गाउँमा दसैँको माहोल छ। छिमेकीले घरमा पसेको बाढीले ल्याएको माटो पन्छाएर जमरा राखेका छन्। तर २५ वर्षीया अनिता लोप्चनमा त्यसको कुनै रौनक छैन। छ महिनाघि मात्र श्रीमान् बितेर शोकमा रहेकी अनिताको बास पनि बाढीले भत्काइदियो। चाडपर्वका बेला टहरोजस्तै भत्किएको मन र दुई सन्तान लिएर भौतारिरहेकी छन् उनी।
यही असोज १२ गते शनिबार आएको बाढीले काभ्रेको पनौती नगरपालिका–८ मा रहेको उनको बास बगाइदिएको हो। यसपछि उनीसहित ८ वर्षकी छोरी पूजा र १० महिने छोरा पवनको टाउको लुकाउने ठाउँ छैन। बाढीबाट बचेका कपडा धोएर सुकाइन्। ओढ्ने, ओछ्याउने कपडा कामै नलाग्ने भए। घर भत्किएपछि दसैँका बेला उनी छिमेकीको शरणमा पुगेकी छन्।
‘भएका सबै सामान बाढीले बगायो, छोराछोरीलाई खुवाउने केही छैन’, अनिता दु:खेसो गर्छिन्, ‘बिहान-बेलुकाको छाक छिमेकीहरूको घरमा खाइरहेको छौँ। भोकै बसेको देख्न नसकेर होला बोलाएर खुवाउनुहुन्छ। दसैँका बेला सधैँ अरूको घरमा खान पनि अप्ठेरो लाग्छ। तर नखाई सुख छैन, पेट त भर्नैपर्यो। बच्चाहरू भोक लागेपछि रुन्छन्।’
‘दसैँ त यसपालि थिएन। श्रीमान्को जुठो छ’, उनले थपिन्, ‘गाउँमा अरूको घरमा जमरा राखेको देखेर छोरीले बेलाबेला दु:ख दिन्छे। बस्ने, खाने टुंगो नभएको बेला के को दसैँ? के को चाडपर्व! एकातिर उसको बाउ बिते, यता भएको एउटा टहरो पनि भत्कियो। गाउँमा छिमेकीले दिएको भात खाएर बाँचिरहेका छौँ।’
पनौती नगरपालिका-१ दाप्चा माइती भएकी अनिताले १४ वर्षकै कलिलो उमेरमा आफूभन्दा झन्डै १० वर्ष जेठा सानुकान्छा लामासँग भागी विवाह गरेकी थिइन्। तर उनले अहिलेसम्म श्रीमान्को घर देख्न पाएकी छैनन्।
‘सानै उमेरमा बिहे गरियो, श्रीमान् त मभन्दा धेरै जेठा थिए’, अनिताले सुनाइन्, ‘उहाँको घर मैले अहिलेसम्म देखेको छैन। म गाकै त छैन। श्रीमान् हुञ्जेल त उनले कमाएर ल्याउँथे। सजिलै थियो। उनी पनि बिते। घर पनि बाढीले भत्कायो। यी दुईटा (छोराछोरी) लाई के खुवाउने भएको छ।’
अनिताका अनुसार जन्डिसका कारण दुई महिना थलिएका सानुकान्छा २०८० चैत ७ मा बिते। सोही बेलादेखि अनितालाई आफ्नो र छोराछोरीको पेट भर्न सकस हुन थालिसकेको थियो।
‘श्रीमान् बित्दा छोरा ४ महिनाको मात्रै थियो। अहिले १० महिनाको भयो। बच्चा बोकेर कहाँ काम गर्न जानु? नगए यिनका पेट कसरी भरौँ? मलाई त यही चिन्ताले निद्रै लाग्दैन’, अनिताले थपिन्।
सानुकान्छाले अनितालाई बिहे गरेपछि भाडाको कोठामा राखेका थिए भने पछिल्लो समय सोही स्थानमा जस्ताको टहरो बनाएका थिए। त्यो पनि बाढीले बगाइदिएपछि अनिताको उठीवास लागेको हो।
‘बस्ने ठाउँ नै नभएपछि छिमेकी दिदीको घरको एउटा कोठामा बसेको छु’, उनी भन्छिन्, ‘अरूको घरमा दाउरा बाल्ने कुरा भएन। ग्यास किन्ने पैसा नभएर खाना नपकाएको एक हप्ताभन्दा बढी भयो। कहिले कसले, कहिले कसले खान दिनुहुन्छ। राहतमा दाल, चामल त दिनुभको छ। तर के गर्नु पकाउने ग्यास छैन।’
अनिता माइतीघरकी एक्ली चेली हुन्। तीन भाइकी एक्ली दिदी उनको दु:खमा माइतीले बेलाबखत सहयोग गर्ने गरेका छन्।
पनौती नगरपालिका-८ का वडाध्यक्ष वेदप्रसाद बञ्जरा अनिताका लागि पालिकाले राहत सामग्री उपलब्ध गराएको बताउँछन्।
‘हामीले गर्नसक्ने सहयोग गर्दै आएका छौँ’, उनले भने, ‘रासन पानीको व्यवस्था गरेका छौF। तर यतिले मात्रै उनलाई सजिलो हुने अवस्था छैन। सबैले सकेको सहयोग गरिदिन पाए बालबच्चाका लागि पनि न्याय हुन्थ्यो।’
अनिताकी छोरी पूजालाई पढ्न सानुकान्छाका मामा नाता पर्ने व्यक्तिले पनौती-८ मै रहेको नवरत्न बोर्डिङ स्कुलमा पूर्ण छात्रवृत्तिको व्यवस्था मिलाइदिएका छन्। पूजा अहिले एलकेजीमा पढ्छिन्।
अनिताको एउटै इच्छा छ- बालबच्चालाई ओत लगाउने एउटा सानो घर बनाउने। घर भइदिए मेलापात गरेरै भए पनि आफ्नो जीविका चलाउने उनी बताउँछिन्।
‘अरू त के भन्नु र खै’, अनिताले भक्कानिँदै भनिन्, ‘एउटा सानो घर भइदिए बाँकी जीवन मेलापात, ज्याला मजदुरी गरेरै भए पनि चलाउँथेँ। अहिले मलाई धेरै नै गाह्रो छ।’
Shares
प्रतिक्रिया