ad ad

ब्लग


बढी पैसा खोज्दै हामी साइप्रस आयौँ, उनीहरू यूकेमा भविष्य देख्छन्

कालिञ्चोक सम्झाउने साइप्रसको ट्रोडोस लेक पुग्दा
बढी पैसा खोज्दै हामी साइप्रस आयौँ, उनीहरू यूकेमा भविष्य देख्छन्

नुमेश घर्ती मगर
साउन १२, २०८१ शनिबार १८:४०, साइप्रस

चैत महिनामा साइप्रस आएको थिएँ। पाँच/सात वर्ष यतै बसेका नेपालीहरूले हिउँ पर्ने भेग एक मात्र ट्रोडोस लेक सुनाउँथे। कस्तो होला खुलदुली लाग्थ्यो। एक मनले दोलखा जिल्लाको कालिञ्चोकजस्तै अड्कल काटेँ।

मेरो जन्म लुम्बिनी प्रदेशको राजधानी दाङमा भए पनि हिमाली भेग रुकुम जाने मौका कहिल्यै जुरेन। स्कुले जीवन छँदा आर्थिक सङ्कट त मुख्य समस्या भइहाल्यो। उमेर पुगेपछि दोस्रो मुलुक हिँड्न ठिक्क भयो। बिदामा घर फर्कंदा घुम्ने फुर्सत कहाँ मिल्नु? गाउँबाट उत्तरतिर एकाबिहानै हिमाल हाँसेको देखिएता पनि त्यहाँ कहिल्यै पुग्न सकिनँ।

कोरोनाकालको पहिलो कहरपछि काठमाडौँमा जागिर गर्न बसेँ। यतिका वर्ष भारतमा पसिना बगाइयो, अब आफ्नै मुलुकमा केही गरौँ भन्ने लागेर पनि हो। तर, देशभक्तिले मात्रै पेट कहाँ भरिन्छ र? दिल्लीका गल्ली र काठमाडौँका सडकपेटी म मजदुरका लागि लगभग उस्तै थिए- सबै हतारिँदै आ-आफ्नो गन्तव्यमा दौडने। मेरो छातीभित्रको राष्ट्रप्रेम कसले पो देख्थ्यो र? कसले सोध्यो र मलाई- भोकै छौ कि प्यासी? वर्ग विभेद त जन्मभूमिमा पनि पाएँ। गरेको खानेले गरी खानेलाई हेपिरहन्थे।

बर्खामा होस् या हिउँदमा आकासे पुलमाथि बूढा बाआमा हात जोडेर माग्न बसेका हुन्थे। काखे बालक च्यापेर सानी नानी पनि केही पाउने आसमा बटुवाको खुट्टा छोपेको दृश्यले हृदय कुँडिन्थ्यो। अभिभावक परिवार कहाँ थिए थाहा भएन। राज्यले अपनत्व लिनुपर्ने बिचरा आफैँ सत्ता शक्तिको दौडधुपमा लागिरहँदा त्यता के ध्यान जाओस्!

साथीले पनि मलाई राजधानीमा टिकाइराख्न निकै जोड गरे। तर, कोरोनाको दोस्रो कहरले सबै भताभुङ्ग पारिदियो। अनेक जुक्ति लगाए पनि पार लाग्ने सम्भावना न्यून देखियो। तैपनि आर्थिक सङ्कटसँग जुध्दै १० महिना काठमाडौँमा कटाएँ। म आफ्नै देशमा रहेकोमा निकै गर्व गर्थे। तर, काठमाडौँले आफ्नै दम्भ देखाइदियो। बुझेँ, घरदेश होस् या परदेश श्रमिक शोषित नै छन्।

हिउँदमा गृहजिल्लाबाट पाँच जना साथी व्यक्तिगत कामले छोटो अवधिका लागि राजधानी छिरे। हामी भेटिएर गफियौँ। एकाएक योजना पनि बन्यो, कालिञ्चोक घुम्न जाने। म उत्साहित भएँ। तर, पकेटमा खर्च थिएन। मेरो आलटाल साथीहरूले बुझिहाले। गाडी साथीकै भएको हुँदा भाडा लाग्ने कुरो भएन। होटलको व्यवस्था उनीहरूले नै गर्ने भए। अनि निस्कियौँ कालिञ्चोक यात्रामा। गन्तव्यमा पुग्दा रात परिसकेको थियो। बिहान उठ्दा जुन दृश्य देखियो त्यसले गह भरियो। आहा! मेरो देश नेपाल।

समुद्र सतहदेखि ३,८४२ मिटर उचाइमा रहेको भगवती मन्दिर अवलोकन गर्न जाँदा मलाई लेक लागेर स्याङफ्याङ भएँ। त्यो चुच्चोबाट एक जना साथीले हात समाएर अलिक तल झारे। त्यहाँ भने म सामान्य नै थिएँ। सम्मुख अग्लो हिमाल देखियो। कपास बिछ्याएजस्तो भुइँभरि हिउँ थियो। मुनि कुरी बजारको बनावटीले झन् सुन्दर थपेको रहेछ। मेरो नजर नपरेर हो कि भारतीयभन्दा तेस्रो मुलुकका पर्यटक देखिनँ। प्रचार, संरक्षण, सुरक्षित र सुसज्जित बनाउन सकियो भने अन्य देशका पर्यटकको कमी हुने छैन भन्ने लाग्यो।
***

नेपालमा बर्खा सुरु भयो। बाढीपहिरोले मानवीय क्षति भएको खबरले मुटु पिरोलियो। तर, साइप्रसमा पानी पर्नु त कहाँ हो कहाँ सेतो बादलको थुप्राथुप्री पनि देखिएन। जति प्रचण्ड गर्मी उति पर्यटकको घुइँचो। होटल रेष्टुरेन्ट मात्रै होइन अन्य व्यवसाय पनि अति व्यस्त हुन थाले। जाडो मौसम आरम्भ हुँदा नै वर्षा भयो। चार/पाँच दिनसम्म लगातार पानी पर्थ्यो। माघ महिनाको दोस्रो हप्तातिर बल्ल हिउँ परेको समाचार साइप्रसभरि फैलियो। सायद त्यहीबेला कालिञ्चोकलाई पनि हिउँले ढाकेको हुनु पर्छ।

म बसेको ठाउँ गाउँजस्तै हो। थोरै रेष्टुरेन्ट छन्। अनि प्रायः कामदार नेपाली छौँ। मङ्गलबारको दिन पारेर ट्रोडोस लेक घुम्न जाने योजना बनायौँ। सात जना साथीलाई बिदा नमिले पनि हामी १८ जना भयौँ, यति सानो ठाउँमा। साइप्रसमा नेपाली थुप्रिसकेको प्रमाण हो यो। बस बुकिङ गरेर बिहान आठ बजे गन्तव्यतिर लाग्यौँ।

संयोग पनि कस्तो भने अरू दिनजस्तो वर्षा भएन। गगनमा सेतो बादल पनि पाखा लाग्न थाल्यो। न्यानो घामसँगै लेकतिर लाग्यौँ। बसमा नेपाली गीतसँगै नृत्य पनि भयो। कडा परिश्रमलाई केही क्षण बिर्सिएर मुस्कुराएका ओठहरू। एकैछिनमा लोक दोहोरी पनि सुरु गरियो। जहाँ नेपाली त्यहाँ दोहोरी।

खोला किनारैकिनार बस गुडिरहेको थियो। प्राकृतिक सुन्दरताले भरिपूर्ण त्यस ठाउँको यात्रामा मैले कालिञ्चोक जाँदाको स्मरण गर्दै थिएँ। फरक थियो फराकिलो चिल्लो सडकमा पहिरो नझरेको। त्यति लामो यात्रामा कतै दुर्घटना नपरेको। लेकमाथि अग्ला हावाद्वारा विद्युत् उत्पादनका लागि ठूला पङ्खा घुमिरहेका थिए। तर, नेपालजस्तो नदी भेटिएन। टाढा-टाढासम्म मानव बस्ती थिएन। पाखोभरि ढकमक्क लालीगुराँस फुलेको देखिएन।

पहाडी नागबेली बाटो हुँदै बस उक्लिन थाल्यो। मुन्तिर पानी नबगेको खोलापारि पनि अटल लेक। अलिकमाथि पुगेपछि बल्ल पारि पहाडको पेटमा मानव बस्ती थियो। घरका सेता रोगन घामले ताराझैँ चम्केका थिए। बाटोमाथि र मुनि सल्लाको कुसुम रास लागेको थियो। तर, बस्तुभाउले खाने डाले घाँस। लहरे पात। कलिलो मुना पलाएको थिएन। झट्ट हेर्दा हरियाली देखिए पनि अधिकांश बिरुवा काँडेदार हुँदा रहेछन्। वस्तुभाउ चउरतिर चरिरहेका थिएनन्। घाँसे र दाउरे भेटिएनन्। देउरालीमा थकान मेट्ने वरपीपल थिएनन्।

जति ट्रोडोस लेक नजिक पुग्यौँ। हिउँले ढाकेको भुइँ देखियो। मनमस्तिष्क नै सेत्तामै भएजस्तो लाग्यो। रेष्टुरेन्टमा कामको चाप। मानसिक दबाब। भविष्यको तनाव त थियो नै तर एक दिन छुट्कारा पाउँदा चाहिँ सबथोक भुलिँदो रहेछ। परदेशी हौँ, देश र परिवारको यादले कहीँ कतै खल्लो लाग्नु स्वाभाविकै हो। तर, प्रकृतिसँग रमाउनुको मज्जा बेग्लै।

मानवीय अहङ्कारले देशको सीमा तोकियो। नत्र पृथ्वीमा सबैको समान हक छ। जुनै धर्म र संस्कृतिमा हुर्काइए पनि उसलाई देशभक्ति बनाइन्छ। जन्मेर हुर्किएको राष्ट्रप्रति गर्व त लागिहाल्छ। तर, भइदिन्छ के भने शक्तिशाली मुलुकका मानिसले गरिब देशका मान्छेलाई हेयको दृष्टिले हेर्न र हेप्न थाल्छन्। किनकि मानिस वर्ग विभाजित छ। जमिन हुनेले नहुनेलाई दमन गर्छ। त्यो त म काठमाडौँमा बस्दा पनि अनुभव बटुलिसकेको छु। एउटै देशका जनतामा पनि वर्ग, धर्म, जात, वर्ण र मातृभाषाकै कारण अपमानित हुनुपर्छ। साइप्रसमा अधिकांश व्यक्तिले फलानो देशको भनेर हेपिहाल्दैनन्। तर, कोही त छन् जसलाई उग्र राष्ट्रवादको घमन्ड चढेको हुन्छ। जमिनको सेखी हुन्छ। र, प्याच्च बोलिहाल्छन्, ‘तिम्रो देशमा लाउन खान पुग्दैन’। कत्ति न उसले गास, बास र कपास सित्तैमा जोहो गरिदिएजस्तो!

हामी रमाइरहेका त थियौँ नै तर अर्को मुलुक भएको हुँदा कहीँ कतै किञ्चित् त्रास पनि थियो। कसैले केही भनिहाल्ने पो हो कि! प्रहरीले रोकेर छानबिन पो थाल्ने हो कि! किनकि, जन्मघरदेखि पर पुग्दा त मान्छेले यो तेरो घर होइन भन्न थाल्छन्। यो त झन् देशै अर्कै। भेषै अलग। भाषा फरक। तर, प्राकृतिक सुन्दरता भने उस्ता उस्तै।

ओहो! हिउँले ढाकेको लेकनिर पुगियो। सबैको आकृतिमा खुसीयाली छाएको देख्न सकिन्थ्यो। ‘हिउँ पर्‍यो हिउँदैमा, पहाडमुनि पाखैमा’ बोलको गीत गुञ्जिरहेको थियो। लेकसम्मै फराकिलो कालोपत्र सडक रहेछ। त्यसैले, हामी चढेको ५५ सिटे बस पनि सजिलै पुग्यो। साना कारद्वारा पनि मानिसले सहजै यात्रा गरिरहेका थिए।

कालिञ्चोक जाँदा भने हामी देउरालीदेखि कालिञ्चोक कुरी बजारसम्म जिपद्वारा निकै जोखिम यात्रा मोलेर पुगेका थियौँ। खाल्डाखुल्डी हिलाम्मै सडक। पर्यटकीय क्षेत्रलाई सहज र सुरक्षित बनाउनुपर्ने सरकार कुर्सी जोगाउने खेलमा दौडधुप गर्छ, अनि विश्वभर प्रचार कसरी गरोस्!

अँ, पहाडको टुप्पोमा भ्यु टावर र ठूलो मूर्ति बनाउन भने खुब जोड गर्छ। अफसोस! त्यहाँ पुग्न पनि गतिलो सडक छैन। बर्खे डोजरे विकासले देशलाई निकास दिँदैन।

फटाफट बसबाट ओर्लिएर हिउँ टेक्न पुग्यौँ। मौसमले पनि साथ दियो। न्यानो घामले हिउँ टल्कियो। ट्रोडोस लेकबाट यस्तो दृश्य देखियो जो मैले कल्पना पनि गरेको थिइनँ। हामी रमाइरहेको पाखोभरि दूध पोखिएजस्तो हिउँ। मुनितिर भर्‍याङजस्ता पहाड। पहाड फेदनिर समथल जमिनमा थपक्कै बसेको सहर। अनि सहरलाई छोएको निलो समुद्र। प्राकृतिक मनोहरले सब थकान मेटाइदियो।

राज्य सत्तासँग इच्छाशक्ति र दूरदर्शिता हुने हो भने असम्भव भन्ने वस्तु नै नहुँदो रहेछ। पर्यटकलाई पहिलो प्राथमिकतामा राखेर डाँडोको टुप्पोसम्म सहज र सुरक्षित यात्रा गराउन सकिन्छ। उर्वर भूमिमा उत्पादन मात्रै गराउनु पर्छ। जुन माटोमा जे फल्छ त्यसलाई जोड दिनु पर्छ। योजनाबद्ध सहरीकरण। र महत्त्वपूर्ण, नारी सुरक्षाको शतप्रतिशत ग्यारेन्टी।

मध्यरात होस् कि एकाबिहान। महिला निर्धक्क हिँड्न सक्छन् यहाँ। पुरुषले इसारा गर्ने, कुदृष्टि लगाउने, कुनै गुञ्जायस नै छैन। देहको मूल्य सोधिन्नँ। यति हुँदाहुँदै पनि मानव मानवबाटै टाढिएको छ। सामाजिक सद्भाव छैन। नेपालको विकट गाउँजस्तो बटुवालाई मही सोधिन्नँ। कहाँसम्म पुग्ने, सन्चो बिसन्चोबारे जानकारी लिइँदैन। बास बस्न दिइँदैन। सित्तैमा गास उपलब्ध गराइँदैन। चोट लाग्दा बोलीले मात्रै कठै भनिन्छ। मुटु चस्किँदैन। भेट हुँदा मुसुस्क हाँसेर सस्तो औपचारिकता मात्रै पूरा गरिन्छ। भौतिक विकास त भरिपूर्ण छ तर समाजवादी छैन।

ट्रोडोस लेक र कालिञ्चोकको हिउँमा केही भित्रता थिएन। उस्तै सेता। सुरिला अग्ला रुख। ढुङ्गा, माटो, धरती अनि आकाश त्यस्तै। लागेको न्यानो घाम पनि उस्तै। बस्, मानिसको सोच्ने तरिका र जीवनशैली फरक पाएँ।

समृद्ध मुलुक सुखी जनता बन्नु उत्तम हो। तर, सुखीभित्र पनि त मान्छे दुःखी छ। किन? हामीलाई पारिश्रमिक बढी मिल्ने हुँदा साइप्रस आयौँ। यहाँका युवाले भने युकेमा भविष्य देख्छन्। सायद युकेबासी त्यहाँ सन्तुष्ट नहोलान्। र, अन्य समृद्धि देशको खोजीमा होलान्। किनकि मानिसको आवश्यकता जति पूर्ति हुन्छ, उति माग पनि बढ्छ।

नेपाललाई बनावटी मुसुस्क हाँस्ने मात्रै होइन ढुक्कसँग बाँच्ने बनाउनु पर्छ। साइप्रसमा त एक मात्रै ट्रोडोस लेक छ। नेपालमा त दसौँ छन्। तिनलाई विश्वमा प्रचार र पर्यटकको जिउधनको सुरक्षा ग्यारेन्टी लिने नीति बनाउन सक्ने स्थिर सरकार हुने हो भने सम्भावनाका ढोका खुला छन्। वर्षमा लाखौँ पर्यटक भित्र्याएर नेपालको अर्थतन्त्र बलियो बनाउन सकिन्छ। तर, यो कुर्सी दौड खेल्ने नेताबाट भने सम्भव छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .