दसैँको रमझम छ। देशका विभिन्न स्थानमा वितण्डा मच्चाएर वर्षात् हटेसँगै आकाश उघ्रिएको छ।
सडकमा सहर छोडेर घरगाउँतर्फ लाग्नेहरूको ताँती छ। विदा छोपेर मुस्ताङ घुम्न निस्किनेहरू पनि गन्तव्यतर्फ अघि बढ्दै होलान्।
शरद् ऋतुले यही बेला हिमालपारिको जिल्ला मुस्ताङको सौन्दर्यमा थप चमक पोतिदिन्छ। यसैले तान्छ दसैँ घुमघामको गन्तव्य खोज्ने आन्तरिक र बाह्य पर्यटकलाई।
प्रकृतिको सौन्दर्य चिहाउने र तीर्थाटन गर्नेहरूलाई लोभ्याउँछ मुस्ताङले। त्यसैले त दैनिक हजारदेखि २ लाखसम्म तिर्ने पर्यटक मुस्ताङ भ्रमणमा आउँछन्।
विशेषतः यो हिमाली जिल्ला आकर्षक पर्यटकीय गन्तव्यका लागि प्रख्यात छ। मुक्तिनाथ क्षेत्रको कारण धार्मिक पर्यटन, सुन्दर दृश्यावलोकन र पदयात्राका लागि बढी चर्चित छ।
मुस्ताङमा आन्तरिक पर्यटकले नै बढी हिस्सा ओगटेझैँ लाग्छ। पहिले पहिले तेस्रो मुलुकबाट बढी पर्यटक आउँथे। अहिले भने विदेशीमा पनि भारतीय पर्यटक नै बढी आउने गरेका छन्। भारतीयहरू मुख्यतः मुक्तिनाथ दर्शन गर्नको लागि मुस्ताङ चढ्छन्।
अहिले पर्यटक पनि पहिलाभन्दा बढ्दो अवस्थामै छन्।
कहाँ कहाँ घुम्ने?
मुस्ताङ मुख्य धार्मिक र प्राकृतिक सौन्दर्य अवलोकनको गन्तव्य हो। यही हेर्न पर्यटक आउँछन्।
यहाँ खासगरी तल्लो मुस्ताङमा कागबेनी, मुक्तिनाथ दर्शन र स्याउ खेती हेर्न पाइन्छ।
अन्नपूर्ण सर्किट ट्रेकिङ मुस्ताङको अर्को आकर्षण हो। यसबाहेक उस्तै महत्त्वपूर्ण छ अपर मुस्ताङको यात्रा। उच्च पहाडी प्राकृतिक सौन्दर्य, फरक भूबनोट र फरक संस्कृतिले अवलोकनकर्ताको आँखा र मन तान्छ।
त्यस्तै जोमसोम, मार्फा गाउँ, लोमानथाङ, दामोदर कुण्ड समेत चर्चित घुम्ने ठाउँ हुन्। लोमानथाङ घुम्न आउनेहरूको चासो पुराना घरहरू, साँघुरा गल्ली, राजदरबार पुग्छन्।
वर्षेनी ५ लाखसम्म आउँछन्
मुस्ताङ नेपालकै पर्यटकीय गन्तव्यका रुपमा विकसित भइरहेको छ। गत वर्ष साढे ५ लाख पर्यटकले मुस्ताङ भ्रमण गरेकोमा १ लाख विदेशी र ४ लाख नेपाली पर्यटक नै पुगेको अनुमान छ।
विदेशी पर्यटकमा पनि मुस्ताङ पुगेका भारतीयहरू मुक्तिनाथलाई नै लक्षित गरेर पुग्ने गरेका छन्। नेपालीहरू भने नेपाल–चीन सिमाना कोरला नाकासम्म पुग्छन्। ४ देखि ७ दिनसम्मका प्याकेजमा मुस्ताङ घुम्न आउने बढी हुन्छन्। उक्त प्याकेजमा पोखरा, बेनीदेखि जोमसोमसम्म घुम्छन्। मोटरसाइकल, जिप, बस, जहाजसँगै हेलिकप्टरबाट पर्यटक आइपुग्छन्।
नेपालीहरू कोरला नाका चिनियाँ वस्तु खरिद गर्न समेत पुग्छन्। कोरला नाका पार गरेर चिनियाँ भूमिमा जानको लागि स्थानीयलाई पासको आधारमा दिइन्छ। बाहिरबाट घुम्न जानेहरू चीनतर्फ जान नसके पनि नेपाली बजारमै समान किनेर फर्किन्छन्। अधिकांश नेपालीको लक्ष्य अपरमुस्ताङ पुग्ने र चिनियाँ बोर्डर घुम्ने हुन्छ।
सर्वसाधारण नेपाली पुग्नको लागि नेपालतर्फ अध्यागमन कार्यालय नहुँदा समस्या छ। अध्यागमन कार्यालय खोलेर कुनै पास वा अन्य व्यवस्था गरेर बोर्डरसम्म जान पाउने व्यवस्था गर्न सकिन्थ्यो।
होटल क्षमता बढेको छ, खान बस्न समस्या हुँदैन
पर्यटक बढ्न थालेसँगै होटलहरूको क्षमतामा वृद्धि भएको छ। मुस्ताङ पुग्ने पर्यटकलाई धान्न सक्ने अवस्थामा छ।
सिजनको समयमा कहिलेकाहीँ ३–४ दिन एकै पटक धेरै पर्यटक आउँदा व्यवस्थापन गर्न अप्ठ्यारो परे पनि अहिले पर्यटकलाई खान बस्न समस्या हुँदैन। मुस्ताङमा नयाँ होटलहरू थपिरहेका छन्।
नेपालकै सबैभन्दा महंगो होटलमा बस्ने पर्यटकदेखि साधारण होटलमा बस्ने पर्यटक पुगेका हुन्छन्। एकदिनको साढे २ लाख नेपाली पर्ने होटल स्थापना भएका छन्।
यती ग्रुपको लगानीमा सञ्चालनमा आएको शिन्तामणि होटल सबैभन्दा महंगो छ। अहिले १००–२०० डलरमा बस्न मिल्ने गरी धेरै नयाँ होटल निर्माण भइरहेका छन्।
कहिले घुम्ने, कसरी सकिन्छ पुग्न?
मुस्ताङ घुम्ने समय भनेको २ वटा सिजनमा हो। यही बेला नै यहाँ बढी पर्यटक पुगेका हुन्छन्। शरद् ऋतुमा पर्ने दशैँतिहारको बीचमा सबैभन्दा बढी पर्यटक पुगेका हुन्छन्।
अहिले स्याउ उत्पादन हुने सिजन पनि भएकाले धेरै पर्यटक तान्ने गरेको छ। त्यसबाहेक शरद् ऋतुमा मुस्ताङको सिमी, आलुपनि उत्पादन हुन्छ।
जाडो र वर्षातमा खासै पर्यटक जाँदैनन्। फागुन, चैत र वैशाखमा फेरि पर्यटक मुस्ताङ घुम्नको लागि पुग्छन्।
मुस्ताङ घुम्नको लागि पहिला साधन पाउन मुस्किल पथ्र्यो। अहिले साना गाडी, बसदेखि जहाजमा पुग्नेसम्मका विकल्प छन्।
पोखराबाट ५ घण्टामै गाडी जोमसोम पुग्न थालेका छन्। पहिला ८ देखि १० घण्टा लाग्थ्यो। अहिले बेनीबाट साढे २ घण्टामै जोमसोम पुग्ने गरेका छन्।
यसपटक पर्यटक बढ्ने आश
कोभिडको समयमा आन्तरिक पर्यटकले नै धानेको मुस्ताङको पर्यटन धानेको थियो। गत चैत वैशाखमा व्यवसायीले आकलन गरेभन्दा बढी नै पर्यटक मुस्ताङमा आएका थिए।
अहिलेको कुरा गर्दा अधिकांश व्यवसायीहरू होटलको बुकिङ राम्रो रहेको सुनाइरहेका छन्।
मुस्ताङमा पुग्नेको सबैभन्दा बढी खर्च यातायातमा हुन्छ। त्यसपछि होटेलमा बस्न र खानको लागि खर्च हुन्छ। मुस्ताङमा १ हजारदेखि ४ हजारसम्मका होटल धेरै छन्।
केही समयअघि राष्ट्र बैंकले गरेको अध्यागमनले गण्डकी प्रदेश भ्रमण गर्ने पर्यटकको औसत बसाइ २२ दिन छ। त्यसमा मनाङ र मुस्ताङ घुम्ने पर्यटक बढी छन्। नेपालमा पर्यटकको औसत बसाइ १३ दिनको तुलनामा गण्डकीको धेरै हो।
गण्डकी क्षेत्रमा घुम्न आउने पर्यटकहरूमध्ये स्वस्फुर्त रुपमा ७६ प्रतिशत र टुर्स प्याकेजमा जाने पर्यकट २४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। प्याकेज लिनेहरूमध्ये पनि ५३.१२ प्रतिशत आन्तरिक र ४६.८८ प्रतिशत अन्तर्राष्ट्रिय प्याकेज लिने पर्यटक छन्।
(लालचन मार्फा होटलका सञ्चालक हुन् भने घरपझोङ गाउँपालिकाका अध्यक्ष पनि रहेका छन्)
Shares
प्रतिक्रिया