कारोबार


नाडा चुनाव : चौधरी र गोल्छासँग खुल्न थाले ‘कर्पोरेट हाउस’, को कता?

नाडा चुनाव : चौधरी र गोल्छासँग खुल्न थाले ‘कर्पोरेट हाउस’, को कता?

वसन्त अर्याल
मंसिर २९, २०८० शुक्रबार ११:३७, काठमाडौँ

नाडा अटोमोबाइल्स एसोसिएसनको अध्यक्षमा करण चौधरी र आकाश गोल्छाले भिड्ने तयारी गरेका छन्। 

आगामी पुस २० गते नाडाको अधिवेशन हुँदै छ। ३३ सय प्रतिनिधि रहने अधिवेशनले अध्यक्षसहित १७ जना कार्यसमिति सदस्य चुन्नेछ। तिनै सदस्यले उपाध्यक्षसहितका पदाधिकारी छनोट गर्ने नाडाको विधानमा व्यवस्था छ। 

सोही अधिवेशनमा हुने नाडाको चुनावमा चौधरी र गोल्छाले प्यानलसहित लड्ने तयारी गरेका हुन्। 

१ महिनाअघिसम्म टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र फोर्डको आधिकारिक बिक्रेता जिओ अटोमोबाइल्सका आकाश गोल्छाले चुनाव लड्ने तयारी गरेका थिए। 

सिप्रदी सीईओ श्रेष्ठले अहिले आफू पछि हटेर करण चौधरीलाई अघि सारेका छन्। सुरुमा करण चौधरीले नै आकाश गोल्छालाई अध्यक्षको उम्मेदवार हुन आग्रह गरेका थिए। सोअनुसार गोल्छा र चौधरी विभिन्न जिल्लामा पुगेर कार्यक्रम गरे।  

तर राजनबाबुले करणलाई नै अघि बढ्दा सघाउने निर्णय गरेपछि नयाँ टिमको तयारी भएको छ। 

सहमतिको सम्भावना कति? 
यद्यपि पूर्वअध्यक्षसहित राजनबाबु श्रेष्ठलगायत सहमतिको प्रयासमा छन्। करण चौधरीको टिममा रहेका महासचिव सुरेन्द्र कुमार उप्रेतीले सहमतिको प्रयास भइरहेको बताए। 

‘यो पटक निर्वाचनभन्दा पनि सहमति हुने सम्भावना नै धेरै देखिएको छ’, उप्रेतीले भने, ‘४–५ दिनमा सहमति वा निर्वाचन टुंगो लाग्छ।’

अध्यक्षको तयारी गरेका चौधरी र गोल्छा दुवै सहमति हुने सम्भावना भए पनि टुंगो नलागेको बताउँछन्। 

‘प्रतिस्पर्धा भए पुरानै टिमबीचमा हुन्छ। अहिलेसम्म पुरानै टिमसँग बसिरहेका छौँ’, अध्यक्षका प्रत्याशी चौधरीले भने, ‘सहमतिको पनि प्रयास भइरहेको छ, टुंगिएको छैन।’

दुईवटै उम्मेदवार मारवाडी समुदायका भएकाले भिड्न नहुने मत समेत देखिएको छ। अध्यक्षका प्रत्याशी आकाश गोल्छाले सहमति हुने सम्भावना भए पनि खुलेर कुरा हुन नसकेको बताए। 

‘२००६ देखि नै म नाडामा छु। करणभन्दा सिनियर हुँ’, आकाश गोल्छाले भने, ‘सहमति भए ठीकै छ, नभए पछाडि हट्दैन।’
आकाशले सहमतिको बाधक नभएकाले आधिकारिक टिम घोषणा नगरेको बताए। 

यता करण चौधरीनिकट व्यवसायी सहमतिको पक्षमा रहे पनि आकाश गोल्छा निकटका भने पछि हट्न नहुने पक्षमा छन्। 

गत निर्वाचनमा धु्रव थापाको टिममा रहेका नारायण पौडेल, दीपेन्द्र मिश्र यसपालि करण चौधरीको टिममा पुगेका छन्। त्यस्तै उपाध्यक्ष भएका सुनिल रिजाल गोल्छा पक्षमा पुगेका छन् भने विशाल ग्रुपलाई दुवै पक्षले आआफ्नो दाबी गरेका छन्। 

सिप्रदी र एमएडब्लु करणको पक्षमा 
सुजुकीको आधिकारिक बिक्रेता करण चौधरीको आफ्नो नेटवर्क बलियो छ। पछिल्लो वर्षमा निर्वाण चौधरीको समेत अटो व्यवसायमा पकड बढ्दै गएको छ। सीजी मोटर्सले चिनियाँ ब्रान्ड नेटासँगै केवाईसी, किङलङका ब्रान्ड बिक्री गर्दै आएको छ। 

करणको टिममा अटोमोबाइल्स क्षेत्रमा राम्रो पकड राख्ने टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ पनि पक्षमै छ। सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ नै चौधरीको उपाध्यक्षमा पुनः लड्ने तयारीमा छन्। 

यस्तोमा अटो कर्पोरेट हाउसमा सबैभन्दा बढी भोट सिप्रदी ग्रुपको छ। 

करण चौधरीसँग पारिवारिक सम्बन्ध भएको एमएडब्लु ग्रुपको सहयोग हुनेछ। विष्णु अग्रवाल नेतृत्वको ग्रुपले यामाहा, जेसीबी, जिप, स्कोडा, फोटोन, सेरेस लगायतका ब्रान्डको बिक्री गर्दै आएको छ। 

त्यस्तै, यामाहाका डिलर समेत रहेका मिलनबाबु मल्ल चौधरीको टिममा छन्। मल्ल गत निर्वाचनमै चौधरीको प्यानलबाट उठेर कोषाध्यक्षमा विजयी भएका थिए।

तीबाहेक संघाई र आईएमई ग्रुपले समेत चौधरीलाई समर्थन गर्ने देखिएको छ भने हिरोको आधिकारिक बिक्रेता अभिक ज्योति, नेपालमै लुब्रिकेन्ट उपत्पादन गर्ने पीएलओले समेत करणलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। 

गोल्छालाई हुन्डाईदेखि शंकर ग्रुपसम्मको साथ
यता आकाश गोल्छाको समूहमा ठूला कर्पोरेट हाउससँगै स्पेयर पार्ट्स व्यवसायी समेत खुलेका छन्। बजाज, केटीएम, फोर्ड, सिट्रोन, पुज्योटमा लगानी रहेको गोल्छा अर्गनाइजेसनको पूर्ण समर्थन रहने देखिएको छ। 

ठूलो कर्पोरेट हाउसको रुपमा रहेको लक्ष्मी ग्रुपका निर्देशक निराकर श्रेष्ठ उनकै टिमबाट उपाध्यक्षको तयारीमा छन्। लक्ष्मी ग्रुपले हुन्डाईसँगै प्रिमियम ब्रान्ड बीएमडब्लुका गाडी बिक्री गर्दै आएको छ। 

अर्को उपाध्यक्षमा सुनिल रिजाल उम्मेदवार बन्ने तयारीमा छन्। रिजाल पहिला करण चौधरीको समूहमा रहेकामा अहिले आकाश गोल्छाको टिममा आएका हुन्। 

यसबाहेक आकाशको टिमलाई सारडा ग्रुपको समर्थन छ। पायोनियर मोटोकर्प निशानका गाडीको आधिकारिक बिक्रेता रहेको छ भने एसपीजी अटोमोबाइल्स चेरी ब्रान्डको आधिकारिक बिक्रेता छ। यो ग्रुपमा सन्दिप सारडा र गौरव सारडाले अटोमोबाइल व्यवसाय हेर्दै आएका छन्। 

अटोमोबाइलमा धेरै कम्पनी र ब्रान्ड होल्ड गर्ने विशाल ग्रुपले आकाश गोल्छालाई सहयोग गर्ने भनेको छ। यो ग्रुप एमजी, ग्रेटवाल मोटर्स, रेनो, फक्सवागन, माज्दा, मेक्ससजस्ता निजी ४ पांग्रे गाडी तथा दुईपांग्रे सुजुकी र लुब्रिकेन्ट्समा भिडोल, मटुल ब्रान्डको आधिकारिक बिक्रेता छ। 

टीभीएस र प्रोटोन बिक्री गर्ने शंकर ग्रुपको समर्थन पनि गोल्छालाई छ। टोयोटा, एथर बिक्री गरिरहेको वैद्य अर्गनाइजेसन, होन्डाको बिक्रेता ज्योति ग्रुप, एमजीलगायतका ब्रान्डमा लगानी रहेको मुरारका ग्रुपले आकाश गोल्छालाई सहयोग गर्न आन्तरिक बैठकमा उपस्थिति हुने गरेका छन्।  

गोल्छाको आन्तरिक बैठकमा बेनेली बिक्री गर्ने पञ्चकन्या ग्रुप, किया र इसुजुका गाडी बिक्री गर्ने कन्टिनेन्टलले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। हालका अध्यक्ष ध्रुव थापाका छोरा समेत गोल्छाको टिममा छन्।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .