ad ad

कारोबार


१० दिनमा १३० वटा पसल अनुगमन : २२ वटामा भेटियो म्याद गुज्रिएका सामान

१० दिनमा १३० वटा पसल अनुगमन : २२ वटामा भेटियो म्याद गुज्रिएका सामान

नेपालखबर
असोज २१, २०८१ सोमबार १७:२, काठमाडौँ

काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २० गतेसम्म) मा १३० वटा पसलको अनुगमन गरेको छ।

बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टीमोड, महाराजगञ्ज, असन, जमल हात्तीसार, नक्साल, विशालनगर, हाँडीगाउँ, चाबहिल, मैजुबहाल, कुमारीगालसहित विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा २२ वटा पसलमा म्याद गुज्रिएका उत्पादन भेटिएको महानगरले जनाएको छ। 

‘८२ वटा पसलमा देखिने गरी मूल्यसूची राखिएको थिएन। यस्ता पसललाई देखिने गरी सूची राख्न लगाइयो’, महानगरले भनेको छ, ‘६२ वटाको व्यवसाय दर्ता थिएन। यस्ता व्यवसायीलाई ७ दिनभित्र व्यवसाय दर्ता गर्न समय दिइएको छ। यसरी समय दिएकामध्ये १ जनाले दर्ता गरिसक्नुभएको छ।’ 

चाडपर्वमा फलफूल, माछामासु, दूध तथा दुग्ध पदार्थको धेरै प्रयोग हुन्छ। यसबेला तौल र गुणस्तरका आधारमा मूल्यमा ठगी हुन सक्छ।

महानगरका अनुसार अनुगमनका क्रममा मूल्य सूची नराख्नु, खरिदबिक्री बिलको प्रयोग नहुनु, अधिकतम मूल्य र उपभोग्य मितिको ख्याल नहुनु आम समस्या देखिएको छ। यस्तै व्यवसाय दर्ता नगर्नु, म्याद सकिएका सामान राख्ने कक्ष नहुनु जस्ता समस्या साझा रुपमा देखिएका छन्। 

पसलमा बेच्न राखिएका सामानहरुमध्ये प्याकेजिङ् गरिएका जुस, कुकिजलगायत विस्कुटहरु, चकलेट, भुजिया, घिउ, अचार, विभिन्न खालका मसलाहरु, भिनेगर, केचअप जाम जस्ता खाद्य तथा पेय पदार्थमा गुणस्तरको समस्या देखिएको छ। 

अनुगमनका क्रममा विक्रीका राखिएका खाद्य सामग्री तथा पेय पदार्थको मूल्य, उत्पादन मिति, म्याद सकिने मिति, अधिकतम मूल्य जस्ता पक्ष हेर्ने गरिएको छ । त्यस्तै पसलमा म्याद गुज्रिएका सामान राख्ने ठाउँको व्यवस्था, बिक्री कक्षको प्रबन्ध, खरिद तथा बिक्री बिल, दर्ता तथा नविकरण जस्ता सूचकका आधारमा अनुगमन गरिन्छ। 

उपभोक्ताहरुले सुलभ मूल्यमा स्वच्छ र गुणस्तरीय सामान, मालमत्ता प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले अनुगमन गरिएको हो। अनुचित व्यापारिक क्रियाकलाप रोक्नु र स्वच्छ बजारका लागि सचेतना वृद्धि गर्नु अनुगमनको लक्ष्य हो। 

फुड टेक्नोलोजिस्ट, माइक्रोबायोलोजिस्ट नेतृत्वमा रहेका ३ वटा अनुगमन टोलीले दैनिक अनुगमन गरिरहेका छन्। 

‘सुरक्षा, सुनुवाइ, क्षतिपूर्ति र छनोट’ उपभोक्ताका प्रमुख ४ वटा अधिकार छन्। यी अधिकारको प्रत्याभूत गराउन महानगरपालिकाले काम गरिरहेको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .