बागमती


दुग्ध पाउडर प्लान्ट निर्माण अन्तिम चरणमा, असोजदेखि उत्पादन थाल्ने योजना

दुग्ध पाउडर प्लान्ट निर्माण अन्तिम चरणमा, असोजदेखि उत्पादन थाल्ने योजना

सुनिता विष्ट
साउन ८, २०८० सोमबार १२:२१, हेटाैँडा

अढाई वर्षअघि बागमती प्रदेशको राजधानी हेटौँडामा बनाउन थालिएको पाउडर दूधको प्लान्ट बल्ल यस आर्थिक वर्षमा पूरा हुने आशा पलाएको छ।

तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले २०७७ पुस १६ गते शिलान्यास गरेको उक्त पाउडर प्लान्ट एक वर्षभित्रै पूरा गर्ने सर्तमा इजी इन्फ्रा कम्पनीले ठेक्का लिएको थियो।

तर कोरोना महामारी, लकडाउनजस्ता कारण देखाउँदै दोस्रोपटक म्याद थपेको उसले चालु आर्थिक वर्षभित्र काम सक्ने दाबी गरेको हो।

९० प्रतिशतभन्दा बढी काम सकिएको सुनाउँदै ठेकेदार कम्पनीका उत्तम पौडेल चालु आर्थिक वर्षभित्र प्लान्ट निर्माण सम्पन्न गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी रहेको बताउँछन्। 

बागमती प्रदेश दुग्ध विकास बोर्डले उत्पादित दूध बिक्री नभएर खेर जाने तथा दूध बिक्रीका लागि किसानले भोगिरहेका समस्या समाधान गर्ने उद्देश्यले हेटौँडा–१० न्युरेनीमा पाउडर प्लान्ट निर्माण अघि बढाएको हो। उक्त प्लान्ट प्रदेश सरकारले बागमती मात्र नभएर गण्डकी, लुम्बिनी र मधेश प्रदेशलाई समेत लक्ष्य गरी निर्माण गरिरहेको हो। 

असोजबाट उत्पादन सुरु हुन्छ : दूग्ध विकास बोर्ड
मेसिन जडानका काम लगभग सकिए पनि भण्डारण कोठा, बाहिरी संरचना निर्माणलगायत काम बाँकी नै छन्। यसका लागि छुट्टै ठेक्कामार्फत काम सकाउने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको योजना छ। 

अगामी असोजदेखि पाउडर दूधको उत्पादन सुरु हुने दूग्ध विकास बोर्डको दाबी छ। बागमती प्रदेशमा उत्पादन भइरहेको दूधबाटै प्लान्ट सञ्चालन गर्न पुग्ने बोर्डका उपाध्यक्ष टीकावल्लभ सापकोटा बताउँछन्।

‘प्रदेशमा नै उत्पादित दूधले बजारको माग धानेर पाउडर दूध बनाउन पनि पुग्छ’, उपाध्यक्ष सापकोटाले भने, ‘अलिअलि अपुग भए छिमेकी प्रदेशबाट पनि दूध आयात गर्न सक्छौँ। आगामी असोज महिनाबाट दैनिक पाँच मेट्रिक टन पाउडर दूध उत्पादन हुन्छ।’ 

दैनिक ६० हजार लिटर दूध खरिद गरी दैनिक पाँच मेट्रिकटन धुलो दूध उत्पादन र प्याकिङ गर्ने लक्ष्य रहेको प्रदेश दुग्ध बोर्डका उपाध्यक्ष सापकोटाको भनाइ छ। पाउडर प्लान्टका लागि महोत्तरी, सर्लाही, रौतहट, पर्सा, चितवन, नवलपरासी र बारालगायत जिल्लाबाट दूध आयात गर्न सकिने उनले बताए। 

उद्योग सञ्चालन भएपछि गाई, भैँसीपालन वृद्धि भएर धेरै किसानले रोजगारी पाउने उनको दाबी छ। 

यसैबीच प्रदेश सरकारकै अर्थमन्त्री बहादुरसिंह लामा भने कोरोना महामारीका कारण लकडाउनको अवस्था हेरेर बनाइएको योजना सफल नहुने टिप्पणी गर्छन्। 

‘त्यो क्षणिक पललाई हेरेर अर्बौं बजेट पाउडर प्लान्ट बनाउनका लागि छुट्याइयो। अहिलेसम्मको मात्रै लगानी हेर्ने हो भने पनि ४२ करोडभन्दा माथि पुगिसकेको छ। निर्माण सम्पन्न भए पनि पाउडर बनाउने दूध कहाँबाट ल्याउने भन्ने अर्को चिन्ताको विषय छ।’

दूध उत्पादन बढाउन दूध जोन 
बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूध उत्पादन बढाउने कार्यक्रम पनि अघि बढाएको छ।

मन्त्रालयका प्रवक्ता झलकनाथ कँडेलका अनुसार यसअन्तर्गत गत आर्थिक वर्षमा चितवन, काभ्रे र ललितपुरमा गरी ५ वटा दूध जोन बनिसकेका छन्। ‘चितवन र काभ्रेमा दुई/दुईवटा ललितपुरमा एउटा दूध जोन बनेका छन्’, प्रवक्ता कँडेलले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .