ad ad

बागमती


यसकारण एकीकृत समाजवादीले पाउन सक्छ बागमतीको नेतृत्व

यसकारण एकीकृत समाजवादीले पाउन सक्छ बागमतीको नेतृत्व

बागमती प्रदेश सभामा एकीकृत समाजवादीका ७ जनाको प्रतिनिधित्व छ (तस्बिर : कृष्ण शर्मा खनाल)


सुनिता विष्ट
फागुन २६, २०८० शनिबार २०:४८, हेटौँडा (मकवानपुर)

केन्द्रमा माओवादी, एमाले, एकीकृत समाजवादी लगायतका दलहरु मिलेर नयाँ गठबन्धन बनेपछि प्रदेशमा पनि सत्ता राजनीतिमा हलचल पैदा भएको छ।

केन्द्रीय सत्ता समीकरणअनुसार बागमतीमा एमाले, माओवादी र एकीकृत समाजवादीको प्रतिनिधित्व छ। हाल बागमती प्रदेश सरकारको नेतृत्वमा माओवादीका पोलिट्ब्यूरो सदस्यसमेत रहेका शालिकराम जम्कट्टेल छन्। 

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का विश्वासपात्र मानिने जम्कट्टेलकै नेतृत्वमा नयाँ गठबन्धनअनुरूप मन्त्रिपरिषद् विस्तार हुन सक्ने आकलन एक तहमा भइरहेको छ। 

यद्यपि, प्रदेशमा नेतृत्व परिवर्तनकै मुद्दा पनि जोडतोडले उठिरहेको छ। जसको प्रभाव हाल बागमतीमा नेतृत्व लिइरहेको माओवादीलाई पनि नपर्ला भन्न सकिँदैन।

सात प्रदेशमध्ये माओवादीले दुई प्रदेशको नेतृत्व पाउने केन्द्रीय मञ्चमा छलफल भइरहेको माओवादीकै एक केन्द्रीय नेताले बताए। उनका अनुसार माओवादीको भागमा दुई प्रदेशको मुख्यमन्त्री लिने भन्ने विषयमा अन्य दलसँग निरन्तर छलफल भइरहेको छ। 

यस्तै, नेकपा एमालेले तीन प्रदेशको मुख्यमन्त्रीमा दाबी बढाइरहेको छ। यसअघिको गठबन्धनमा कांग्रेसले नेतृत्व लिएको गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश आफ्नो पोल्टामा पार्ने कसरतमा एमालेका नेताहरु जुटिरहेका छन्। यी तीन प्रदेश उसको पहिलो प्राथमिकतामा छन्।

गण्डकी र लुम्बिनीसहित कोसीमा समेत एमाले पहिलो दल हो।

तर बागमतीमा हेर्ने हो भने गठबन्धनको सबैभन्दा ठूलो घटक एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया पनि आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने भन्दै केन्द्रीय तहमा लबिइङ गरिरहेका छन्।  

केन्द्रीय समझदारीअनुसार मधेस प्रदेशको नेतृत्व जनता समाजवादी पार्टी (जसपा) को पोल्टामा पर्नेमा दुईमत छैन। एक प्रदेशको नेतृत्व आफूले पाउनुपर्ने सर्तमा केन्द्रीय सत्ता समीकरणमा होमिएको भनिएको एकीकृत समाजवादीले बागमती नै ताकेको छ। 

उता कानुनी रुपमा कोसी प्रदेशको सरकार विस्तारमा जटिलता छ। सरकार बनाउन प्रयोग हुने संविधानका सबै धारा प्रयोग भइसकेको अवस्थामा अब ४ सिट मात्रै रहेको एकीकृत समाजवादीले नेतृत्व पाउने सम्भावना क्षीण छ।

केन्द्रीय सत्ता समीकरणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेशमा शून्य उपस्थिति छ। प्रदेशमा रास्वपाले उम्मेदवार नै खडा गरेन।

तसर्थ प्रारम्भिक राजनीतिक चहलपहल नियाल्ने हो भने ७ प्रदेशमा माओवादीले २, एमालेले ३, जसपाले १ र एकीकृत समाजवादीले १ प्रदेशको मुख्यमन्त्री पाउने देखिएको छ। 

बागमतीमा नेकपा एसको सम्भावना कति? 
अन्य प्रदेशमा भन्दा एकीकृत समाजवादीले बागमती प्रदेशकै नेतृत्व पाउने सम्भावना बढ्दो छ। कारण अन्य प्रदेशको तुलनामा बागमतीमा नेकपा एसको उपस्थिति केही फराकिलो छ।

कोसीमा एकीकृत समाजवादीको ४ सिट छ। ९३ सदस्यीय कोसीमा एकीकृत समाजवादीको उपस्थिति कम हुनु मात्रै होइन, सरकार गठनको प्रक्रिया नै पेचिलो बन्ने अवस्था छ। 

यता ६० सदस्यीय प्रदेश सभा रहेको गण्डकी प्रदेशमा नेकपा एसको १ सिट मात्रै छ। ८७ सिट रहेको लुम्बिनीमा पनि नेकपा एसको १ सिट मात्रै छ।

५२ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा ४ र ४० सदस्यीय कर्णाली प्रदेश सभामा १ सिटमा सीमित छ, एकीकृत समाजवादी। यता मधेस प्रदेश सभामा रहेका कुल १०७ सदस्यमध्ये नेकपा एसका सांसद ७ छन् भने बागमती प्रदेश सभामा पनि ७ जनाकै प्रतिनिधित्व छ। 

अन्य प्रदेशमा न्यून उपस्थितिका कारण मधेस प्रदेश र बागमती प्रदेशमध्ये एकको नेतृत्वमा एकीकृत समाजवादीको दाबी बलियो हुन्छ।

जसपा अध्यक्ष उपेन्द्र यादवले मधेसको मुख्यमन्त्रीलाई ‘बटमलाइन’ राखेर केन्द्रीय समीकरणमा मिसिएका हुन्। त्यसैले मधेसमा एकीकृत समाजवादीले चियाउन सक्ने अवस्था छैन। त्यसो भए केन्द्रीय सत्ता समीकरण नै डग्मगाउन पुग्छ।

सातै प्रदेशको अंक गणित र बागमतीको अपरिहार्यतालाई नियाल्ने हो भने एकीकृत समाजवादीले मागेको एक प्रदेशको मुख्यमन्त्री बागमतीकै हो भनेर यस पार्टीका नेताहरुले बुझेका छन्।

अघिल्लो कार्यकालमा माओवादी, कांग्रेस र एकीकृत समाजवादीको गठबन्धनमा मुख्यमन्त्री पाएको इतिहास स्मरण ताजै रहेको बताउँदै एकीकृत समाजवादीका एक केन्द्रीय नेताले नेपालखबरसँग भने, ‘अहिलेको समीरकणको कुरा बागमतीसँग मात्रै जोडिएको विषय होइन। केन्द्रको निर्देशनमा प्रदेश सरकार विस्तार हुने हो।’ 

उनले थपे, ‘केन्द्रमा दुई मन्त्रालय र एउटा प्रदेशको मुख्यमन्त्रीमा सहमति भएर सत्ता साझेदार बनेका हौं। प्रदेशको एउटै विकल्प भनेको बागमती नै हो।’ 

हालका मुख्यमन्त्री जम्कट्टेलले पनि प्रधानमन्त्री प्रचण्डलाई अफ्ठ्यारो पर्ने गरी अत्तो थाप्ने छैनन् भन्ने विश्वास एकीकृत समाजवादीका नेताहरूको छ। 

संघीय सांसदसमेत रहेका ती नेताका अनुसार एकीकृत समाजवादीले बागमतीमै दाबी गरिरहेको छ। 

ढुक्क खनाल
नेकपा एकीकृत समाजवादी बागमती संसदीय दलका नेता कृष्ण शर्मा खनाल बागमतीको नेतृत्व आफ्नै पोल्टामा आउनेमा ढुक्क रहेको बताउँछन्। 

‘केन्द्रको निर्देशनअनुसार नै प्रदेश सरकारलाई अघि बढाउने हो,’ उनले भने, ‘तर पनि बागमतीको नेतृत्व परिवर्तन भएर एकीकृत समाजवादीले नै मुख्यमन्त्री पाउँछ भन्नेमा म शतप्रतिशत नै ढुक्क छु।’

केन्द्रबाट नटुंगिएसम्म भन्न नसकिने भए पनि बागमतीको नेतृत्व नेकपा एसले नै पाउने गरी केन्द्रमा लबिइङ चलिरहेको उनको दाबी छ। के लबिइङमा उनी आफैँ पनि धाइरहेका छन् त? नेपालखबरको प्रश्नमा उनले हाँस्दै भने, ‘हामी साना नेताहरुको लबिइङले प्रदेशको नेतृत्व पाउने होइन। केन्द्रीय तहका नेताज्यूहरु जुटिरहनुभएको छ। म चितवनमै छु। नयाँ गठबन्धन बनेदेखि काठमाडौं गएकै छैन।’

स्पष्ट छैन बहुमत 
त्यसो त नयाँ गठबन्धन अनुसारको गरकार गठनका लागि बागमतीमा तीन दलको स्पष्ट बहुमत छैन। यहाँ सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ। 

एमालेको २७, माओवादीको २१ र एकीकृत समाजवादीको ७ गरी ५५ मात्रै हुन आउँछ। 

सरकार गठनका लागि तीन दलले अन्य दललाई सरकारमा ल्याउन आवश्यक छ। 

बागमती सरकार गठनका लागि हाम्रो नेपाली पार्टी (हानेपा) को दुई मत निर्णायक देखिन्छ। हानेपाका २ मत जोडिँदा ५७ पुग्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .