ad ad

कारोबार


चुनावी प्रतिबद्धता पूरा गर्दै सांसद चौधरी, चिसापानी अस्पताललाई विशेषज्ञ सेवायुक्त बनाउन सम्झौता

चुनावी प्रतिबद्धता पूरा गर्दै सांसद चौधरी, चिसापानी अस्पताललाई विशेषज्ञ सेवायुक्त बनाउन सम्झौता

नेपालखबर
फागुन ९, २०७९ मंगलबार १६:१, काठमाडौँ

चौधरी फाउन्डेसन र चिसापानी अस्पतालबीच अस्पतालको सेवा सुदृढीकरण र स्तरोन्नति गर्नेबारे सम्झौतापत्रमा हस्ताक्षर भएको छ। 

आज मंगलबार एक कार्यक्रमका बीच नवलपरासी (पश्चिम) जिल्लाको बर्दघाट नगरपालिका वडा नं. २ मा रहेको चिसापानी अस्पताललाई विशेषज्ञ सेवासहितको अस्पतालका रुपमा विस्तार गर्न दुईपक्षवीच सम्झौता भएको हो।

नवलपरासी (पश्चिम) जिल्लामा सुविधासम्पन्न अस्पताल नहुँदा यहाँका बासिन्दाले गुणस्तरीय स्वास्थ्य सेवा पाउनसकेका छैनन्। सामान्य बिरामी हुँदा समेत यहाँका वासिन्दालाइ उपचारका लागि बुटवल र भैरहवा जानुपर्ने अवस्था छ। 

यो अवस्थाको अन्त्यका लागि चौधरी फाउण्डेसनले चिसापानी अस्पताललाई रिफरल अस्पतालका रुपमा विकास गर्न पहल लिएको हो। 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले निर्वाचनका बेला चिसापानी अस्पताललाई विशेषज्ञ सेवा सुविधासहितको अस्पतालका रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका थिए। 

चुनावी प्रतिबद्धताअनुसार अस्पताललाई नवलपरासी जिल्लाकै सुविधासम्पन्न अस्पतालका रुपमा विकास गर्न लागिएको हो। चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। 

फाउन्डेसन र अस्पतालबीच भएको सम्झौताअनुसार अस्पतालमा सहज र झन्झटमुक्त आपत्कालीन र अन्य सेवाहरू सुनिश्चित गरिनेछ। सातवटा क्षेत्रमा अस्पतालको स्तरोन्नतिका काम हुनेछन्, जसबाट बिरामीहरुले स्थानीय तहमै भरपर्दाे स्वास्थ्य सेवा पाउनेछन्।

अस्पतालमा २४ सै घण्टा ल्याब सुविधा उपलब्ध हुने, शल्यक्रिया सेवासहितको बर्थिङ सेन्टर स्थापना गरिन् र २४ सैं घन्टा आपतकालीन सेवाहरूको सुनिश्चितता गरिने सम्झौता पत्रमा उल्लेख छ । 

यसैगरि ओपीडी दर्ताका लागि टोकन प्रणाली लागू गर्ने, आर्टिफिसियल लिम्ब (कृत्रिम हातखुट्टा) सेवा उपलब्ध गराउने र आगामी ४ वर्षभित्र  अस्पताललाई आत्मनिर्भर बनाउने दुई पक्षबीच समझदारी भएको छ। 

अस्पताललाई रेफरल अस्पतालका रुपमा विकास गर्नको लागि वित्तीय योजना तयार गर्ने पनि सझदारी भएको छ । अस्पतालमा स्त्री रोग विशेषज्ञ, सर्जन, प्रोस्थेटिस्ट, सामान्य सेवा विशेषज्ञ लगायतको सेवा उपलब्ध हुनेछ । 

अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन नगरपालिका, जनप्रतिनिधि, फाउण्डेसनका प्रतिनिधि, अस्पताल प्रशासन सबैको प्रतिनिधित्व रहने गरी समिति गठन हुनेछ। 

सम्झौतापत्रमा हस्ताक्षरपछि प्रतिक्रिया दिदै सांसद चौधरीले चिसापानी अस्पतालको विशेषज्ञसहितको सेवा प्रवाहले यहाँका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे। 

उनले भने, ‘निर्वाचनका बेला हामीले यो अस्पताललाई विशेषज्ञसहितको सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका थियौँ। अब त्यसले साकार रुप लिन लागेको छ। आगामी दिनमा यस अस्पतालको सेवालाई थप विशिष्टीकृत बनाउँदै लैजान म निरन्तर लागि नै रहनेछु।’     

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (सुप) पवन अग्रहरीले विनोद चौधरी सांसद निर्वाचित भएपछि विकासका कामहरु अगाडि बढेको बताए। उनले चौधरी बोल्नेभन्दा काम गर्ने नेता भएको बताए। 

‘उहाँ (चौधरी) ले जिते लगत्तै आफ्नो टिम अस्पताल पठाउनुभयो । टीमले अस्पतालका समस्या औँल्याउनुभयो’, सम्झौता कार्यक्रममा उनले भने, ‘अस्पताल सुधारका लागि सहयोग गर्ने बाचा दिनुभयो र छोटो समयमै आज सम्झौता भएको छ । उहाँहरुसँगको सहयोगमा अस्पतालले फड्को मार्छ भन्नेमा म विश्वस्त छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .