ad ad

बागमती


केन्द्रको टिकट माग्दा लामालाई देउवाले दिएको त्यो आश्वासन, जुन अहिले पूरा भयो

केन्द्रको टिकट माग्दा लामालाई देउवाले दिएको त्यो आश्वासन, जुन अहिले पूरा भयो

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा


सुनिता विष्ट
साउन १०, २०८१ बिहिबार ७:३४, हेटौँडा

बागमती प्रदेशमा नेपाली कांग्रेसले पहिलोपटक सरकारको नेतृत्व गर्ने अवसर पाएको छ। 

कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा मुख्यमन्त्री बनेका हुन्। 

केन्द्रमा कांग्रेस-एमालेको सत्ता गठबन्धन बनेपछि अन्य प्रदेशसँगै बागमतीमा पनि सरकार परिवर्तन भएको हो। 

केन्द्रमा कांग्रेस-एमालेबीच भएको भागबन्डाअनुसार बागमती प्रदेश कांग्रेसको भागमा परेको हो।

सो क्रममा कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले मुख्यमन्त्री बन्ने मौका पाएका हुन्। 

दीपबहादुर लामा तामाङ र पूर्णिमाया लामा तामाङका छोरा उनी २०२७ कात्तिक ८ गते नुवाकोटको किस्पाङ-५ मनकामनामा जन्मिएका हुन्। पारिवारिक पृष्ठभूमिले सानै उमेरदेखि अब्बल र हक्की स्वभावका लामाले स्नातकसम्म अध्ययन गरेका छन्।

२०४३ सालदेखि कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध उनी शंकरदेव क्याम्पस (काठमाडौँ) एकाइ समितिका सदस्य बने। २०४५ सालमा स‌ंघकै क्षेत्रीय सभापति, नुवाकोट जिल्ला उपसभापति हुँदै लामा कांग्रेस राजनीतिमा उदाए।

२०५४ सालको स्थानीय तहको निर्वाचनमा नुवाकोटको तत्कालीन मनकामना गाविसको अध्यक्ष पदमा भारी मतले विजयी भएका लामा पार्टीको १३औँ महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्य बने। 

२०६४ सालको संविधान सभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट क्षेत्र नम्बर ४ बाट उठेका उनले पराजय बेहोरे। २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा भने उनले तत्कालीन नेकपा एकीकृत माओवादीका महासचिव पोष्टबहादुर बोगटीलाई भारी मतले हराउँदै संविधानसभा सदस्य चुनिए। 

२०७४ सालमा प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित लामाले २०७९ को आम निर्वाचनमा भने पार्टीबाट टिकट पाउन सकेनन्।

कांग्रेस सभापति शेरबहादुर देउवाकै विश्वासपात्र मानिने लामाले त्यसबेला प्रतिनिधि सभाको टिकटका लागि दौडधुप नगरेका होइनन् तर देउवाले प्रदेशको मुख्यमन्त्री बनाइदिने आश्वासन दिएपछि उनी प्रदेशमै झर्न सहमत भए। 

नुवाकोट क्षेत्र नम्बर २ (२) बाट उम्मेदवार बनेका लामा प्रदेश सभा सदस्य पदमा विजयी पनि भए।

मुख्यमन्त्री बन्ने सपनाकै कारण केन्द्रीय तहबाट प्रदेश चुनावमा झरेका उनलाई जसरी पनि मुख्यमन्त्री बन्नु थियो। तर त्यसका लागि सबैभन्दा पहिले उनले आफ्नै संसदीय दलभित्र संघर्ष गर्नुपर्‍यो। 

यस क्रममा उनले प्रदेश संसदीय दलको नेता बन्न मकवानपुरबाट निर्वाचित प्रदेश सांसद इन्द्रबहादुर बानियाँसँग चुनाव नै लड्नुपर्‍यो। 

नभन्दै सांसदहरू लामाकै पक्षमा देखिए। कांग्रेसको कूल ३७ प्रदेश सांसदमध्ये २१ जनाले लामालाई मत दिए। बानियाँका पक्षमा १६ मत मात्र पर्‍यो। र, संसदीय दलको नेता बन्दै लामालाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो।

मुख्यमन्त्री लामा नेता मात्र नभएर प्रदेशकै ठूला निर्माण व्यवसायीका रूपमा समेत चिनिन्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .