ad ad

बागमती


मध्यवर्ती क्षेत्रबासीलाई ज्यान जोगाउनै गाह्रो : जंगली जनावरसँग सधैँ मुठभेट

मध्यवर्ती क्षेत्रबासीलाई ज्यान जोगाउनै गाह्रो : जंगली जनावरसँग सधैँ मुठभेट

सुनिता विष्ट
पुस १, २०८० आइतबार १६:३, हेटाैँडा

मंसिर ५ गते बाघको आक्रमणबाट चितवन राप्ती नगरपालिकाका हरि पौडेलको मृत्यु भयो। राप्ती– १ दुबीचौरका ४३ वर्षीय पौडेललाई मकवानपुरको मनहरि– ६ खयरघारी गाउँदेखि करिब २ किलोमिटर दक्षिणतर्फ राप्ती र लोथर खोलाको मध्यवर्ती क्षेत्रअन्तर्गत दोभानमा खर काट्न गएको बेला बाघले आक्रमण गरेको थियो। उनको घटनास्थलमै शव भेटियो।

शव भेटिएपछि उनलाई आक्रमण गर्ने बाघको खोजीमा प्रहरीदेखि निकुञ्जको टोली र स्थानीयसमेत जुटे। खोज्दै जाँदा बाघले खाएको अवस्थामा अर्को शव पनि फेला पर्यो।

उक्त शव पनि त्यही स्थान बस्ने १७ वर्षीय पुष्पराज तामाङको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले पुष्टि गर्यो। मृतकका बुवा इन्द्रबहादुर तामाङले पाइन्ट र चप्पलका आधारमा शव सनाखत गरे।

बाघको आक्रमणले मात्रै स्थानीयको मृत्यु भएको छैन। गत फागुन ८ गते मनहरि-४ वनकरिया टोलकी ६४ वर्षीया राधा अधिकारीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भयो। घरनजिकै बसिरहेको बेला हात्तीले आक्रमण गरेको थियो। हात्तीको आक्रमणले घाइते अधिकारीको उपचारका क्रममा निधन भयो।

यी त प्रतिनिधि घटना मात्रै हुन्। पर्सामा जंगलबाट बस्ती छिरेर वन्यजन्तुले आतंक मच्चाउने घटना वर्षेनि बढ्दै गएको छ। वन्यजन्तुले अन्नबाली नष्ट गर्ने, वस्तुभाउ मार्ने, मानिसलाई आक्रमण गर्ने गर्छन्। वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्युसमेत हुने गरेको छ।

पछिल्लो समय मध्यवर्ती क्षेत्रका नागरिकले कुन बेला कुन जनावरको आक्रमणले ज्यान गुमाउनुपर्ने हो भन्ने लेखाजोखा छैन। पर्सा राष्ट्रिय निकुञ्जका जनावर बस्तीमा पस्दा स्थानीय चिन्तित छन्। राष्ट्रिय निकुञ्ज आसपासका मानिसलाई अन्नबाली, घर र ज्यान जोगाउनै मुस्किल भैरहेको छ।

मध्यवर्ती क्षेत्र आसपासका मानिसहरू प्रायः पूरा रात आनन्दले निदाउन पाउँदैनन्। निदाएको बेला जंगली जनावरले घर भत्काइदेला भन्ने पीर छ, दिउँसोकै समय पनि ज्यान जोगाउन मुस्किल छ।

मनहरि गाउँपालिका, हेटौंडा उपमहानगरपालिकाको बस्तीपुर, पदमपोखरी क्षेत्र, चितवनको राप्ती नगरपालिका लगायतका बासिन्दाको मुख्य समस्या मध्यवर्ती क्षेत्र बन्दै आएको छ।

मनहरि गाउँपालिका ७ रमौलीका चेपाङ सिंह तामाङ भन्छन्, ‘न खेतबारीको बाली निर्धक्कले भित्र्याउन पाइएको छ, न त ढुक्क भएर घर वरिपरी काम गर्न पाइएको छ।’

मंगलबार राति मात्रै ब्लक लगाएको उनको घर हात्तीले भत्काइदिएपछि अब कहाँ गएर बास बस्ने भन्ने चिन्ता लागेको छ।

उनले भने, ‘भएको एउटा सानो घर पनि हात्तीले भत्काइदियो। धपाउन जाँदा श्रीमतीको गोडामा पनि चोट लागेको छ। भएको अन्नपात पनि पोखिएको छ।’

जंगली जनावरका कारण घरै छोडेर आफन्तकहाँ शरण लिन जानुपरेको मध्यवर्ती समितिका पूर्वअध्यक्षसमेत रहेका मुक्ति अधिकारी बताउँछन्।

‘जनावर बचाउने राज्यको काम हो। जनता बच्ने हाम्रो अधिकार हो। हामी बाँच्नका निम्ति के गर्ने भन्ने नै हाम्रो मुख्य प्रश्न हो’, अधिकारीले भने।

जंगली जनावरका कारण आफूहरूले निकै पीडादायी जीवन बिताउनुपरेको उनको गुनासो छ।

चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट जंगली हात्ती, बाघ, चितुवा, बँदेल लगायत जनावर बस्ती पसेर हैरान पार्ने गरेका छन्।

घटनाको ग्राफ बढ्दो
पर्सा राष्ट्रिय निकुञ्जको तथ्यांक अनुसार वर्षेनि जंगली जनावरले निम्त्याउने घटनाको ग्राफ बढ्दो छ। आर्थिक वर्ष २०७८/७९ मा पर्सा राष्ट्रिय निकुञ्जमा यस्ता १६७ वटा घटना भएका छन्।

जसमा ५ जनाको मृत्य भएको थियो भने ३ जना सख्त घाइते भएको निकुञ्जका प्रमुख संरक्षण अधिकारी अशोक कुमार रामले जानकारी दिए।

उनका अनुसार भण्डारण गरेको अन्नको क्षतिका १६, घरगोठ क्षतिका २८ र अन्नबाली क्षतिको ७२ वटा घटना भएका थिए।

यस्तै, गत आर्थिक वर्ष २०७९/०८० मा यस्ता २१६ वटा घटना भएको निकुञ्जको तथ्यांक छ। जसमा ५ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर तथा २ जना सख्त घाइते भएका छन्।

यस्तै, भण्डारण गरेको अन्नको क्षतिको घटना २९, घरगोठ क्षतिका घटना ४२ र अन्नबाली क्षतिको १ सय ९ वटा घटना भएको निकुञ्जले जनाएको छ। 

झण्डै १ करोड क्षतिपूर्ति
जंगली जनावरले क्षति पुर्‍यनउँदा निकुञ्जले क्षतिपूर्ति दिने गरेको छ। निकुञ्जले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ (तेस्रो संशोधन,२०७५) बमोजिम राहत उपलब्ध गराउने गरेको हो।

जसअनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ९६ लाख भन्दा बढी क्षतिपूर्ति उपलब्ध गराइएको निकुञ्जले जनाएको छ। मानवीयदेखि अन्य क्षतिका लागि ९६ लाख ९८ हजार ८ सय क्षतिपूर्ति उपलब्ध गराइएको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ। अन्य घटनाको क्षतिअनुसार रकम उपलब्ध गराइने गरिएको निकुञ्ज बताउँछ।

मानवीय क्षतिमा भने १० लाख रुपैयाँ राहत उपलब्ध गराइने निकुञ्जका प्रमुख रामको भनाइ छ।

छैन दीर्घकालीन उपाय
निकुञ्ज आसपासका क्षेत्रमा मानव–वन्यजन्तुबीच द्वन्द्वको अवस्था उस्तै छ। यो समस्याको दीगो समाधानका लागि निकुञ्ज गम्भीर नभएको सरोकारवाला बताउँछन्।

‘पर्सा राष्ट्रिय निकुञ्ज वन्यजन्तुमा धनी छ, यो राम्रो कुरा हो। वन्यजन्तुको संरक्षणसँगै जनताको जीउधनको पनि सुरक्षा हुनुपर्ने हो’, मनहरि गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती भन्छन्, ‘तारबार वा आरसीसी वाल नै लगाउनुपर्छ भनेर हामीले पटक/पटक निकुञ्जलाई आग्रह गरिसकेका छौं, हुन्छ मात्र भन्छ। दीगो समाधानमा चासो दिएको जस्तो लाग्दैन।’

निकुञ्ज र वन क्षेत्रमा वडा वा पालिकाले पहल गर्नेबाहेक केही गर्न नसक्ने उनी बताउँछन्।

मांसहारी वन्यजन्तुले एक पटक जंगलबाहिरको आहार खाएपछि निरन्तर बाहिरै निस्कन खोज्छन्। त्यस्ता वन्यजन्तुलाई नियन्त्रणमा लिन पनि सहज हुँदैन। पर्सा निकुञ्जका प्रमुख अशोककुमार राम जंगलबाट निस्केका बाघ, चितुवा र हात्तीलाई नियन्त्रणमा लिन कठिन हुने बताउँछन्।

निकुञ्जको सम्पूर्ण क्षेत्रमा तारबार लगाउन ठूलो खर्च लाग्ने उनको भनाइ छ। वन्यजन्तुबाट बढी प्रभावित क्षेत्रमा आवश्यकता अनुसार निकुञ्जले सोलार फेन्स, मेस जाली लगाउने काम गरिरहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .