ad ad

ब्लग


गाजामा इजरायली नरसंहारलाई अमेरिकी धन र भारतीय गरिबीको साथ

गाजामा इजरायली नरसंहारलाई अमेरिकी धन र भारतीय गरिबीको साथ

अरुन्धती रोय
फागुन २५, २०८० शुक्रबार १५:४५,

आफूलाई लोकतन्त्र र मानवअधिकारको रक्षक ठान्ने पश्चिमा संसारका सबैभन्दा धनी र सबैभन्दा शक्तिशाली मुलुकहरूले गाजामा इजरायलको नरसंहारलाई खुलेरै आर्थिक रुपले सघाइरहेका छन् र इजरायलको प्रशंसा गरिरहेका छन्।

गाजापट्टीलाई यातनाशिविरमा बदलिएको छ। जो अहिलेसम्म मारिएका छैनन्, तिनलाई भोकै मारिँदैछ। गाजाको लगभग सम्पूर्ण जनसंख्या विस्थापित भएको छ। तिनका घर, अस्पताल, विश्वविद्यालय, संग्रहालय, हरेक खालका पूर्वाधार, सबैलाई माटोमा मिलाइएको छ। तिनका छोराछोरीको हत्या गरिएको छ। तिनको अतीत नामेट पारिएको छ। तिनको भविष्य अन्धकार पारिएको छ।

दुनियाँको सबैभन्दा उच्च अदालत भन्छ– लगभग हरेक सूचकले यसलाई नरसंहार ठम्याउँछ। तर, इजराली सशस्त्र फौजले पैशाचिक अनुष्ठानजस्तो देखिने ‘विजयोत्सवको भिडिओ’ सार्वजनिक गरिरहेकै छन्। तिनलाई लाग्छ, दुनियाँको कुनै पनि शक्तिले तिनलाई उत्तरदायी ठहर्‍याउन सक्ने छैन।

तर, ती गलत छन्। 
 
ती र तिनका सन्तानका पनि सन्तानले तिनको कृत्यका कारण प्रताडित हुनुपर्नेछ। तिनले घृणा र कुत्साका साथ बाँच्नुपर्नेछ। दुनियाँको थुकाइ सहनुपर्नेछ। र, आशा गरौँ, एक दिन यो द्वन्द्वको हरेक पक्षमा रहेका युद्ध अपराधीहरूमाथि मुद्दा चलाइनेछ र तिनलाई दण्डित गरिनेछ। तर, त्यतिबेला याद राखिनेछ, रंगभेद र कब्जा गर्दा गरिएका अपराध अनि त्यसको विरोधमा गरिएको अपराधबीच कुनै समानता हुन्न।

निश्चय नै नरसंहारका कुनै पनि कृत्युको प्रमुख आधार नस्लवाद हो। इजरायल अस्तित्वमा आएदेखि नै सो राज्यका उच्च अधिकारीहरूको अभिव्यक्तिले प्यालेस्टिनीहरूलाई अमानवीकरण गर्दै आएको छ। तिनले प्यालेस्टिनीहरूलाई किराफट्याङ्ग्रासँग तुलना गरेका छन्। जसरी कुनैबेला नाजीहरूले यहुदीहरूलाई अमानवीकरण गरेका थिए। लाग्छ, त्यो विष कहिल्यै समाप्त भएको थिएन। अहिले त त्यसको पुनर्सञ्चार मात्र गरिएको हो। त्यतिखेरको शक्तिशाली नारा ‘फेरि यस्तो कहिल्यै नहोस्’ बाट ‘कहिल्यै नहोस्’ खण्ड हटाइएको छ। र, हामीसँग ‘फेरि यस्तो’ बाँकी छ।

संसारको सबैभन्दा धनी, सबैभन्दा शक्तिशाली देशका मुखिया राष्ट्रपति जो बाइडेन इजरायलका अगाडि असहाय छन्। भलै अमेरिकी लगानीबेगर इजरायल अस्तित्वमै हुने थिएन। यस्तो लाग्छ, आश्रितले नै आश्रयदातामाथि अधिकार कायम गरेको छ। 

दृश्य यस्तै देखिन्छ। एक वृद्ध बालकजसरी जो बाइडेन आइसक्रिम चाट्दै क्यामराअघिल्तिर देखिन्छन् र युद्धविरामबारे अस्पष्ट रुपमा बर्बराउँछन्। उता इजरायली सरकार र सैन्य अधिकारीहरूले स्पष्ट रुपमा उनको अवहेलना गर्छन् र आफूले सुरु गरेको काम पूरा गर्ने कसम खान्छन्।

आफ्नो नाममा गरिएको यो नरसंहार रोकियोस् भन्ने चाहने करोडौँ युवा अमेरिकीहरूको मत अर्कोतिर नपोखियोस् भनेर अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई युद्धविराम आह्वानको काम सुम्पिइन्छ। जबकि त्यही नरसंहार जारी राख्न अमेरिका अर्बौं डलर इजरायलमा खन्याउँछ।

अनि हाम्रो देश भारत नि?

सर्वविदितै छ, हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदी बेन्यामिन नेतन्याहुका घनिष्ट मित्र हुन्। उनको सहानुभूति कसलाई छ, त्यसमा पनि कुनै शंका छैन। भारत अब प्यालेस्टाइनको मित्र रहेन। जब बमबारी सुरु भयो, तब मोदीका हजारौँ समर्थकले सामाजिक सञ्जालको ‘डिस्प्ले पिक्चर’ मा इजरायलको झण्डा राखे। तिनले इजरायल र इजरायली सेनाको तर्फबाट घृणित दुष्प्रचार फैलाउन मद्दत गरे। 

अहिले भारत अलि तटस्थ स्थितिमा फर्किएको छ। तर, हाम्रो विदेश नीतिको सफलता भनेको एकैपटक सबैको पक्षमा उभिनु हो। हामी नरसंहार पक्षधरसँगसँगै नरसंहार विरोधी पनि हुन सक्छौँ। सरकारले स्पष्ट संकेत गरिसकेको छ, प्यालेस्टाइनको पक्षमा हुने प्रदर्शनविरुद्ध उसले निर्णायक कारबाही गर्नेछ।

अमेरिका आफूसँग जे प्रचुर छ, त्यही निर्यात गर्छ– इजरायललाई नरसंहारमा सघाउने हतियार र पैसा। भारत पनि आफूसँग जे प्रचुर मात्रामा छ, त्यही निर्यात गरिरहेको छ– बेरोजगार गरिब। तिनले इजरायलमा प्यालेस्टिनी कामदारलाई विस्थापित गर्दैछन्, किनकि प्यालेस्टिनीलाई अब रोजगार अनुमति दिइने छैन। (नयाँ कामदारमा मुस्लिमहरू पर्नेछैनन् भन्ने मेरो अनुमान छ)। 

यति व्यग्र मान्छे, जो जीविका कमाउन ज्यानको जोखिम मोलेर पनि युद्धक्षेत्रमा जान तयार छन्। यति व्यग्र मान्छे, जो इजरायलले भारतीयप्रति देखाउने खुलेआम नस्लवाद सहन पनि तयार छन्। हेर्न चाहने हो भने तपाईंले यो सामाजिक सञ्जालमा अभिव्यक्त भएको देख्नुहुनेछ। 

अमेरिकी धन र भारतीय गरिबी मिलेर इजरायली नरसंहारकारी युद्धसंयन्त्रलाई चलाइरहेको छ। कति भयानक, कति अकल्पनीय, कति सरमको कुरा!

प्यालेस्टिनीहरू विश्वका सबैभन्दा शक्तिशाली मुलुकहरूको सामना गरिरहेका छन्। तिनका सहयोगीले पनि तिनलाई एक्लै छाडेका छन्। जसले असीम पीडा झेलिरहेका छन्। तर, उनीहरूले यो लडाइँ जितेका छन्। उनीहरूले, उनीहरूका पत्रकार, उनीहरूका डाक्टर, उनीहरूका उद्धार टोली, उनीहरूका कवि, प्राज्ञ, प्रवक्ता र उनीहरूका बालबालिकाले समेत साहस र गरिमाका साथ काम गरेका छन्। जसले बाँकी विश्वलाई प्रेरित गरेको छ। 

पश्चिमा विश्वको नयाँ पुस्ताले, खासगरी अमेरिकामा रहेका यहुदीहरूको नयाँ युवा पिढीले ब्रेनवास र प्रोपागान्डालाई राम्ररी बुझ्यो। अनि रंगभेद र नरसंहारलाई पनि बुझ्यो। पश्चिमा दुनियाँका सबैभन्दा शक्तिशाली मुलुकका सरकारहरूले आफ्नो जेजति इज्जत र सम्मान थियो, त्यो गुमाएका छन्। एकपटक फेरि।

तर, युरोप र अमेरिकाका सडकमा निस्केका दसौँ लाख प्रदर्शनकारी संसारको भविष्यप्रतिको आशा हुन्। 

प्यालेस्टाइन स्वतन्त्र हुनेछ।

(७ मार्चमा अरुन्धती रायले नयाँ दिल्लीस्थित प्रेस क्लबमा एक बैठकमा राखेको विचार, स्क्रोल डटइनबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .