ तले भवन बनाउन भनेर ४७ करोड ९३ लाख ७२ हजार रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको डेढ वर्ष बितिसकेको छ। तर काम सुरु पनि हुन नसक्दा अघिल्लो संरचनाको क्षति मात्र भएको भन्दै स्थानीयले चिन्ता व्यक्त गर्न थालेका छन्।

उल्टै सभागृहका भग्नावशेषले हेटौँडा बजारको सौन्दर्य बिगार्ने काम गरिरहेको स्थानीय बताउँछन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .