ad ad

बागमती


हामीले संघीय सरकारसँग जोरी होइन, अधिकार खोजेका हौँ : मुख्यमन्त्री जम्कट्टेल (अन्तर्वार्ता)

हामीले संघीय सरकारसँग जोरी होइन, अधिकार खोजेका हौँ  : मुख्यमन्त्री जम्कट्टेल (अन्तर्वार्ता)

सुनिता विष्ट
पुस १२, २०८० बिहिबार ९:१८, हेटौँडा

संघीयता कार्यान्वयनका सवालमा प्रदेश सरकारहरुले विभिन्न ढंगले संघीय सरकारलाई दबाब दिँदै आएका छन्। यसै सन्दर्भमा देशका सातै प्रदेशका मुख्यमन्त्री यही शुक्रबार हेटौंडामा भेला हुँदैछन्। संघीय सरकारले प्रदेश सरकारलाई प्रत्यायोजन गर्नुपर्ने अधिकारका लागि दबाब दिन सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा भेला हुन लागेका हुन्। सातवटै प्रदेश सरकारले संवैधानिक अधिकार प्रत्यायोजनका लागि संघीय सरकारलाई दिएको समय सीमा यही पुस १५ गते समाप्त हुँदैछ। त्यसको २ दिनअघि मुख्यमन्त्रीहरुले संयुक्त भेला गरेर संघीय सरकारमाथि दबाब बढाउन लागेका हुन्। यसअघि पोखरामा भएको बैठकले गरेका ६ वटा निर्णय कार्यान्वयन नभएको अवस्थामा मुख्यमन्त्रीहरूले अन्तर प्रदेशको तेस्रो बैठकमार्फत संघीय सरकारलाई दबाब दिने तयारी गरेका हुन्।

गएको असार १६ गते पोखरामा मुख्यमन्त्रीहरूको अन्तर प्रदेशस्तरीय बैठक बसेको थियो। त्यसको भोलिपल्ट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा त्यतिबेला राष्ट्रिय समन्वय परिषद्को बैठक पनि बसेको थियो। ती बैठकमा संवैधानिक व्यवस्थाअनुसार प्रदेशले अधिकारीहरु नपाएका सम्बन्धमा छलफल भएका थिए। ती बैठकले ६ महिनाभित्र संघीयता कार्यान्वयनको गतिरोध अन्त्य गर्ने निर्णय गरेका थिए। तर, निर्णय कार्यान्वयन नभएपछि मुख्यमन्त्रीहरुले संयुक्त भेला गरेर संघीय सरकारलाई दबाव दिने तयारी अघि बढाएका छन्। यसै सन्दर्भमा केन्द्रित रहेर बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकटेलसँग गरिएको कुराकानी :

यही शुक्रबार हेटौँडामा सातै प्रदेशका मुख्यमन्त्रीको भेला आयोजना हुँदैछ, त्यो भेलाको उद्देश्यको विषयमा प्रस्ट पारिदिनुस् न।
 

शुक्रबार हुन लागेको भेला हाम्रो नियमित काम हो। हामीले यो भन्दा पहिले पोखरामा पनि मुख्यमन्त्रीको भेला गरेका थियौँ। पोखरा भेलाको निरन्तरताकै रुपमा हामीले हेटौँडामा भेला आयोजना गर्न लागेका हौँ। यो एक प्रकारको बैठक नै हो। पोखरामा उठाएका मूल एजेण्डाहरु नै आगामी भेलामा हामी उठाउने छौँ। विशेषगरी कार्य बिस्तृतीकरणमा रहेका केही दोहोपनाहरु हटाउने क्रममा पोखरामा बसेको मुख्यमन्त्रीहरुको बैठकको भोलिपल्टै सम्माननीय प्रधानमन्त्री ज्यूले राष्ट्रिय समन्वय परिषद्को बैठक राख्नुभएको थियो। त्यो बैठकबाट कार्यविस्तृतीकरणलाई हेरफेर गर्ने, थपघट गर्ने तथा परिमार्जन गर्ने निर्णय भएको थियो। त्यही निर्णय कार्यान्वनका निम्ति हामीले अहिले हेटौँडामा भेलाको आयोजना गरेका हौँ।
 
संघीय सरकारले प्रदेशलाई अधिकार दिएन भनेर तपाईंहरु एकप्रकारले लडाईं नै गरिरहनु भएको छ। प्रदेशले सधैं अधिकार मागिरहने तर संघले नदिने, किन यस्तो भइरहेको होला?
 
हामीले हरु केही मागेका होइनौँ। संवैधानिक रुपमा प्रदेशका लागि जे जे अधिकार स्थापित छन्, ती अधिकार अहिलेसम्म पनि संघीय सरकारबाट हस्तान्तरण हुन सकेका छैनन्। अहिले सम्मानीय प्रधानमन्त्री ज्यूले आफू त्यसमा लागिरहेको बताउनु भएको छ। यसप्रति हामी सबै मुख्यमन्त्रीहरु उत्साहित पनि छौँ। सकारात्म सुरुवात पनि भएको छ। उहाँले पहिलो सुरुवात नै कार्य विस्तृतीकरणबाट गर्नुभयो। यो सबैभन्दा महत्वपूर्ण कुरा हो। कार्यविस्तृतीकरणमा छिटो भयो भने प्रदेशले धेरै अधिकारहरु पाउनेछन्। धेरै समस्याको हल हुन्छ। 

अर्कोचाहीँ संस्थागत हिसाबले आउनुपर्ने प्रहरी ऐन बनेको छ। त्यो छिटो कार्यान्वयन होस् भन्ने हाम्रो चाहना हो। त्यसैगरी संघीय निजामती सेवा ऐन छिटो आवस् र हामीलाई प्रदेशमा कर्मचारीको वृत्ति विकास र प्रदेशलाई संस्थागत गर्ने बाटो खुलोस् भन्ने हाम्रो चाहना हो। संघीयता कार्यान्वयनको लागि यो जरुरी पनि छ। शिक्षा नीति नआउँदा काम गर्न गाह्रो भैरहेको छ। यसलाई लडाईं नै त नभनौं, तर हामीले आफ्नो अधिकार चाहीँ खोजेका हौँ। 

देश संघीयतामा गएको ६ वर्ष पूरा भयो। यो अवधिसम्म आइपुग्दा पटक÷पटक प्रदेश सरकारमाथि प्रश्न उठिरहेको छ । तीनतहका सरकारबीच आपसी तालमेल नमिलिरहेको हो की जस्तो लाग्दैन?

संघ, प्रदेश र स्थानीय तहका सरकारबीच तालमेल नै छैन भन्न मिल्दैन। तालमेल छ, तालमेल मिलाएरै अहिले हामी काम गरिरहेका छौँ। प्रधानमन्त्री ज्यूले राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा पनि चिन्ताका साथ यो विषयमा बोल्नु भएको छ। उहाँले भन्नु भए जसरी नै अब हामी अगाडि बढ्ने छौं। मैले संघीयता भएका अन्य राष्ट्रहरुको अवलोकन गरेँ। हाम्रै छिमेकी मुलुक भारतमा पनि संस्थागत हिसाबले सही संरचना आउन समय लागेको रहेछ। अर्को उदाहरण हामीले स्विजरल्याण्डलाई लिन सक्छौँ। त्यता त प्रदेशको आफ्नै संविधान छ। त्यो बनाएर जानलाई केही समय लागेको रहेछ। हाम्रो त भर्खरै सुरुवात भएको छ। कुनै पनि दलको बुहमत छैन। गठबन्धन गरेरै सरकार बनाउनुपर्ने जस्ता समस्याले गर्दा पनि कतिपय सोच र दृष्टिकोणका कारण पनि समय लागेको हो। तर यो व्यवस्थाको विकल्प छैन। राजतन्त्र हुँदा र गणतन्त्र आउँदा धेरै फरक भएका छन्। अहिले शिक्षा, स्वास्थ्य रोजगारी जस्ता विषयमा जनताको पहुँच बढेको छ । जनता यो व्यवस्थाकै पक्षमा छन्। 

अहिले बागमतीसहित सबै प्रदेश सरकारको एउटै गुनासो छ, संघले झण्डा दियो तर अधिकार दिएन भन्ने। यहाँहरुले खोज्नुभएको अधिकार कस्तो हो?
पहिलो कुरा प्रदेशमा प्रहरी समायोजन हुनुपर्योे। झण्डा दिइएको छ, तर सुरक्षा निकाय दिइएन। दोस्रो, संघीय निजामती सेवा ऐन तत्काल आओस् र शिक्षा ऐन आओस् भन्ने हाम्रो माग हो। संविधान अनुसार हस्तान्तरण हुन बाँकी अधिकार हस्तान्तरण हुँदै जाउँन्। साझा अधिकारका सूचिहरु छन्, त्यो संघीय सरकारले ऐन नबनाएसम्म हामीलाई ऐन बनाउन अप्ठेरो हुन्छ। यस्तो कुरामा चाहीँ छिटा ऐन बनाइदिए हुन्थ्यो भन्ने मात्रै हो। तर यति अधिकार नहुँदा प्रदेश सरकारले काम गरेको छैन भन्ने प्रश्न उठ्न पनि सक्छ। तर त्यो होइन। हामीले काम गरिरहेका छौँ। प्रदेश सरकारले प्रहरीको लागि ३÷४ अर्ब लगानी गरिसकेको छ। संविधान अनुसार प्रहरी प्रदेश मातहत आउनुपर्छ भन्ने हाम्रो माग हो। 

पोखरामा भएको भेलाको निर्णय प्रधानमन्त्रीले कार्यान्वयन गर्नुभएन भन्ने यहाँहरुको आरोप हो?
त्यसो होइन। भेलाका निर्णयहरु कार्यान्वयन गर्नुभएको छ। मुख्य कुरा कार्य विस्तृतीकरणलाई कार्यान्वयन हो। त्यो उहाँले कार्यान्वयन गर्नुभएको छ। अरु कुरा पनि कार्यान्वयन गर्छु भनेर राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा भन्नु भएको छ। हामी आशावादी छौँ। जहाँसम्म आफ्नो अधिकार खोज्ने कुरा, दबावको रुपमा लाने कुरा जो छ, त्यो स्वभाविक हो भन्ने मलाई लाग्छ। हामीले संघसँग जोरी खोजेका होइनौँ, अधिकार खोजेका हौँ। हामीले पनि संघ सरकारलाई सहरी यातायात व्यवस्थापन तथा पूर्वाधार विकास सम्बन्धि ऐनको विरुद्धमा मुद्दा हालेका छौँ। यो ऐन प्रदेश सरकारको हितमा छैन भनेर मुद्दा हालेका हौँ। 

तर तपाईंहरुले दायर गर्नुभएको रिट दर्ता त भयो, तर सुनुवाइ भएको छैन नि! 
यो अदालती प्रक्रिया हो। अब सुनुवाइ पनि सुरु हुन्छ। हामी दाबी गरिरहेका छौँ। त्यसमा केही फरक पर्दैन। सुनुवाइ हुन्छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .