ad ad

बागमती


२९ वर्षदेखि मूर्ति कुँदिरहेका जीवन, राप्ती बगरको छठमा रङ भर्दै छन्

भन्छन्– अरु आर्टभन्दा मूर्ति सजाउँदा छुट्टै आनन्द मिल्छ
२९ वर्षदेखि मूर्ति कुँदिरहेका जीवन, राप्ती बगरको छठमा रङ भर्दै छन्

सुनिता विष्ट
मंसिर २, २०८० शनिबार १८:२६, हेटौंडा

छठ पर्वको पूर्वसन्ध्यामा राप्ती नदीमा भेटिएका मूर्तिकार जीवन चौधरीलाई भ्याईनभ्याई छ। उमेरले ४९ वर्ष पुगेका चौधरी भोलि (आइतबार) बिहान छठीमाई पूजा सुरु हनुपूर्व सूर्यदेवको मूर्ति तयार पार्नैपर्ने दबाबमा छन्। 

बगरमा चलेको सिरेटोले बेलाबेला बिगारिदिन्छ, उनले रङ लगाइसकेका मूर्ति। शनिबार दिउँसो सिरेटोको हावा हातले छेक्दै सूर्यदेवको मूर्ति रङरोगनमा व्यस्त थिए, चौधरी।

चौधरीले छठपूजाको लागि मूर्ति बनाउन सुरु गरेको ८ दिन भयो। पराल, माटो आदि सामग्रीले सुन्दर मूर्ति बनाइरहेका उनलाई जसरी पनि आज साँझसम्म सबै काम पूरा गर्ने चुनौती छ। 

‘लगभग सबै काम सकियो। अब रङ लगाउने, आँखाहरूको आकार बनाउने र कपडा लगाएर शृंगार गर्ने काम गर्दै छौँ,’ काममा व्यस्त मूर्तिकार चौधरीले नेपालखबरसँग भने।

त्यसो त, हेटौंडा उपमहानगरपालिका-१, राप्ती नदीको बगरमा आयोजना गरिएको छठ पूजाको लागि माटोको मूर्ति बनाउँदै गरेका जीवन मूर्ति सजाइसकेपछि आफ्नो मन नै प्रफुल्ल हुने बताउँछन्।

‘यस्तो मूर्ति बनाउने मेरो रहरको काम हो। मूर्ति बनाएर सकिएपछि अलि पर गएर हेर्दा मन नै आनन्दित हुन्छ,’ उनले भने, ‘कलाकारिता सुरु गरेको झण्डै ३ दशक पुग्न लाग्यो। अरुभन्दा मूर्ति सजाउँदा छुट्टै आनन्द आएजस्तो लाग्छ।’  

सप्तरीका जीवन विगत २९ वर्षदेखि हेटौंडामा रहेर आफ्नो जीवनमा रङ भरिरहेका छन्। भित्तेलेखनदेखि ट्याटु खोप्नेसम्मको कला जानेका उनको सबैभन्दा रहरको काम नै यही हो।

मकवनापुरमा पहिलोपटक उनले काँचो माटोको मूर्ति बनाएका थिए। 

‘पहिले त दसैँमा पनि दुर्गाको फोटो काँचको फ्रेममा राखेर पूजाआजा गर्ने चलन थियो। मैले पहिलोपटक यही जस्तो जानेको थिएँ, त्यस्तै माटोको मूर्ति बनाएँ,’ उनले सुनाए, ‘सबैले यस्तै मूर्ति बनाउँदा पो राम्रो देखिँदो रहेछ भनेर प्रशंसा गरे। त्यसपछि यस्तो मूर्ति बनाउने चलन भित्रिएको हो। अहिले त भारतबाट पनि मूर्तिकारहरू आएर बनाउन लगाउने गर्छन्।’

त्यसो त, विगत एक दशकदेखि नै हेटौंडाको छठ पूजामा उनकै हातले मूर्ति तयार हुँदै आइरहेको छ।

मूर्ति एक्लैले तयार गरेका उनलाई रंगरोगनमा भने ५२ वर्षीय विक्रम चौधरी र ३५ वर्षीय अरुण कुमार चौधरीले सहयोग गरिरहेका छन्। अरुण कालो रङको सानो डब्बा र सानो कुचीले मूर्तिका आँखाको शृंगारमा व्यस्त हुँदै गर्दा विक्रम आवश्यक रङहरू तयार गर्नमा व्यस्त थिए। 

छठ पूजाको लागि सूर्यदेवको मूर्ति बनाउनको लागि आफूलाई अन्य ठाउँहरूबाट समेत निम्ता पठाएको उनले सुनाए।

जीवनले थपे, ‘दसैँमा त ४/५ ठाउँमा गएर मूर्ति तयार गरेको थियौं। त्यो बेलामा त एक महिना अघि बनाए पनि फरक पर्दैन। तर छठको लागि धेरै अगाडि बनाएर खोलामा राख्ने कुरा आउँदैन त्यसैले यो एक ठाउँमा भन्दा अन्त गएर मूर्ति बनाउन भ्याइएन।’

यसरी बनाइएका मूर्तिबाट हुने कमाइमा भन्दा पनि मनोशान्तिका लागि मूर्ति बनाउने गरेको उनले बताए।

‘कमाइ जति एक दिनको ज्याला हुन्छ। हाम्रो आम्दानी हुने त्यति नै हो। नाफा, घाटाभन्दा पनि मनको आनन्दको लागि नै मूर्ति बनाउँछु,’ उनले भने।

छठको महिमा
प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइने छठ पर्व शुक्रबारबाट सुरु भएको हो। मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ। 

जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ। दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ। 

छठको पहिलो दिन (चतुर्थी) व्रतीले भोजनमा माछामासु ,लसुन, प्याज, कोदो, मसुरलगायत वस्तु परित्याग गरी यसै दिनदेखि व्रत वस्न थाल्दछन्। 

पर्वको दोस्रो दिन (पञ्चमी) खरना गरिन्छ, जसलाई पापको क्षय पनि भनिन्छ।

गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रतीले यो दिन दिनभरि निर्जला व्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) अर्पण गरी सोही प्रसाद ग्रहण गर्छन्। 

यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख ,समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ। सत्य र अहिंसाप्रति मानवको रूचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो।

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ। यस पर्वमा चाहिने भाँडाकुडा र वस्तुको बन्दोवस्त एक महिना अगाडिदेखि नै गर्न थालिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .