कारोबार


शिव शिखर सहकारी विवाद : सञ्चालक नभेटिएपछि धमाधम कर्मचारी पक्राउँदै बचतकर्ताहरू

शिव शिखर सहकारी विवाद : सञ्चालक नभेटिएपछि धमाधम कर्मचारी पक्राउँदै बचतकर्ताहरू

सुनिता विष्ट
असार ९, २०८० शनिबार १४:१२, हेटौँडा

हेटौँडा-४, पारिजातपथस्थित शिव शिखर बहुद्देश्यीय सहकारीमा ताल्चा लगाएर सञ्चालक फरार भएको ५ महिना बितिसकेको छ। जसका कारण बचतकर्ताको करोडौं बचत रकम जोखिममा परेको छ। 

लामो समय भइसक्दा पनि सहकारी सञ्चालक सम्पर्कमा नआएपछि बचतकर्ताहरूले धमाधम कर्मचारीविरुद्ध उजुरी दिन थालेका छन्। 

यस क्रममा हेटौँडा शाखाका एक कर्मचारीलाई केही दिनदेखि हिराहतमा राखिएको अर्का कर्मचारीले जानकारी दिए। 

फरार भएयता सञ्चालकहरूसँग भेटघाट नभएको र आफूहरूले महिनौँदेखिको तलब समेत नपाएको गुनासो गर्दै ती कर्मचारीले भने,  ‘हामी पनि पीडित छौँ। काम गरेको तलब पाएका छैनौँ। हामीलाई पक्राउ गर्नुभन्दा सञ्चालक समितिकै मान्छेहरूलाई पक्रिन पर्थ्यो।’

पीडित बचतकर्ताहरूले गत जेठ ६ गते संघर्ष समिति गठन गरेका थिए। त्यसको भोलिपल्ट जेठ ७ गतेदेखि उनीहरूले जिल्ला प्रहरी कार्यालय (मकवानपुर) मा उजुरी दर्ता गराएको खुलेको छ। तर उक्त शाखाका कर्मचारीहरू सञ्चालक समितिका सदस्यहरूको नाममा जाहेरी दिनुको सट्टा कर्मचारीलाई दोस्रो पीडा थपेको भन्दै आक्रोशित भएका छन्। 

त्यसो त गत फागुनमा कर्मचारीहरू आफैँ सहकारी संस्थाविरुद्ध उजुरी लिएर जिल्ला प्रशासन कार्यालय पुगेका थिए। तर प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले कर्मचारी आफैँले उजुरी दिन मिल्दैन भनेपछि आफूहरू त्यसै फर्किएको कर्मचारीहरू बताउँछन्। 

‘हामीले कति पटक भन्यौँ, हेटौँडा आउनू, बचतकर्ताहरूसँग छलफल गर्नू  भनेर’, ती कर्मचारीले भने, ‘पैसा चलाउने सञ्चालकहरू फरारजस्तै बनेर हामी निर्दोष कर्मचारीहरूलाई दिनदिनै फसाइँदै छ। जबकि हामीले हाम्रै श्रमको मूल्यसमेत पाएका छैनौँ। तलब खातामै रोकिएको छ। सहकारी बन्द छ।’

पीडित पक्षले १ महिनाअघि नै जिल्ला प्रशासन कार्यालयसँग पनि न्याय दिलाइदिन आग्रह गरेका थिए। तर हालसम्म पनि सहकारीका सञ्चालकहरूलाई सम्पर्कमा ल्याउन नसकिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे बताउँछन्। 

हेटौँडामा २०७७ पुसमा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भक्तपुरको शाखा खोलिएको हो। हेटौँडामा यो सहकारीको १६औँ शाखा हो। बचत रकम फिर्ता गर्न नसकेपछि पछिल्लो ५ महिनादेखि सहकारी बन्द भएको हो। सहकारी बन्द र सञ्चालकहरू सम्पर्कविहीन भएपछि बचतकर्ताहरूले धमाधम उजुरी दिँदै सहकारीका कर्मचारी पक्राउन थालेका हुन्। 

यस विषयमा बुझ्न शिव शिखर सहकारी हेटौंडा शाखा प्रबन्धक निभा तामाङसँग पटक/पटक सम्पर्क गर्दा पनि कुरा गर्न मानिनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .