बागमती


चितवनमा एक महिनाअघि बिरामीको मृत्यु हुँदा किन कुटिए हेटौंडाका डाक्टर?

चितवनमा एक महिनाअघि बिरामीको मृत्यु हुँदा किन कुटिए हेटौंडाका डाक्टर?

सुनिता विष्ट
भदौ २९, २०८० शुक्रबार १४:७, हेटाैँडा

हेटौंडा १ मा रहेको सन्चो हस्पिटल प्रालीमा बुधबार दुई जना डाक्टरमाथि कुटपिट भयो। डिउटीमा खटिएका डाक्टरमाथि कुटपिट हुनुको कारण थियो, बिरामीको मृत्यु। हेटौंडा १२ पदमपोखरी घर भएका ४१ वर्षीया राजेश प्रधानको गत साउन २५ गते मृत्यु थियो।

प्रधान डेंगु रोगको संक्रमण देखिएर उपचारका लागि सन्चो हस्पिटलमा भर्ना भएका थिए। अस्पतालका अनुसार बिरामीलाई साउन २२ गते दिउँसो ल्याइएको थियो। डेंगुबाट ग्रसित उनमा निमोनियाको समस्या देखिएको थियो। श्वासप्रश्वासमा समस्या देखिएपछि राजेशलाई अस्पतालको एचडीयूमा राखेर उपचार थालिएको थियो।

तर बिरामीको अवस्था थप जटिल देखिएपछि अस्पतालले चितवन मेडिकल कलेज रिफर गर्ने सल्लाह गर्यो। बिरामीका आफन्तसँगको सल्लाहमा साउन २३ गते अर्थात, भर्ना भएको भोलिपल्टै चितवन मेडिकल कलेजमा रेफर गरेको पीडित डाक्टर प्रशान्त बिडारीले नेपालखबरसँग भने।

‘बिरामीको मृत्यु भैसकेपछि उनका आफन्तहरु आएर यो बिषयमा थप बुझ्न खोज्नुभयो’ उनले थपे, ‘उपचारको क्रममा उहाँमा थप जटिल समस्या आएको र यहाँ उपचार सम्भव नहुने देखिएपछि हामीले चितवन रिफर गर्नुपरेको जानकारी दिएका थियौं। उहाँहरु कन्भिन्स हुनुभएको थियो। त्यसपछि हामीसँग भेट्न आउनुभएको थिएन।’

कसरी कुटिए डाक्टर?
एक महिनापछि अर्थात भदौ २७ गते बुधबार विहान परिवारका सदस्यसहित एक हुल मानिस अस्पतालमा प्रवेश गरेका थिए। बिरामीको उपचार गराउन आएका आफन्त होलान् भनेर अस्पताल प्रशासनले चासो देखाएन। तर हामी प्रशासनसँग छलफल गर्न आएका हौं भनेर प्रशासन र सञ्चालकलाई खोजि गरिरहेको अस्पतालमा कार्यरत एक कर्मचारीले सुनाइन्।

उनले भनिन्, ‘हामीलाई त यो विषयमा चासो हुने कुरा नै भएन। फोन गर्नुभएको होला भन्ने लागेर आफ्नै काममा ध्यान दिइयो। विहानभर जस्तै उहाँहरु अस्पतालमै घुमिरहेको भने याद गरिरहेका थियौं।’

पीडित डाक्टर बिडारीका अनुसार बिरामीको राउन्डिङ गरिरहेको बेला २०/२५ जनाको हुल आएर एक्कासी कुटपिट गरेका थिए।

‘डाक्टर विकास र म दुवै जना बिरामीको राउन्डिङमा थियौं। त्यही बेला एक हुल नै मानिसहरु आएर मुक्कैमुक्का प्रहार गर्नुभयो। एक्कासी हुल आएर डाक्टर विकासलाई ताने र मुक्का हानिहाले। मैले डाक्टर विकासलाई तान्न खोज्दा मलाई पनि धमाधम हान्न थाले। पछि अपरेसन थिएटरमा लगेर समेत कुटपिट गरे। मेरोे अनुहारमा चोटहरु लागेका छन् भने आँखा रातो भएको छ। उपचार गराइरहेको छु,’ डाक्टर बिडारीले भने।

किन कुटिए डाक्टर?
साउन २५ गते चितवन मेडिकल कलेजमा उपचार गराउने क्रममा मृत्यु भएको भन्दै हेटौंडाको अस्पतालमा कार्यरत डाक्टरहरु किन कुटिए भन्ने कुरा आम चासोको विषय बनेको छ। मृतक राजेशका आफन्तले भने दुईदिन अगाडि अस्पतालका ल्याएका बिरामीको उपचारमा ध्यान नदिएका कारण बिरामीको ज्यान गएको दाबी गरेका छन्।

‘अस्पतालमा उपचार गराउन ल्याउने हो। तर उपचारमा लापरवाही भएकै कारण अवस्था जटिल हुन पुग्यो’ मृतकका आफन्त बताउने उनले भने, ‘अलि कम हुँदैमा राम्रोसँग उपचार गरेको भए अथवा नसक्ने भएपछि दुईदिन यहाँ नराखेर सिधै चितवन मेडिकल कलेज लान सल्लाह दिएको भए बिरामीको ज्यान नजान पनि सक्थ्यो।’

अर्का डाक्टर भागेका हुन्?
डाक्टरहरुमाथि कुटपिटको घटना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पिटाई खाने पीडित डाक्टर विकास थापा हेटौंडा छोडेर भागे भन्ने विषयले चर्चा पाइरहेको छ। बुधबार कुटपिटमा परेर घाइते भएका डा. थापा हेटौंडा छोडेर भागेका हुन् कि उपचार गराउन अन्य अस्पताल गएको भन्ने विषय बुझ्दै नबुझी चर्चाको विषय बनाइएको चिकित्सकहरुको भनाई छ।

डा. बिडारीले धेरै पिटाई खाएका डा. थापाको अनुहारको एउटा हड्डी भाँचिएका कारण काठमाडौंको ट्रमा सेन्टरमा उपचार गराइरहेको बताए। भागेको नभएर उपचार गराउनको लागि लगिएको डा. बिडारीको दाबी छ।

सुरक्षा निकाय नै मौन
बुधबारको घटनालगत्तै प्रहरीको टोली पनि घटनास्थलमा पुगेको थियो। तर प्रहरीले आक्रमण गर्नेलाई पक्राउ गर्नुको सट्टा उल्टै घाइते चिकित्सकलाई कुराकानीका लागि जिल्ला प्रहरी कार्यालय लगेको भन्दै डाक्टर बिडारीले भने, ‘उक्त घटनामा प्रहरी पक्षबाट पनि कमजोरी भएको देखियो। कुटपिटबाट घाइते भएका हामीलाई अस्पताल लैजानु पर्नेमा कुराकानीका लागि जिल्ला प्रहरी कार्यालय लिएर गए। दिनभर त्यहीँ राखियो। उपचार गराउनेमा ध्यान दिइएन।’

जिल्ला प्रहरी कार्यालयमा एसपीसहितको रोहबरमा भएको कुराकानीको क्रममा आक्रमणकारीले त्यहाँ पनि आफूहरूलाई धम्क्याएको डाक्टर बिडारीले बताए।

आफूहरूलाई आक्रमण गर्ने टोलीले एसपीकै अगाडि पनि मान्छे काट्ने धम्की दिएको उल्लेख गर्दै उनले भने, ‘उनीहरूले एसपीकै अगाडि जो–जो डाक्टरले जाहेरी दिन्छ सबैलाई काटेर हिँड्छौं भने। एसपीकै अगाडि काटेर हिँड्छु भनेपछि मुद्दा हाल्ने आँट कसरी आउँछ? कतिले त हामी जेल गइरहेकै मान्छे हो बाल छैनसमेत भने। त्यसपछि हामी केही नभनी त्यहाँबाट उठेर हिँड्यौं।’

न्याय माग्दै सामूहिक राजीनामा
चिकित्सकहरुले आफ्नो पेशाको सुरक्षा र पीडित डाक्टरहरुलाई न्याय माग्दै हेटौंडा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सामूहिक राजीनामा दिएका छन्। सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त बिडारीलाई कुटपिट गर्नेलाई कारबाही माग गर्दै सामूहिक राजीनामा दिइएको हेटौँडा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर हरि खड्काले जानकारी दिए।

‘हामीले घटना घटेको ४८ घण्टासम्म कुर्यौँ। तर पीडितले न्याय पाउने छाँट नदेखिएपछि राजीनामा दिने निर्णयमा पुगेका हौँ’, डाक्टर हरि खड्काले भने, ‘हाम्रो पेसा सुरक्षित छैन। डिउटीमा खटिएकै अवस्थामा पिटाइ खानुपर्ने अवस्था अन्त्यका लागि राज्यले सोच्नुपर्ने। तर राज्य यो विषयमा बेखबरजस्तै भयो।’

उनका अनुसार दोषीलाई कारबाहीको दायरामा नल्याएकाले आजदेखि आकस्मिकबाहेक हेटौँडा अस्पतालका सबै सेवा बन्द गरी चिकित्सक/स्वास्थ्यकर्मी आन्दोलनमा उत्रेका हुन्।

यसअघि चिकित्सक तथा स्वास्थ्यकर्मीले हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डाक्टर रामचन्द्र सापकोटालाई सामूहिक राजीनामा बुझाएका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .