आज (शुक्रबार) काठमाडौं उपत्यकाको मौसम पनि दिनभर बदली हुने र पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले बिहान उपत्यकाको मौसम आंशिकदेखि सामान्यसम्म बदली भएको छ। यो भनेको आकाशमा बादल हुनु र कतै कतै घाम पनि देखिनु हो।
‘आज काठमाडौं उपत्यकाको मौसम दिनभर यस्तै रहने अनुमान छ’, उनले भने, ‘दिउँसो वा अपराह्नतिर हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।’
उनका अनुसार यतिबेला (बिहान ७ बजे) काठमाडौं उपत्यकाको वायुको तापक्रम २१ डिग्री सेल्सियस छ भने बिहान ५:४५ बजेको मापनअनुसार न्यूनतम तापक्रम भने १९.५ डिग्री सेल्सियस छ।
‘आज उपत्यकामा अधिकतम तापक्रम २८ देखि ३० डिग्रीसम्म हुने अनुमान छ’, मौसमविद् लामिछानेले भने।
काठमाडौं उपत्यकामा आज राति पनि वर्षाको सम्भावना रहेको उनले बताए।
Shares
प्रतिक्रिया