ad ad

कारोबार


पर्यटन बोर्डद्वारा अप्रिल १ देखि लागू हुने गरी ‘एफआईटी’ बन्द

विदेशी पर्यटक पदयात्रामा जाँदा अनिवार्य गाइड राख्नु पर्ने
पर्यटन बोर्डद्वारा अप्रिल १ देखि लागू हुने गरी ‘एफआईटी’ बन्द

नेपालखबर
फागुन १९, २०७९ शुक्रबार २०:११, काठमाडौँ

नेपाल पर्यटन बोर्डले १ अप्रिल २०२३ देखि लागू हुने गरी ‘फ्रि इन्डिभ्युजुअल ट्रेकर (एफआईटी)’ बन्द गरेको छ।

यो व्यवस्थासँगै नेपालमा विदेशी पर्यटकले अनिवार्य रुपमा ट्रेकिङ कम्पनीमार्फत गाइड लिएर मात्र पदयात्रामा निस्कनु पर्ने भएको छ।

बोर्डले नेपाल पर्यटन ऐन २०५३ को दफा ७ र पदयात्री सूचना व्यवस्थापन प्रणाली, संचालन (पहिलो संशोधन)  निर्देशिका, २०६६ को दफा १० ‘क’ बमोजिम यो निर्णय गरेको हो।

नेपालको साहसिक गन्तव्यमा गरिने पदयात्रामा पर्यटकको सुरक्षाको ग्यारेन्टीका लागि यो निर्णय गरिएको पर्यटन बोर्डले जानकारी दिएको छ। यसरी जाने पर्यटक तथा गाइड दुवैको बीमा समेत गरिनेछ।

नेपाल पर्यटन बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड बिक्रीको अनुमति पाएका निकायबाट टिम्स कार्ड लिएर एक्लै भ्रमणमा जाँदा पदयात्राका क्रममा पर्यटक हराउने, असुरक्षित हुने जस्ता समस्या आउने गरेको थियो। 

यस विषयमा नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले समेत चासो दिएको र बोर्ड सञ्चालक समिति तथा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) र पर्यटन श्रमिक ट्रेड युनियनका प्रतिनिधीबीच भएको छलफलमा पर्यटकको सुरक्षा, उद्धार र व्यवस्थापनलाई ध्यानमा राख्दै (एफआईटी)’ बन्द गर्ने निर्णय गरिएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले जानकारी दिए।

‘यस विषयमा पहिले देखि नै कुरा उठेको र नेपाललाई हरतरहले सुरक्षित पर्यटकीय गन्त्वय बनाउन पर्छ भन्ने नै थियो। विभागीय मन्त्रीको चासो, निर्देशन तथा सरोकारवालाहरुको सहमतिमा गन्तव्यलाई सुरक्षित, उद्दारमा सहज र व्यवस्थापनलाई चुस्त बनाउन यस्तो निर्णय गरिएको छ। यसले समग्रमा राम्रौ सन्देश प्रभाव गर्ने छ’ उनले भने। 

डा. रेग्मीले यो निर्णय सँगै नेपालमा ट्रेकिङ गाइडहरूको रोजगारी साथै आय समेत बढ्ने बताए। पर्यटन बोर्डको तथ्यांक अनुसार नेपालमा ट्रेकिङ गर्न आउने कूल पर्यटक मध्ये ३० प्रतिशत एफआइटीवाला रहेको र उनीहरूबाट हुने कुल आय ४७ प्रतिशतको हाराहारीमा थियो।  

नेपालमा कोभिड–१९ भन्दा अगाडि वार्षिक ४६ हजार हाराहारी पर्यटक ‘फ्री इन्डिभ्युजुअल ट्रेकर (एफआईटी)’का रुपमा आउने गरेको बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए। बोर्डले एफआईटीका लागि जारी हुने टिम्स कार्ड बन्द गरेसँगै अब सबै पर्यटकलाई एकै प्रकारको टिम्स कार्ड वितरण गर्ने समेत उनले बताए।

यसअघि समूहमा भ्रमणमा जानेले प्रतिव्यक्ति १ हजार रुपैयाँ र एकल भ्रमणमा जानेले प्रतिव्यक्ति २ हजार रुपैयाँ तिरेर टिम्स कार्ड पाउने गरेकामा अब भने सबैखाले पर्यटकका लागि टिम्स कार्डको मूल्य प्रतिव्यक्ति २ हजार रुपैयाँ लाग्ने छ।

सार्क देशका नागरिकको हकमा यसअघि २ सय रुपैयाँ लाग्ने गरेकोमा अब भने १ हजार रुपैयाँ लाग्ने निर्देशक लामिछानेले जानकारी दिए।

यस विषयमा नेपाल ट्रेकिङ, ट्राभल्स राफ्टिङ,एअरलाइन्स श्रमिक  युनियन (युनिट्राभ) लगायतका संस्थाले लामो समयदेखि आवाज उठाउँदै आएका थिए। बोर्डको यो निर्णय स्वागतयोग्य भएको र यसको सही कार्यान्वयन हुनुपर्ने युनिट्राभका अध्यक्ष सुमन प्रसाद पराजुलीले बताए।

अध्यक्ष पराजुलीले यो निर्णय कार्यान्वयन हुँदा नेपालको पर्वतीय पर्यटनको सुरक्षा चासो समेत सम्बोधन हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .