अपराध


१४ वर्षीया छोरीको पेटमा आफ्नै बुवाको गर्भ, भक्तपुरमा भएको घटना महोत्तरीमा सार्वजनिक

१४ वर्षीया छोरीको पेटमा आफ्नै बुवाको गर्भ, भक्तपुरमा भएको घटना महोत्तरीमा सार्वजनिक

सांकेतिक तस्वीर


जनार्दन पोखरेल
चैत १८, २०७९ शनिबार ८:४०, महोत्तरी

महोत्तरीको बर्दिबास घर भएकी एक किशोरी आफ्नै बुवाको बलात्कारबाट गर्भवती भएको घटना सार्वजनिक भएको छ।

बर्दिबास–११ खयरमारा घर भई हाल भक्तपुरको ठिमी बस्दै आएका ३४ वर्षीय एक व्यक्तिले आफ्नै १४ वर्षीया छोरीलाई पटकपटक करणी गरेर गर्भवती बनाएका हुन्। 

परिवारका सबै सदस्यसहित ठिमी बस्दै आएका ती पुरुषले पत्नीको आँखा छलेर छोरीलाई बलात्कार गर्दै आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलिप गिरीले जानकारी दिए। 

आमा नभएको मौका छोपेर बुवाले आफूलाई पटकपटक बलात्कार गर्दै आएको बयान किशोरीले प्रहरीसमक्ष दिएकी छन्।

गिरीका अनुसार केही महिनादेखि परिवारसहित भक्तपुरको ठिमीमा बस्दै आएका ती पुरुष नजिकैको इँटा भट्टामा काम गर्थे। आमा छोरी महोत्तरी घर आएको बेला यो घटना सार्वजनिक भएको हो। 

‘शुक्रबार बर्दिबास अस्पतालमा किशोरीको स्वास्थ्य परीक्षण गर्दा उनको पेटमा तीन महिनाभन्दा बढीको गर्भ रहेको खुलेको छ,’ डीएसपी गिरीले नेपालखबरसँग भने, ‘किशोरीले गर्भ आफ्नै बुवाको रहेको बताएकी छन्। यो घटना भक्तपुरको ठिमीमा भएकाले यसको सबै अनुसन्धान अब भक्तपुर प्रहरीले नै गर्नेछ। हामीले प्रारम्भिक अनुसन्धान मात्र गरेका छौँ।’

पीडित किशोरी हाल आफ्नी आमासँगै बर्दिबासमा छिन्। किशोरीकी आमाले दोषीलाई पक्राउ गरी कारबाही गर्न इलाका प्रहरी कार्यालय बर्दिबासमा उजुरी दिएकी छन्। किशोरीकी आमाले छोरी गर्भवती भएको तीन दिन अगाडि मात्र थाहा पाएको बताएकी छन्।

‘पीडित किशोरीकी आमाकोतर्फबाट बर्दिबास प्रहरीमा जाहेरी परेको छ, हामीले त्यो जाहेरी हिजै भक्तपुर प्रहरीलाई पठाएका छौँ,’ डीएसपी गिरीले भने, ‘स्वास्थ्य परीक्षणमा किशोरीको पेटको गर्भ पतन गर्न सक्ने अवस्थामा छ।’

पीडित किशोरीकी आमाका अनुसार विगत तीन महिनादेखि रजश्वला नभएपछि शंका लागेर छोरीलाई सोधीखोजी गर्दा आफूमाथि बुवाले पटकपटक कुकृत्य गरेको बताएकी हुन्। 

प्रहरीका अनुसार पीडित किशोरी परिवारकी जेठी छोरी हुन्। उनी स्कुल जान्नन्। उनका एक भाइ र एक बहिनी छन्। 

गएको कात्तिकमा आफूलाई बुवाले पहिलोपटक आमा नभएको बेला करणी गरेको बयान उनले दिएकी छन्। त्यसपछि पनि आमाको आँखा छलेर धेरैपटक आफूलाई बुवाले करणी गरेको उनको भनाइ छ। 

करणीको विषयमा कसैलाई जानकारी गराए परिवारका सबै सदस्यलाई मारिदिने धम्की बुवाले दिएकाले आफूले लामो समयदेखि घटना लुकाएर राखेको पीडित किशोरीले बताएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .