ad ad

कारोबार


अर्थमन्त्री भन्छन्- राजश्वको लक्ष्य पूरा नभए हामी कोही सुरक्षित हुँदैनौँँ

अर्थमन्त्री भन्छन्- राजश्वको लक्ष्य पूरा नभए हामी कोही सुरक्षित हुँदैनौँँ

नेपालखबर
असोज २१, २०८१ सोमबार १५:३५, काठमाडौँ

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा नभए कोही पनि सुरक्षित नहुने बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले लिएको राजश्वको लक्ष्य पूरा गर्न नसके मन्त्री, सचिव, विभागका महानिर्देशक, उपमहानिर्देशक र कार्यलय प्रमुखहरु कोही पनि सुरक्षित नहुने जिकिर गरे।

‘यो राजश्वको लक्ष्य पूरा भएन भने हामी कोही सुरक्षित छैनौँ। कोही पनि सुरक्षित छैनौँ। मन्त्री पनि सुरक्षित छैन, सचिव पनि सुरक्षित छैन, विभागका महानिर्देशकहरू पनि सुरक्षित हुनुहुन्न। उपमहानिर्देशक सुरक्षित हुनुहुन्न। कार्यालयका प्रमुखहरू सुरक्षित हुनुहुन्न। कोही पनि सुरक्षित हुँदैन। म स्वयं सुरक्षित छैन। हामीले लिएको राजश्वको लक्ष्य जसरी पनि पूरा गर्नुपर्छ। यो लक्ष्य पूरा गर्नका निम्ति हामी करदाताहरुसँग मैत्रीपूर्ण व्यवहार गर्न सक्नुपर्छ। त्रास, आतंक, भय सिर्जना गर्ने, भय दोहन गर्ने तरिकाबाट आजको कर प्रशासन सम्पूर्ण रुपमा अलग हुनुपर्छ,’ उनले भने।

अर्थमन्त्री पौडेलले राजश्वको लक्ष्य जसरी पनि पूरा गर्न मातहतका निकायहरूलाई निर्देशनसमेत दिएका छन्। उनले लक्ष्य पूरा गर्नका लागि करदाताहरुसँग मैत्रीपूर्ण व्यवहार गर्न सक्नुपर्ने उल्लेख गरे। 

त्रास, आतंक, भय सिर्जना गर्नेकामबाट कर प्रशासन सम्पूर्ण रुपमा अलग हुनुपर्ने बताउँदै उनले अधिकांश कर कार्यालयहरूमा सेवाग्राहीहरूलाई गर्ने व्यवहारमा सुधार भएको र अझै केहीमा हुन नसकेको भन्दै करदातामैत्री व्यवहार गर्न निर्देशन दिए।

‘के बुझ्नुपर्छ भने यदी हामीले भय दहन गर्नखोज्छौँ, त्रास सिर्जना गर्न खोज्छौँ भने एउटा यस्तो विन्दु आउँछ, जतिबेला मान्छेले प्रतिवाद गर्दछ। प्रतिवादमा उत्रियो भने काम तमाम हुन्छ। कर दातासँग मैत्रीपूर्ण व्यवहार गर्ने हो। उनीहरूका गल्ती, कमजोरीप्रति सहिष्णु बन्न सकिँदैन, गल्ती कमजोरीलाई देखाउने हो, सच्याउन लगाउने हो,’ अर्थमन्त्री पौडेलले भने, ‘कुनैपनि प्रकारका चिटिङलाई दायरामा ल्याउने हो। नियमन गर्ने हो, अनुचित ढंगले छुट दिने, अन्देखा गर्ने होइन। तर तर्साउने, धम्क्याउने काम हाम्रो कर प्रशासनले गर्दैन। मिठो बोलेर के बिग्रिन्छ। विभिन्न कर कार्यालयहरूमा सेवाग्राहीहरूलाई कस्तो व्यवहार हुन्छ जानकारी दिनुस् भनेको छु। धेरै ठाउँमा सुधार भएका छन्, मैत्रीपूर्ण व्यवहार गर्नुभएको छ, मिठो बोल्ने गर्नुभएको छ। तर कतिपय ठाउँमा अझै आदत बदलिएको छैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .