कारोबार


खराब अवस्थाबाट गुज्रिँदै सरकारको आम्दानी, राजस्व संकलन निराशाजनक

खराब अवस्थाबाट गुज्रिँदै सरकारको आम्दानी, राजस्व संकलन निराशाजनक

तीन आर्थिक वर्षको सुरुका दुई महिनाको राजस्व संकलनको अवस्था


दीपक भट्ट
असोज ५, २०८० शुक्रबार १८:५८, काठमाडौँ

पछिल्लो समय सरकारको आम्दानी कमजोर बन्न थालेको छ। सरकारको प्रमुख स्रोत मानिने राजस्व निरन्तर खराब अवस्थामा जान थालेको छ। 

सरकारको आम्दानीका स्रोतहरुमा राजस्व, बैदेशिक अनुदान, वैदेशिक ऋण र आन्तरिक ऋणसहित चार प्रकारका छन्। 

जसमा सरकारले चालु आर्थिक वर्षका लागि राजस्वबाट १२ खर्ब ४८ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ४९ अर्ब, वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब र आन्तरिक ऋणबाट २ खर्ब ४० अर्ब संकलन गर्ने लक्ष्य प्रस्तुत गरेको छ। 

तर, सबैभन्दा भरपर्दो स्रोत राजस्व भने निकै कमजोर बनिरहेको तथ्याङ्कले देखाएको छ।   

अघिल्लो आर्थिक वर्ष अर्थात् २०७८÷७९को सुरुको २ महिना (साउन र भदौ)मा संघीय सरकारको राजस्व संकलन राजस्व १ खर्ब ६८ अर्ब रुपैयाँ थियो। जसमा कर राजस्व १ खर्ब ४८ अर्ब  र गैर कर राजस्व २० अर्ब रुपैयाँ थियो। 

तर गत आर्थिक वर्ष २०७९÷८०को सुरुको दुई महिना मा १ खर्ब ४३ अर्ब रुपैयाँ मात्रै संकलन भयो। तथ्याङ्क अनुसार गत आर्थिक वर्षको दुई महिना अवधिमा करिब २५ अर्ब रुपैयाँ राजस्व खुम्चियो। 

गत आर्थिक वर्ष कर राजस्व १ खर्ब ३० अर्ब र गैर कर राजस्व १३ अर्ब रुपैयाँ संकलन भएको थियो। 

चालु आर्थिक वर्ष अर्थात् आर्थिक वर्ष २०८०÷८१ मा १ खर्ब ४१ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको हो। 

यो तथ्याङ्कअनुसार नेपालको राजस्व निरन्तर घटिरहेको छ। चालू आर्थिक वर्ष मा अघिल्लो आर्थिक वर्षको भन्दा २७ अर्ब कम र गत आर्थिक वर्षको भन्दा २ अर्ब रुपैयाँ कम राजस्व संकलन भएको छ। 

अर्थमन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा  कर राजस्व १ खर्ब २७ अर्ब र गैरकर राजस्व १३ अर्ब रुपैयाँ संकलन भएको छ। 

नेपालमा राजस्वको इतिहास हेर्दा हरेक वर्ष बढिरहेको देखिन्छ। गत आर्थिक वर्ष घटेको थियो। जुन गिरावटले चालु आर्थिक वर्ष पनि निरन्तरता पाएको अर्थमन्त्रालयको तथ्याङ्कले देखाएको हो। 

अर्थको अभिलेख अनुसार आर्थिक वर्ष २०३१÷३२ यता निरन्तर राजस्व बढेको थियो। तर, गत वर्ष त्यसमा ‘ब्रेक’ लाग्यो। 

अभिलेख अनुसार अघिल्लो आर्थिकसम्मको राजस्व हेर्दा राजस्व संकलन निरन्तर बढिरहेको थियो। तर, पछिल्लो दुई वर्ष घट्ने क्रमले निरन्तरता पाएको छ। 

गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्याङ्कअनुसार लक्ष्य १४ खर्ब ३ अर्ब रुपैयाँ संकलन हुने लक्ष्य रहेकोमा १० खर्ब १ अर्ब रुपैयाँ मात्रै संकलन भएको छ। 

जसमा सबै शीर्षकहरुको राजस्व कमजोर देखिएको हो। भन्सार महसुल ३ खर्ब ३० अर्ब संकलन गर्ने भनिए पनि १ खर्ब ८२ अर्ब रुपैयाँ मात्रै उठेको छ। 

वस्तु आयत, उत्पादन, बिक्री र सेवातर्फको भ्याट ३ खर्ब ९८ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य थियो। तर २ खर्ब ८६ अर्ब रुपैयाँ मात्रै संकलन भयो। 

आन्तरिक र आयात दुवैतर्फको अन्तःशुल्क २ खर्ब १७ अर्ब रुपैयाँ संकलन हुने प्रक्षेपण थियो। तर १ खर्ब ४३ अर्ब रुपैयाँ मात्रै संकलन भएको हो। 

आयकर ३ खर्ब ४७ अर्ब रुपैयाँ उठाउने भनिएकोमा २ खर्ब ५१ अर्ब रुपैयाँ संकलन भएको हो। 

यसरी शीर्षकगत राजस्व संकलनको अवस्था हेर्दा लक्ष्यभन्दा निकै कमजोर देखिएको हो। 

बजेट खर्च पनि निकै कमजोर 
गत आर्थिक वर्षमा १६ खर्ब ३२ अर्ब रुपैयाँ बजेट खर्च गरिने भनिएकोमा १२ खर्ब ९६ अर्ब रुपैयाँ मात्रै भएको थियो। 

तर, सरकारले चालु आर्थिक वर्षको बजेटको लक्ष्य झनै बढाएको छ। स्रोत खुम्चिएको अवस्थामा पनि सरकाले बजेटको आकार बढाएको हो। 

१७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याएको सरकारले दुई महिनाको अवधिमा ७ दशमलव ४९ प्रतिशत मात्रै खर्च गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .