कारोबार


अर्थसचिव फेरबदल : के नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिइँदै छ?

अर्थसचिव फेरबदल : के नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिइँदै छ?

सचिव कृय्णहरि पुष्करलाई स्वागत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महत। तस्बिर : नेपालखबर


दीपक भट्ट
असोज ८, २०८० सोमबार २३:९, काठमाडौँ

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स दिन प्रयास गरेको एक वर्ष भयो। गत वर्ष असोज २ गते नयाँ स्टक सञ्चालनका लागि इच्छुक कम्पनीलाई ४५ दिनको समय दिएर आवेदन खुलाएको थियो।  

तर त्यसविरुद्ध उजुरी पर्‍यो। 

आवेदन नै बदर माग गर्दै अधिवक्ता दीपकविक्रम मिश्रले असोज ३१ गते सर्वोच्च अदालतमा रिट दायर गरे। त्यसमा गत वर्ष कात्तिक ४ मा सुनुवाइ भयो। जसमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै प्रक्रिया यथास्थितिमा राख्न आदेश दिएको थियो। 

तर चैत २६ गते न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले भने रिट नै खारेज गरिदियो। जस अनुसार धितोपत्र बोर्डले नयाँ स्टकको लाइसेन्स दिने प्रक्रिया सुरु गर्न पाउने भयो। 

सोहीअनुसार बोर्डले पुनः आवेदन माग गर्‍यो। जसमा तीन कम्पनीका आवेदन परे। ती तीन कम्पनी थिए– नेसनल स्टक एक्सचेन्ज, अन्नपूर्ण स्टक एक्सचेन्ज र हिमालयन स्टक एक्सचेन्ज।

तर तत्कालको लागि नयाँ लाइसेन्स प्रदान नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै निर्देशन दिए। प्रधानमन्त्रीले अर्थ मन्त्रालय हुँदै धितोपत्र बोर्डलाई तत्काललाई लाइसेन्स नदिन भनेपछि पुनः प्रक्रिया रोकियो। 

यसरी दुईपटक रोकिइसकेको नयाँ लाइसेन्स प्रक्रिया तेस्रोपटक सुरु भएको छ।

अर्थ मन्त्रालयको सचिव परिवर्तनका पछाडि पनि नयाँ स्टक एक्सचेन्जको लाइसेन्स नै एउटा कारण रहेको ठानिएको छ।

यसअघि अर्थसचिवमा अर्जुनप्रसाद पोखरेल थिए। उनले अर्थ मन्त्रालयमा पाँच महिना मात्र बिताउन पाए।

अहिले कृष्णहरि पुष्करलाई पुनः अर्थमा ल्याइएको छ। अर्थमन्त्री प्रकाशशरण महतकै रोजाइमा पुष्करलाई अर्थमा ल्याइएको हो।

पुष्कर अर्थ मन्त्रालयको ‘क्याडर’ मानिँदैनन्। तर यसअघि पनि अर्थ मन्त्रालयको राजस्वसचिव हुँदै अर्थसचिव भइसकेका छन्। जनार्दन शर्मा अर्थमन्त्री छँदा उनी सुरूमा राजस्व सचिव थिए भने मधु मरासिनीको सरूवापछि अर्थसचिव नै बनाइए। 

नयाँ सरकारका अर्थमन्त्रीमा विष्णु पाैडेल आएपछि नै पुष्करलाई हटाएर ताेयम राय ल्याइएकाे थियाे। पछि महत अर्थमन्त्री बनेपछि पोखरेललाई ल्याइएको थियो। अहिले तिनै पोखेललाई किन हटाइयो र पुष्करलाई पुनः किन ल्याउनुपरेको हो भन्ने प्रश्नको तर्कसंगत कारण अर्थमन्त्रीले दिन सकेका छैनन्। तर, जानकारहरू भने पुष्कर नै रोजाइमा पर्नुमा बैंकहरुको बक्यौता भनिएको कर असुली र नयाँ स्टकको लाइसेन्स नै महत्त्वपूर्ण रहेको बताउँछन्। 

‘धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको कार्यकाल पनि लामो समय बाँकी छैन। उनकै कार्यकालमा नयाँ स्टकको लाइसेन्स दिने कुरा भएको छ,’ ती अधिकारी भन्छन्, ‘तर त्यसमा पोखरेलले धेरै लगाव देखाएनन्। जसको कारण पुष्कर रोजाइमा परे।’

त्यसका अलावा बैंक तथा वित्तीय कम्पनीहरुबाट मर्जर र एफपीओ बापतको कर बक्यौता कायम गरेर सरकारले कर असुल गर्ने चालु आर्थिक वर्षको बजेटमा उल्लेख छ। यसको ‘सेटलमेन्ट’ हुन नसकेर अर्थमन्त्रीको टाउको दुःखाइ बनेको छ।

सरकारले आर्थिक ऐनको बुँदा २६ मा कुनै निकायले फर्दर पब्लिक अफरिङ (एफपीओ) जारी गरी प्राप्त रकमबाट लाभांशवापत् वितरित बोनस सेयरको रकम आयमा समावेश नगरेका निकायलाई शुल्क र ब्याज मिनाहासम्बन्धी विशेष व्यवस्था उल्लेख छ। जसमा भनिएको छ, ‘कुनै निकायले एफपीओबाट प्रिमियम मूल्यमा सेयर जारी गरी प्राप्त भएको रकममध्ये आर्थिक वर्ष २०७८-७९ सम्म हिताधिकारीलाई बोनस सेयरको रुपमा वितरण गरेको लाभांश रकमलाई आयकर ऐन, २०५८ को दफा ५६ को उपदफा ३ बमोजिम आयमा समावेश गरी कर दाखिला नगरेको भए उक्त रकममा लाग्ने कर संवत् २०८० मंसिर मसान्तभित्र दाखिला गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुनेछ।’ 

त्यसैगरी मर्जर वा एक्विजिसनको लाभमा लाग्ने करमा शुल्क र ब्याज मिनाहासम्बन्धी व्यवस्था उल्लेख छ। 

यसको अर्थ बक्यौता रहेका बैंकहरुले त्यसलाई सल्टाउन मंसिर मसान्तसम्म सहुलियत पाउनेछन्। त्यसयता बक्यौता राखे जरिवाना रकम समेत लाग्ने स्पष्ट पारिएको छ।  

तर यस व्यवस्थाविरुद्ध १६ वटा बैंकहरु भर्खरै अदालत गइसकेका छन्। 

यी दुई मुख्य विषय सल्टाउन सचिव पुष्करलाई ल्याइएको अर्थ मन्त्रालयका एक अधिकारीको दाबी छ।

नयाँ लाइसेन्स दिन राजी होलान् प्रधानमन्त्री?
प्रधानमन्त्रीले नै गत वैशाखमा प्रक्रिया रोक्न निर्देशन दिएका थिए। पछिल्लो समय अर्थ मन्त्रालयमा प्रधानमन्त्रीलाई फकाएर नयाँ लाइसेन्सको लागि राजी गराउने व्यक्तिको खोजी भइरहेको थियो। यसअघिका सचिव पोखरेलले उक्त काम गर्न सकेनन्, त्यसपछि प्रधानमन्त्रीलाई राजी गराउने जिम्मेवारी पुष्करको काँधमा आएको छ।  

पछिल्लोपटक अर्थसचिव भएपछि पहिलो सार्वजनिक कार्यक्रम अर्थात् असोज ५ गते शुक्रबार उद्योग वाणिज्य संघ काठमाडौंको साधारण सभामा पुष्करले सेयरबजारको विषयलाई प्रमुखता दिएर भाषण गरे। उनले भनेका थिए, ‘सरकारले पुँजीबजार सुधारमा आवश्यक कदम चाल्दै छ। त्यसको सन्देश तपाईंहरूले छिट्टै पाउनुहुन्छ।’ 

नयाँ पुँजी बजारको व्यवस्थापक अर्थात् नयाँ स्टकको लाइसेन्स दिनुपर्ने वा नपर्ने भन्नेमा दुई धार छन्। पुँजीबजारको नियामक निकाय धितोपत्र बोर्डको नेतृत्व गरेका पूर्वअध्यक्ष तथा नेपाल राष्ट्र बैंकको समेत गर्भनर भैसकेका चिरञ्जीवी नेपाल नेपालमा नयाँ स्टकको आवश्यकता नरहेको बताउँछन्।

उनी भन्छन्, ‘सरकारी स्वामित्वको नेपाल स्टक एक्स्चेन्ज छ। यसमा केही सुधारको काम त आवश्यक होला। तर नयाँ लाइसेन्स दिएर अर्को स्टक नै चाहिन्छ भन्नेचाहिँ हैन।’

अहिले सरकारी कम्पनी, बरु त्यसमा निजी क्षेत्रको लगानी थपेर क्षमता तथा प्रविधिक पक्ष सुधार गर्न जरुरी रहेको उनको भनाइ छ।

तर धितोपत्र बोर्डकै पूर्वअध्यक्ष रेवतबहादुर कार्की भने नयाँ स्टक आवश्यक रहेको बताउँछन्। 

उनी भन्छन्, ‘ नयाँ स्टक आए प्रतिस्पर्धा बढ्छ। केहीले नयाँ स्टक आउनुलाई गलत रुपमा अर्थ्याउने समेत गरेका छन्। नयाँ स्टक आउँदा पुरानो ब्रोकरदेखि सारा काम बन्द हुनेसम्मको आशंका गरेको देखिन्छ। तर त्यस्तो हुँदैन।’

कोको छन् नयाँ स्टकको प्रतिस्पर्धामा?
हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जका नाममा आवेदन परेका छन्।

वैशाख ९ गते धितोपत्र बोर्डमा परेको आवेदक कम्पनी हिमालयन स्टक एक्सचेन्जमा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल र इन्फिनिटी होल्डिङ्सका दीपक भट्ट प्रमुख सेयरधनी छन्। 

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरु शेखर गोल्छा, पशुपति मुरारका र भवानी राणा, परिसंघका पूर्वअध्यक्ष तथा लक्की ग्रुपका प्रमुख सतीश मोर, ज्योति ग्रुपका सौरभ ज्योति र नेपालका लागि मित्सुबिसी कम्पनीको आधिकारिक बिक्रेता आशिष श्रेष्ठ, शिवम् सिमेन्टका सञ्चालक तथा साओमी मोबाइलका नेपालका आधिकारिक बिक्रेता रोहित गुप्ता, मेरियट होटलका सञ्चालक शशिकान्त अग्रवाल, विवेक दुगड र राजेन्द्र खेतानले हिमालयन स्टक एक्सचेञ्जमा लगानी गरेको बताइएको छ। 

वैशाख ११ गते आवेदन दिने नेसनल स्टक एक्सचेन्जका मुख्य लगानीकर्तामा दीपक तिमिल्सिना, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, संघका वर्तमान अध्यक्ष बद्री केसी, कुल आचार्य र महासचिव गौरी जोशी, लगानीकर्ता रविजंग लामिछाने, सिद्धार्थ ग्रुप, अग्नि ग्रुप, रिलायन्स ग्रुपको समेत लगानी रहेको आवेदनमा उल्लेख छ। 

त्यस्तै वैशाख ११ गते नै आवेदन दिने अर्को कम्पनी अन्नपूर्ण स्टक एक्सचेन्जका लगानीकर्ताहरूमा रामेश्वर थापा, गणेशकुमार श्रेष्ठ, सुरेन्द्रराज वाग्ले, मुक्तिबोध न्यौपाने, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी र बलराम उप्रेती रहेको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .