ad ad

कारोबार


विज्ञसमूह लिएर बाढीग्रस्त माथिल्लो तामाकोसी पुगे कुलमान, विद्युत् उत्पादन थाल्ने प्रयास

दुईवटा पोखरी प्रत्येकमा ७५-७५ हजार घनमिटर लेदो, ढुंगालगायत थुप्रिएको अनुमान
विज्ञसमूह लिएर बाढीग्रस्त माथिल्लो तामाकोसी पुगे कुलमान, विद्युत् उत्पादन थाल्ने प्रयास

नेपालखबर
असोज १६, २०८१ बुधबार १७:३, काठमाडौँ

सञ्चालनमा रहेका जलविद्युतगृहहरूमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको  माथिल्लो तामाकोसीबाट जति सक्दो चाँडो विद्युत् उत्पादन सुरु गर्न पहल थालिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

गत शुक्रबार र शनिबारको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१, लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवर्क्स)मा ठूलो क्षति गरेको थियो। 

बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्यान्डरसम्म पानी लैजाने भूमिगत नहर (कल्भर्ट) मा ठूलो क्षति पुगेको छ।

कन्ट्रोल रुम भवन र त्यहाँ रहेका उपकरणहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। डिस्यान्डरमा रहेका दुईवटा पोखरीमा लेदो, गेग्र्यान, ठूल्ठूला ढुंगा थुप्रिएका छन्।

दुईवटा पोखरी प्रत्येकमा ७५-७५ हजार घनमिटर लेदो, ढुंगालगायत थुप्रिएको अनुमान गरिएको छ। 

कन्ट्रोल रुम भवन, डिस्यान्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको हो। कन्ट्रोल रूममा कार्यरत कम्पनीका दुई कर्मचारी र सुरक्षाका लागि खटिएका दुई सैनिक गरी ४ जनाको मृत्यु भएको थियो। खहरे खोलामा अझै माथिबाट लेदो आइरहेको र ढुंगासमेत खसिरहेको छ।

 

अविरल वर्षाका कारण तामाकोसी नदीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेबाट विद्युत् उत्पादन बन्द गरिएको थियो। बाँधका सम्पूर्ण ढोकाहरू खुला गरिएकाले आयोजनाका संरचनाको सम्भावित क्षति रोकिएको थियो।

बाँधबाट डिस्यान्डरबीचमा रहेको कल्भर्टमा पुगेको क्षति अझै यकिन गर्न सकिएको छैन। विद्युत् उत्पादन बन्द हुँदा माथिल्लो तामाकोसी जलविद्युत केन्द्रको प्रवर्धक कम्पनीले दैनिक चार करोड रुपैयाँ आम्दानी गुमाइरहेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, सचिव सुरेश आचार्य, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा विज्ञसमूहसहित मंगलबार आयोजनास्थल पुगी पहिरोले निम्त्याएको क्षतिबारे जानकारी लिएको छ। 

टोलीले संरचनाहरूको मर्मत सम्भार गरी विद्युतगृह सञ्चालन गर्ने विभिन्न विकल्पहरूबारे विज्ञ समूह र कम्पनी व्यवस्थापनसँग छलफल गरेको थियो। टोलीमा जलविद्युत् केन्द्रको सम्पत्ति बिमा गरिएको राष्ट्रिय बीमा संस्थानका सर्वेयरहरू पनि सहभागी थिए।

राज्यमन्त्री तामाङले माथिल्लो तामाकोसी बन्द हुँदा समग्र राष्ट्रलाई नै ठूलो क्षति भइरहेकाले हरेक उपाय अवलम्बन गरी विद्युत् उत्पादन जतिसक्दो छिटो सुरु गर्नुपर्ने बताए। यसका लागि आवश्यक सहयोग र सहजीकरण गर्न मन्त्रालय तयार रहेको राज्यमन्त्री तामाङले उल्लेख गरे। 

आयोजनाको प्रवर्धक कम्पनी अपर तामाकोसी हाइड्रोपावर लिमिटेड सञ्चालक समितिका अध्यक्षसमेत रहेका कार्यकारी निर्देशक घिसिङले पहिरोले नियन्त्रण कक्ष, डिस्यान्डर, कल्भर्टलगायतका संरचनामा ठूलो क्षति पुगेको बताए। अझै पनि खहरे खोलामा बाढी आइरहेको र उक्त संरचनाहरू रहेको स्थानभन्दा माथि ठूल्ठूला ढुंगा देखिएको उल्लेख गर्दै घिसिङले उक्त क्षेत्र जोखिमयुक्त नै रहेकाले लाइडार सर्वेमार्फत समग्ररूपमा भौगर्भिक अध्ययन गरी जोखिम पहिचान गर्न लागिएको जानकारी पनि दिए।

‘डिस्यान्डरमा थुप्रिएको ढुंगा तथा लेदो हटाएपछि मात्र उक्त संरचनामा पुगेको क्षति यकिन गर्न सकिने देखिएको छ, त्यसैले सबैभन्दा पहिले ढुंगा, लेदो हटाउन लागेका छौँ,’ उनले भने। 

उनका अनुसार, सञ्चालनमा रहेको सबैभन्दा ठूलो विद्युतगृह बन्द हुँदा आन्तरिक रूपमा विद्युत् आपूर्तिका लागि समस्या त परेकै छ, यसबाट वर्षायामको विद्युत् निर्यात पनि नराम्ररी प्रभावित भइरहेको छ। विद्युतगृह चलाउन नसके हिउँदमा आन्तरिक रूपमा विद्युत् माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण रहनेछ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले विज्ञ समूहबाट विद्युत्गृह सञ्चालन गर्न विभिन्न सुझावहरू प्राप्त भएको र ती सुझावलाई समेटेर मर्मत-सम्भारका उपायहरू अवलम्बन गरी कार्ययोजनाका साथ काम सुरु गरिसकिएको बताए। 

‘बाँधमा रहेका गेटलाई चलाउन र डिस्यान्डरलाई सफा गर्न गोंगरबाट लगिएको ११ केभी विद्युत लाइन मर्मतसम्भार गरी चालू गर्ने र पावर ट्रान्सफर्मर तथा केबल प्राधिकरणबाट जडानको प्रक्रिया सुरु भइसकेको छ’, गौतमले भने। 

उनले विद्युतगृह रहेको गोंगरबाट बाँधस्थलतर्फ जाने प्रवेश सडकअन्तर्गत काभ्रे भिरनजिक करिब एक सय मिटर सडक भासिएकाले आगतजावत असहज भएको जानकारी पनि दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .