ad ad

कारोबार


घाटामा सेवा व्यापार : आईटी र व्यवस्थापन परामर्शमा मात्रै नाफा

घाटामा सेवा व्यापार : आईटी र व्यवस्थापन परामर्शमा मात्रै नाफा

वसन्त अर्याल
असोज २१, २०८१ सोमबार १३:१३, काठमाडौँ

वस्तु व्यापारमा सधैँ घाटामा रहेको नेपालको सेवा व्यापार समेत ऋणात्मक देखिएको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार साउन महिनामा नेपालले सेवा निर्यातबाट १४ अर्ब ६६ करोड रुपैयाँ आम्दानी गर्दा २९ अर्ब ९१ करोड रुपैयाँ बाहिरिएको हो।   

पर्यटकीय देशको रुपमा प्रचार गरिए पनि भ्रमण व्ययमा नेपाल घाटामा छ।

नेपालमा आउने पर्यटकभन्दा विदेशमा शिक्षा, स्वास्थ्य, व्यवसाय लगायतको कारणले नेपाली जाँदा बढी रकम बाहिरिने गरेको राष्ट्र बैंकले उल्लेख गरेको छ। 

आईटी र व्यवस्थापन परामर्शमा नाफा
सेवा व्यापारअन्तर्गतका अधिकांश शीर्षकमा घाटा भए पनि सूचना प्रविधि निर्यात र व्यवस्थापन परामर्श सेवाबाट भने नाफा गरेको छ। 

नेपालले व्यावसायिक सेवाबाट सबैभन्दा बढी नाफा गर्न थालेको छ। ४ अर्ब ४० करोड व्यवसायबाट सेवा निर्यात गरेकोमा ७५ करोड रुपैयाँबराबरको आयात गरेको छ। अध्ययन अनुसन्धान सेवाबाट नेपालीले २ करोड ८२ लाख रुपैयाँ भित्र्याउँदा ३३ करोड रुपैयाँ विदेशमा तिरेका छन्। 

व्यवस्थापन परामर्श सेवाबाट ३ अर्ब ६ करोड आम्दानी गर्दा २ करोड २३ लाख रुपैयाँ खर्च गरेको छ। प्राविधिक, व्यापार, व्यावसायिक सेवाबाट १ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गर्दा ५२ करोड खर्च गर्न थालेका छन्। 

सरकारले सूचना प्रविधिबाट १० वर्षमा ३० खर्बको आईटी सेवा निर्यात गर्ने घोषणा गरेको छ। सफ्टवेयर लगायत बिक्रीबाट नेपालमा आम्दानी बढ्दो रहेको छ। औपचारिक अनौपचारिक दुवै च्यानलबाट सूचना प्रविधिको आम्दानी आउने गरेको छ। 

साउनमा सूचना प्रविधि क्षेत्र नाफामा छ। नेपालले १ महिनामा १ अर्ब १४ करोड रुपैयाँ आम्दानी गर्दा ३१ करोड विदेशी प्रविधि खरिदमा गरेको छ। नेपालले प्रविधिबाट ८३ करोड रुपैयाँ नाफा गरेको छ। 

०७९/८० मा १ अर्ब २३ करोड रुपैयाँ आम्दानी गरेकोमा ५ करोड खर्च गरेको थियो। करिब ९ करोड रुपैयाँ आम्दानी घटे पनि सेवाको वैदेशिक व्यापारमा नाफा रहेको छ। 

आर्थिक वर्ष २०७८/०७९ मा १ अर्ब ६ करोड रुपैयाँ सूचना प्रविधिबाट आम्दानी गर्दा ६ करोडको मात्रै खरिद गरेको थियो। 

सूचना प्रविधिमध्ये दूरसञ्चार सेवाबाट २८ करोड रुपैयाँ आम्दानी गर्दा १० करोड रुपैयाँ विदेशबाट खरिद गरेको छ। कम्प्युटर सेवा अर्थात् सफ्टवेयरबाट ८६ करोड रुपैयाँ आम्दानी गर्दा २९ करोड रुपैयाँ खर्च गरेको छ। विद्युतीय सूचना सेवाबाट ७ लाख आम्दानी गर्दा ३० लाख खर्च गरेको छ। 

भ्रमणमा सबैभन्दा बढी घाटा
नेपालीले विदेश भ्रमणमा २२ अर्ब ४९ करोड रुपैयाँ खर्च गरेका छन् भने विदेशी नेपालमा आएर गर्ने खर्चबाट ४ अर्ब ७६ करोड रुपैयाँ आम्दानी भएको छ। भ्रमणबाटै नेपाललाई १७ अर्ब ५१ करोड रुपैयाँ घाटा भएको छ। 

यात्रामध्ये पनि व्यावसायिक यात्रामा ७ करोड आम्दानी गर्दा २९ करोड खर्च गरेको छ। यसमा व्यक्तिगत खर्च सबैभन्दा बढी छ। व्यक्तिगत २२ अर्ब २० करोडमध्ये स्वास्थ्य उपचारको लागि १ करोड ६६ लाख, शिक्षाको लागि १४ अर्ब ९२ करोड र अन्य खर्चका लागि ७२ करोड विदेशिएको छ। नेपालले स्वास्थ्यबाट ३१ लाख, शिक्षाबाट १६ करोड ७६ लाख र अन्य ४५ करोड आम्दानी गरेको छ। 

यातायात तथा ढुवानी सेवाबाट २ अर्ब ३६ करोड रुपैयाँ आम्दानी गर्दा ४ अर्ब २१ करोड रुपैयाँ खर्च गरेको छ। निर्माण क्षेत्रबाट २ करोड आम्दानी गर्दा १९ करोड रुपैयाँ बाहिर गएको छ। इन्स्योरेन्स र पेन्सनबाट नेपालीले ४ करोड ५४ लाख नेपाल भित्र्याउँदा १ अर्ब विदेशिएको छ। 

वित्तीय सेवाबाट नेपालले ८ करोड आम्दानी गर्दा १६ करोड खर्च गरेको छ। नेपालले बौद्धिक सम्पत्तिबाट नेपालले ५ लाख आम्दानी गर्दा १२ करोड रुपैयाँ विदेशमा तिरेका छन्। 

त्यस्तै सांस्कृतिक र फोटो भिडियोलगायतबाट २३ करोड रुपैयाँ आम्दानी गर्दा २ करोड खर्च गरेको छ। सरकारी वस्तु तथा सेवाबाट १ अर्ब ५४ करोड रुपैयाँ आम्दानी गर्दा ६२ करोडको सेवा आयात गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .