ad ad

प्रवास


बिनाअपराध भारतमा ४० वर्ष थुनिएका नेपालीलाई ५ लाख भारु क्षतिपूर्ति दिन आदेश

बिनाअपराध भारतमा ४० वर्ष थुनिएका नेपालीलाई ५ लाख भारु क्षतिपूर्ति दिन आदेश

नेपालखबर
मंसिर २२, २०७८ बुधबार २२:५८, काठमाडौँ

 भारतको कलकत्ता उच्च अदालतले मंगलबार ४० वर्ष बिनाअपराध जेलजीवन बिताएका नेपालीलाई ५ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ। 

भारतीय अनलाइन लाइभल डट इनका अनुसार गत मार्चमा ४१ वर्ष लामो समय जेल जीवन बिताएका इलामका दुर्गाप्रसाद तिमल्सिना (दीपक जैसी) लाई उक्त क्षतिपूर्ति दिन आदेश दिएको हो। 

मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजर्षि भारद्वाजको इजलासले यस्तो आदेश गरेको हो। 

जैसी सन् १९८० मे १२ मा पक्राउ परी गत मार्चमा रिहा भएका थिए। उनले ४० वर्ष लामो जेलजीवन बिताउनुपरेको थियो। 

उनलाई जेलमा राख्नुको कारण नै नखुलेपछि रिहा गरिएको थियो। उनको मानसिक स्वास्थ्य अवस्था ठीक नभएको र अदालतमा आफूविरुद्धको अभियोगसँग लड्न सक्ने नसक्नेमा ध्यानाकर्षण भएको थियो। 

गत मार्चमा अदालतको आदेशसँगै तिमल्सिना डम डम सेन्ट्रल करेक्सनल होमबाट मुक्त भएका थिए। अहिले उनी आफन्तको सम्पर्कमा पुगिसकेका छन्। 

गत मार्च २२ मा कलकत्ता उच्च अदालतले राज्य सरकारलाई उनलाई दिनुपर्ने क्षतिपूर्ति दिएको जानकारी गराउन भनेको थियो। 

डिसेम्बर ७ मा काउन्सिल फर द हाइकोर्टले वेस्ट बंगाल करेक्सनल सर्भिसेज प्राइजनर्स (अनन्याचुरल डेथ कम्पेन्सेसन) स्किम २०१९ अनुसार निर्दोषले पाउनुपर्ने अधिकतम् क्षतिपूर्ति दिन भनेको थियो। 

यसअनुसार अधिकतम क्षतिपूर्ति ५ लाख भारु हुने जनाइएको छ। यो मुद्दामा राज्य सरकारले थप मुद्दा नलड्ने र उक्त रकम जैसीलाई दिने निर्णय लिएको थियो। तिमल्सिना अहिले नेपाल आइसकेका छन्। 

४० वर्षपछि भारतीय जेलबाट छुटेर नेपाल आएका दुर्गाप्रसादले भने : आमालाई भेट्न आतुर छु

अदालतले क्षतिपूर्ति रकम दुर्गा अर्थात् दीपक जैसीकै खातामा छ हप्ताभित्र जम्मा गर्न आदेश दिएको उक्त अनलाइनले समाचारमा जनाएको छ। यो क्षतिपूर्ति रकमले जैसीको अन्य अधिकारमा कुनै असर नगर्ने पनि किटान गरेको छ। 

४० वर्षअघि इलामबाट हराएका दाइ भारतको जेलमा भेटिए !

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .