ad ad

बागमती


काठमाडौँ उपत्यकामा कति पर्‍यो पानी? रातिलाई सम्भावना कस्तो छ?

काठमाडौँ उपत्यकामा कति पर्‍यो पानी? रातिलाई सम्भावना कस्तो छ?

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
माघ २१, २०८० आइतबार २०:३, काठमाडौँ

देशका विभिन्न स्थानसँगै आज (आइतबार) काठमाडौँ उपत्यकामा पनि वर्षा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार काठमाडौँ उपत्यकामा छिटपुट मात्र वर्षा भएको हो। 

‘काठमाडौँ उपत्यकामा आज दिउँसो २ बजेदेखि सवा २ सम्म फाटफुट मात्र वर्षा भएको देखिन्छ’, मौसमविद् नगरकोटीले आइतबार बेलुका नेपालखबरसँग भनिन्, ‘एयरपोर्ट (जहाँ मौसम महाशाखाको कार्यालय छ) मा छिटपुट पानी पर्‍यो भने बूढानीलकण्ठमा ०.८, धापमा ०.६ र सुन्दरीजलमा ०.४ मिलिमिटर वर्षा भएको छ। यसबाहेक उपत्यकाका धेरैजसो स्थानमा फाटफुट पानी परेको छ।’

अहिले भने काठमाडौँ उपत्यकामा वर्षा रोकिएको छ। पुन: राति फाटफुट पानी पर्ने सम्भावना रहेको तर सम्भावना न्यून रहेको उनको भनाइ छ। 

अहिलेको प्रणाली (वर्षा गराउने पश्चिमी न्यून चापीय प्रणाली) ले भोलि (सोमबार) सम्मै प्रभाव पार्ने देखिएको जानकारी मौसमविद् नगरकोटीले जानकारी दिइन्। ‘त्यसैले काठमाडौँ उपत्यकामा पनि भोलिसम्मै पानी पर्ने तथा चिसो बढ्ने सम्भावना देखिन्छ’, उनले भनिन्। 

यसैबीच आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम शनिबारको तुलनामा २ डिग्री सेल्सियस घटेको छ। 

मौसमविद् नगरकोटीका अनुसार शनिबार उपत्यकाको अधिकतम तापक्रम १८ डिग्री सेल्सियस थियो भने आज १६ डिग्री सेल्सियसमा झरेको हो।

‘आज राम्रोसँग घाम लाग्न पाएन, आकाशमा बादल लाग्यो, पानी पनि पर्‍यो, त्यसैले दिउँसो चिसो भयो, अधिकतम तापक्रम घट्यो’, उनले भनिन्। 

अहिले रातिको करिब ८ बजे काठमाडौँ उपत्यकाको तापक्रम १० डिग्री सेल्सियसमा झरेको जानकारी उनले दिइन्। हिजो यही समयमा उपत्यकाको तापक्रम ११ डिग्री सेल्सियस थियो। 

मौसमविद् नगरकोटीका अनुसार देशभरको कुरा गर्नुपर्दा आज सातै प्रदेशका विभिन्न स्थानमा पानी परेको छ। 

‘सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान, बागमती प्रदेशका थोरै स्थान तथा कोसी र मधेस प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भएको छ’, उनले भनिन्, ‘सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भने अहिले पनि पानी परिरहेको छ।’

यसैगरी आज सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पनि भएकाे उनले बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .