बागमती


मन्त्रालयबाट ‘घर जान्छु’ भनी हिँडेका थिए अंगरक्षक यामबहादुर, जंगलमा मृत भेटिए

मन्त्रालयबाट ‘घर जान्छु’ भनी हिँडेका थिए अंगरक्षक यामबहादुर, जंगलमा मृत भेटिए

सुनिता विष्ट
कात्तिक २१, २०८० मंगलबार १८:५, हेटौंडा

मंगलबार बिहान हेटौँडा–११ सहिद स्मारक नजिकै रहेको बनमा मृत भेटिए, यामबहादुर सुवेदी। बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालका अंगरक्षक समेत रहेका सुवेदी मृत भेटिएपछि अहिले प्रहरीले आफ्नो अनुसन्धान अघि बढाएको छ। 

मंगलबार बिहान जंगलमा मृत भेटिएका सुवेदी सोमबार भने दिनभर आफ्नै ड्यूटीमा थिए। 

साँझ परेपछि अर्का सहकर्मीलाई पालो दिएर घर जान्छु भनि हिँडेका सुवेदी मंगलबार बिहान मृत भेटिएका हुन्। 

मन्त्री दुलालका स्वकिय सचिव दिपक न्यौपानेका अनुसार उनले दसैँमा पनि ड्यूटी गरेका थिए। 

‘हामी सोमबार (हिजो) बिहान ९ बजेतिर काठमाण्डौंबाट हेटौंडा आइपुग्यौं। त्यसपछि हामी राष्ट्रिय नीति तथा योजना आयोगको कार्यक्रम होटल एभोकाडोमा सहभागी भयौं,’ न्यौपानेले नेपालखबरसँग भने, ‘कार्यक्रम सकिएपछि साँझ ५ बजेतिर क्वाटरमा गयौं। क्वार्टर पुगेपछि उहाँले ड्यूटी चेन्ज गर्नुभयो। हवल्दार साब ड्यूटीमा खटिनुभयो।’

उनी मनहरीमा रहेको घरमै जान्छु भनेर मन्त्रालयबाट हिँडेको न्यौपाने बताउँछन्।

मन्त्रीसहित आफूहरू सोमबार बेलुका ८ बजे चितवन हिँडेको बताउँदै न्यौपानेले थपे,‘हामीले यो कुरा आज बिहान हेटौंडा फर्कंदै गर्दा मात्रै थाहा पायौँ।’

दसैँभर सँगै डिउटीमा खटिएका अंकरक्षकलाई कुनै चिन्ता भए जस्तो यहाँहरूले महसुस गर्नुभयो? भन्ने नेपालखबरको प्रश्नमा न्यौपानेले जवाफ दिए, ‘उहाँ त्यति धेरै बोल्नुुहुन्नथ्यो। त्यहि भएर होला, उहाँमा चिन्ता भएजस्तो हामीले अलिकति पनि भेउ पाउन सकेनौं।’

यता, घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मृतक सुवेदीको शव पोष्मार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजालले बताए।

‘उक्त रिर्पोट आएपछि हत्या कि आत्माहत्या भन्ने बिषयको पुष्टि हुन्छ। हामी सोही अनुसार अन्सन्धानमा अघि बढ्नेछौं,’ प्रहरी प्रमुख रिजालले नेपालखबरसँग भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .