बागमती


बिनाविभागीय मन्त्रीका दुःख

शपथ खाएको २ महिना भइसक्यो, जिम्मेवारीको छैन अत्तोपत्तो
बिनाविभागीय मन्त्रीका दुःख

बागमती प्रदेशका बिनाविभागीय मन्त्री रामकृष्ण चित्रकार


सुनिता विष्ट
असार ३०, २०८० शनिबार १३:२८, हेटौँडा

बागमती प्रदेशका बिनाविभागीय मन्त्री रामकृष्ण चित्रकारले पदको शपथ खाएको ५६ दिन भयो। जेठ ७ गते मन्त्री पदमा नियुक्त चित्रकारले तलब, भत्तालगायत राजकीय सेवा लिइरहेका छन्। तर दलीय भागबन्डा मिलाउनकै लागि मन्त्री बनाइएका चित्रकारको भूमिका प्रदेश सरकारमा के भन्ने चर्चा चुलिएको छ। 

जिम्मेवारी नपाउँदा असहज भइरहेको उनको गुनासो छ। ‘तलब-भत्ताका लागि म मन्त्री बन्न चाहेको होइन’, उनले भने, ‘भागबन्डा मिलाउनका लागि मन्त्री बनाइयो। मन्त्रालयको विभागीय जिम्मेवारको भने २ महिनासम्म पनि अत्तोपत्तो छैन।’

बिनाविभागीय मन्त्री बन्नुभएको २ महिना भइसक्यो, जिम्मेवारी पाउने कहिले हो?

नेपालखबरको यो प्रश्नमा उनले हाँस्दै जवाफ दिए, ‘यो प्रश्न मुख्यमन्त्रीज्यूलाई सोध्नुहोस् न। विभागीय जिम्मेवारी नदिएको उहाँले हो।’

विभिन्न कार्यक्रममा सहभागी हुने, बधाई थाप्ने र अन्य समय मन्त्रालयको कोठा कुरेरै बित्ने गरेको उनको गुनासो छ। मुख्यमन्त्रीले मन्त्रालयको विभाग तोक्न आनाकानी गरिरहँदा आफू लामो समयदेखि विभागबिनाको मन्त्री बनेर बस्न बाध्य रहेको चित्रकार बताउँछन्।

‘कुन मन्त्रालय भन्ने तोकिएको भए पो बजेट बनाउने कामले व्यस्त भइन्थ्यो। केही काम छैन दिनभर यही कोठा रुँगेर बस्दैमा दिन बितिरहेको छ,’ उनले भने, ‘शपथ ग्रहण गरेदेखि नै यहीँ बसिरहेको छु। मन्त्रालय नतोक्दा मुख्यमन्त्री कार्यालयमै यो कोठा दिएको छ। यहीँ बसेर जनतासँग भेटघाट गरिरहेको छु। विभाग पछि तोक्ने भनिएको थियो।’ 

विभाग नतोकिँदा आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा समेत हकदार हुन नपाएको महसुस भइरहेको उनी बताउँछन्।

‘नीति तथा कार्यक्रम र बजेटमा हामीले जनतासँग गरेका वाचाहरु पूरा गर्नका लागि ल्याइएको हुन्छ। विभाग नतोकिँदा म न बजेट निर्माणमा सहभागी हुन पाएँ न त जनतामाझ योजनाहरु सुनाउन पाएको छु। त्यति मात्रै होइन, जुन काम गर्ने हुटहुटी मसँग छ। त्यो उत्साह र उमंगको साथ मैले काम गर्न पाएको छैन’, मन्त्री चित्रकारले भने। 

यसैबीच भौतिक तथा पूर्वाधार विकास मन्त्रालय फुटाएर उनलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतको दाबी छ। 

आन्तरिक मामिला मन्त्री एवं प्रदेश सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले पनि अब छिट्टै विषय टुंगोमा पुग्ने दाबी गरेका छन्। 

‘हामी छलफलका क्रममा छौँ’, उनले भने, ‘उहाँलाई मन्त्रालयको जिम्मेवारी दिन असहज स्थिति भएको होइन। अबको केही दिनमा मन्त्रालय टुंगो लगाएर विभागीय जिम्मेवारी तोक्नेगरी छलफल भइरहेको छ।’

बागमती प्रदेश सरकारले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्दै सरकारलाई पूर्णता दिने क्रममा चित्रकारलाई बिना विभागीय मन्त्री बनाएको हो। 

सत्ता गठबन्धनमा भागबन्डा नमिल्दा प्रदेशको विवादले केन्द्रकै गठबन्धन धरापमा पर्ने स्थिति सिर्जना भएपछि केन्द्रीय नेताहरुले नै बागमतीमा मन्त्रालय थप्न सुझाव दिएका थिए।

मन्त्रालय थपेर भए पनि गठबन्धनमा रहेका सबै दलको चित्त बुझाउनु भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनअनुसार ११ मन्त्रालय रहेको बागमती प्रदेशमा १२ मन्त्री नियुक्त गरिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .