ad ad

कारोबार


बंगलादेशसँग रोकिएको बिजुली निर्यात सम्झौता अघि बढ्यो, बिहीबार हस्ताक्षर

साढे १ अर्ब डलरको सुनकोशीमा लगानी मोडालिटीबारे छलफल
बंगलादेशसँग रोकिएको बिजुली निर्यात सम्झौता अघि बढ्यो, बिहीबार हस्ताक्षर

वसन्त अर्याल
असोज १६, २०८१ बुधबार १५:३६, काठमाडौँ

बंगलादेशमा विद्युत् निर्यातको लागि बिहीबार सम्झौता हुँदै छ।

यसकै लागि बंगलादेशको टोली नेपालमा आइसकेकाले बिहीबार सम्झौता हुने पक्का भएको हो। 

यसअघि २ पटक मिति तय भएर स्थगित भएको थियो। साउन १३ मा बंगलादेशका तत्कालीन ऊर्जा राज्यमन्त्री आउने तय भए पनि त्यहाँको राजनीतिक उथलपुथलले अन्तिम समयमा हस्ताक्षर रोकिएको थियो। 

‘बंगलादेशको वातावरणमन्त्री (अन्तरिम सरकारको वातावरण सल्लाहकार सइदा रिजवाना हसन)  बुधबार नेपाल आउँदै हुनुहुन्छ’, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका ऊर्जा सचिव सचिव सुरेश आचार्यले भने, ‘बिहीबार नेपाल र बंगलादेशबीच एउटा सम्झौता, नेपाल, बंगलादेश र भारतबीच अर्को गरी २ सम्झौता हुन्छन्।’

अन्तरिम सरकारको वातावरण सल्लाहकार सइदा रिजवाना हसन

बंगलादेशमा अन्तरिम सरकार बनेपछि नेपालबाट विद्युत् लैजाने विषय अन्योलमा परेको थियो।

बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले केही महिनाअघि अन्तरिम सरकारका प्रतिनिधिलाई भेटेर विद्युत् व्यापार सम्झौताको विषय स्मरण गराएका थिए। 

एक हप्ताअघि मात्रै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको बैठकमा भाग लिन अमेरिका गएको समयमा बंगलादेशका अन्तरिम सरकारमा प्रमुख मुहम्मद युनुससँग असोज १० मा भेट भएको थियो।

भेटमा ऊर्जाको विषयमा छलफल भएको ओलीले बताएका थिए।

मुहम्मद युनुससँग केपी शर्मा ओली

‘बंगलादेशका अन्तरिक सरकार प्रमुख प्रोफेसर डा. मुहम्मद युनुससँग भेट भयो’, प्रधानमन्त्री ओलीको भनाइ छ, ‘नेपाल र बंगलादेशबीचको द्विपक्षीय सम्बन्धसँगै विद्युत्, यातायात, पर्यटन र शिक्षाबारे सहकार्य गर्ने छलफल भयो।’

यसअनुसार नेपाल विद्युत् प्राधिकरणले बंगलादेशको पावर डेभलपमेन्ट बोर्डसँग विद्युत् खरिदबिक्रीको सम्झौता गर्नलागेको हो। नेपालको विद्युत् भारतीय प्रसारणलाइन हुँदै लैजानुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) र भारतको विद्युत् व्यापार निगम (एनभीभीएन)बीच त्रिपक्षीय सम्झौता हुनेछ। 

बंगलादेशका ऊर्जाको अधिकारीसँग मंगलबार र बुधबार काठमाडौंमा छलफल चलिरहेको छ। 

‘सहसचिव र सचिवस्तरीय रहेका स्टेरिङ कमिटी र वर्किङ ग्रुपको बैठक हिजो (मंगलबार)बाटै भइरहेको छ’, सचिव आचार्यले भने, ‘बैठकमा नेपालको विद्युत् निर्यात मात्रै नभई सुनकोशी जलविद्युत् आयोजनामा लगानीको विषयमा छलफल चलिरहेको छ।’

बंगलादेशबाट वातावरणमन्त्री आए पनि भारतबाट भने विद्युत् व्यापार निगमका प्रमुख कार्यकारी अधिकृत आउन लागेको मन्त्रालयले जनाएको छ। यसअघि नै बंगलादेशले नेपालबाट ६.४० सेन्टमा विद्युत खरिद गर्ने सहमति भइसकेको छ। अहिलेको विनिमय दरअनुसार बंगलादेशले ५ वर्षमा ७ अर्ब ३९ करोड रुपैयाँको विद्युत् खरिद गर्ने अनुमान छ।

‘जुनदेखि नोभेम्बरसम्म ६ महिना बंगलादेश विद्युत् निर्यात गर्नुपर्ने सहमति भएको छ’, उनले भने, ‘भोलि हस्ताक्षर भएसँगै यो वर्षायामबाट विद्युत् निर्यात हुन थाल्छ।’

साढे १ अर्ब डलरको सुनकोशीमा लगानी मोडालिटीबारे छलफल
नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा आपसी सहयोगका लागि गठित सचिवस्तरीय संयुक्त निर्देशक समिति र सहसचिवस्तरीय संयुक्त कार्यदल छ।

२०७९ भदौमा बंगलादेशको विद्युत्, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मुहम्मद हबिबुर रहमान नेतृत्वको टोली र नेपालको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् विकास विभाग तथा नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले सुनकोशी ३ आयोजनाको प्रस्तावित निर्माणस्थल र जलाशय क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरेको थियो। 

अवलोकनपछि सचिव रहमानले नेपालसँगको सहकार्यमा सुनकोशी तेस्रो लगायतका जलविद्युत् आयोजना निर्माण अघि बढाउन बंगलादेश इच्छुक र तयार रहेको बताएका छन्। 

‘बंगलादेश विद्युत् लैजान त सहमत भइसकेको छ। उत्पादन गर्न पनि चासो राख्दै आएको हो’, सचिव आचार्यले भने, ‘सुनकोशी ३ कसरी बनाउने, कसले कति लगानी गर्ने भन्ने विषयमा छलफल हुन्छ।’

वार्षिक रुपमा २ अर्ब ३५ करोड ६२ लाख युनिट उत्पादन हुने विद्युतमध्ये हिउँदयाममा ६२ करोड २३ लाख युनिट उत्पादन हुनेछ। आयोजनाको अनुमानित लागत १ अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर छ।  

बैठकमा सोलार पावरको विषयमा समेत छलफल हुँदै छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .