ad ad

अपराध


गायिका दिलमायाको हत्या भएको निष्कर्षमा यसकारण पुग्यो प्रहरी

गायिका दिलमायाको हत्या भएको निष्कर्षमा यसकारण पुग्यो प्रहरी

उजिर कार्की
साउन ५, २०७९ बिहिबार १६:५६, काठमाडौँ

गायिका दिलमाया सुनारको हत्या भएको निष्कर्षसहित जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार अदालतमा मुद्दा दर्ता गरेको कार्यालयका प्रमुख गंगाप्रसाद पौडेलले जानकारी दिए। 

वकिल कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा दिलमायाको हत्या भएको निष्कर्षसहित हत्या आरोपमा पक्राउ परेका सूर्य भन्ने खिल बहादुर श्रेष्ठलाई जन्म कैदको सजाय माग गरेको छ। 

असार ११ गते दिलमाया काठमाडौंको नेपालटारस्थित आफ्नै डेरामा मृत फेला परेकी थिइन्। त्यसको भोलिपल्ट प्रहरीले त्यस रात सँगै बसेका दिलमायाका प्रेमी भनिएका सूर्यलाई पक्राउ गरेको थियो। 

सूर्यले दिलमाया झुन्डिएर आत्महत्या गरेको भने पनि उनले नै हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको हो। 

हत्याको निष्कर्षमा पुग्ने प्रमाण यी हुन्
दिलमायालाई सूर्यले पहिले देखिनै शारीरिक तथा मानसिक यातना दिने गरेको खुलेको छ। उनीहरुबीच अवैध सम्बन्ध समेत रहेको पाइएको छ। घटना भएको राति मादक पदार्थ सेवन गरी उनी दिलमायाको कोठामा नै थिए। 

मृतकको पाखुरा, खुट्टा समेतमा ताजा चोटपटकहरू देखिएको थियो। झुण्डिएको अवस्थामा लास थिएन। घटनास्थलमा निज दिलमायाले पासो लगाई आत्महत्या गरेको जस्तो कुनै पनि स्थान, वस्तु फेला परेको थिएन। 

राती सुत्ने बेलामा दिलमायाले मोबाइल चलाइरहेको भन्ने सूर्यले पनि बताएका थिए। उनीहरु दुवै जनाको मोवाइल लोकेसन पनि घटनास्थलमा देखिएको थियो। 

घटना भइसकेपछि उनी त्यहाँबाट भाग्नु र कसैलाई खबर गरेका थिएनन्। घटनामा प्रयोग भएको सल महाराजगन्जमा फालेका थिए। 

यस्तै दिलमायाले आफै आत्महत्या गरेको भन्ने भ्रममा पार्न फेसबुकमा स्टाटस पोष्ट गरी मोवाईल तथा फोटो एल्बममा भएका संयुक्त फोटोहरु समेत लिई प्रमाण नष्ट गरेको, प्रतिवादी र मृतकको संयुक्त फोटो च्याती आफ्नो फोटो लिई मृतकको फोटो सोही स्थानमा नै फाली भागेको पुष्टि भएको छ। 

दिलमायालाई सलको पासो लगाई झुन्ड्याई नियतपूर्वक ज्यान मारेको प्रहरी अनुसन्धानको निस्कर्ष छ।

बुबाको जाहेरी : तेजाव खल्याउँछु र मारेर छिपाइदिन्छु भन्थे
सूर्यले दिलमायालाई पहिले पनि यातना दिने गरेको दिलमायाका बुवा केसर विकले बताएका छन्। 

दिलमायाको श्रीमानसँग सम्वन्ध विच्छेद भएको थियो। त्यसपछि उनी काठमाडौंमा लोक दोहोरी गीत गाउँदै आएकी थिइन्। सूर्यसँग विगत २ वर्षदेखि भेटघाट हिँडडुल गर्ने गरेको दिलमायाका बुबाले बताएका छन्। 

सूर्यले दिलमायालाई गाली गलौज गर्ने, दोहोरी गित गाउन नजाउ भनेर रोक्ने, पटक पटक धम्की दिने, शरीरमा तेजाव खन्याउँछु, तँ एक्लो छस् तलाई मारेर छिपाइदिन सक्छु समेत भनेर पटक पटक धम्की दिएको उनका बुवाले प्रहरीलाई बताएका छन्। 

विवाह गर्छु भनि प्रलोभन देखाएर शारीरिक शोषण समेत गरेकाे दिलमायाले आफूलाई रुँदै सुनाएको केसरले बताएका छन्।

सूर्यको इन्कारी बयान
तर प्रतिवादी सूर्यले भने हत्यामा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन्। उनले बयानका क्रममा दिलमायाले झुन्डिएर आत्महत्या गरेको दाबी गरेका हुन्। 

करिब २ वर्ष पहिले रमाइलो गर्न भनी चुच्चेपाटीस्थित दोहोरी साँझमा दोहोरी हेर्न गएको बेला दिलमायासँग चिनजान भएको उनको बयान छ। 

दिलमाया दोहोरी साँझमा गायिकाको रुपमा गएकी थिइन्। त्यसै दिन सूर्यले दिलमायाको मोबाइल नम्बर लिएका थिए। 

सूर्यका अनुसार त्यसपछि इन्द्रेणीमा १०/११ महिना पछि भेट भएको र त्यतिबेला दिलमायाले आफू पेटसम्बन्धी बिरामी रहेको बताएकी थिइन्। दिलमायाले अन्तर्वार्तामा श्रीमानसँग सम्बन्ध विच्छेद भएको र आफ्नो आर्थिक अवस्था पनि कमजोर रहेको बताएकी थिइन्। 

पछि दिलमाया बिरामी भएर त्रिवि शिक्षण अस्पतालमा भर्ना हुँदा आफूले ४ हजार रुपैयाँ सहयोग गरेको पनि सूर्यले बताएका छन्। अस्पतालबाट सूर्यले मोटरसाइकलमा घर पुर्याइदिएका थिए। 

आफू विवाहित भएको दिलमायालाई पनि जानकारी भएको र पछि शारीरिक सम्बन्ध पनि भएको सूर्यले बताएका छन्। 

पछिल्ला दिनमा आफू दिलमायाको डेरामा आउजाउ गर्ने गरेको उनले स्वीकार गरेका छन्। दिलमायाले डिप्प्रेसनको औषधि समेत सेवन गर्ने गरेको सूर्यको बयान छ। 

केही महिना पहिले दिलमायाले सूर्यलाई कोठामा बोलाएको तर उनी नगएको र त्यसै साँझ दिलमायाले विष सेवन गरेको उनले भनेका छन्। 

त्यतिबेला दिलमायालाई ग्रिनसिटी अस्पतालमा लगिएको थियो। उपचारपछि दिलमाया ठिक भएकी थिइन्। 

घटनाको अघिल्लो दिन दिलमायाले काम छ भन्दै बोलाएपछि आफू उनको कोठामा पुगेको सूर्यले बताएका छन्। आफू त्यही साँझ फर्किने गरी उनको कोठामा गएको सूर्यको बयान छ। 

बालाजु चोकबाट ५ सय रुपैयाँको खसीको मासु लिएर उनी दिलमायाको कोठामा पुगेका थिए। त्यस रातको खाना सूर्यले बनाएका थिए। दिलमाया ड्यु लिन गइन्। 

सूर्यले दिलमायाको कोठामा लोकल रक्सी राखेका थिए। उनले त्यही रक्सी खाए। दिलमायाले ड्यु खाएको उनले बताएका छन्। दुवै जनाले एउटै थालमा खाना खाएको सूर्यको भनाई छ। 

खाना खाएपछि आफ्नो छाति दुखेर दुवै जना औषधि लिन बसपार्क पुगेका थिए। औषधि खाएर आफू भुईँमा म्याट्रिसमा सुतेको र दिलमाया मोबाइल हेरिरहेको उनको भनाइ छ। 

११ गते विहान ४ बजे ब्युझिँदा झ्यालमा मानिस उभिएको जस्तो देखेको र पछि बत्ति बालेर हेर्दा दिलमाया झुण्डिएको फेला पारेको उनले बताएका छन्। 

पासो खोली निजलाई ओच्छ्यानमा सुताएर हेर्दा दिलमायाको मृत्यु भइसकेको थियो।

त्यसपछि दिलमाया झुण्डिएको सल खोलेर आफू फस्छु भन्ने डरले त्यहाँबाट भागेको बताएका छन्। भोलिपल्ट साढे १ बजेतिर दिलमायाको कोठातर्फ फर्किंदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको थियो। 

दिलमायासँग एक महिना पहिले नै अब नभेट्ने भनेर फोटो च्यातेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .