ए.आर रहमान विश्वविख्यात गायक तथा संगीतकार हुन्। उनी आज ५६ वर्षका भए। सांगीतिक यात्राको दौरानमा रहमानले ओस्कर, ग्रामीलगायत दर्जनौं पुरस्कार जितेका छन्। तर उनको यहाँसम्मको यात्रा त्यति सहज भने थिएन।
जीवनमा रहमानले चरम आर्थिक संकटको सामना गर्नुपर्यो। रहमान ९ वर्षका हुँदा उनका बुवाको मृत्यु भयो। सानैबाट पारिवारिक जिम्मेवारी लिनुपर्यो। त्यही जिम्मेवारी पूरा गर्ने क्रममा उनले आफ्नो पढाइ छाडे। कठिन समयको सामना गरेका रहमान कुनै समय आत्महत्या गर्ने सोचबाट पनि गुज्रिए।
उनको जन्म तमिलनाडुमा भएको थियो। उनका पिता आरके शेखर फिल्म स्कोर कम्पोजर थिए। पिताले रहमानलाई ४ वर्षको उमेरमा पियानो बजाउन पनि सिकाए। रहमान ९ वर्षका हुँदा उनका बुवाको निधन भयो। बुबाको मृत्युपछि परिवारले गरिबीको सामना गर्नुपर्यो। रहमानकी आमाले घर चलाउन उनका पिताले जम्मा गरेको वाद्ययन्त्र भाडामा लगाउँथिन्।
रहमानलाई ती वाद्ययन्त्र कसरी बजाउने, थाहा थियो। आमाले जहाँ भाडामा लगाउँथिन्, उनी त्यही जान्थे र ती बाजा बजाउँन सिकाउँथे। यसबाट उनी केही आम्दानी पनि गर्थे। पारिवारिक जिम्मेवारी र कमाउनुपर्ने बाध्यताका कारण रहमानको ध्यान पढाइमा जान छाड्यो। हाजिरी घट्दै गयो, परीक्षामा फेल हुन थाले।
सन् २०१२ मा को एक अन्तर्वार्तामा रहमानले परीक्षामा फेल भएपछि विद्यालयका प्रिन्सिपलले आमालाई भेट्न बोलाएर गुनासो गरेको बताएका थिए। उक्त अन्तर्वार्तामा आमाले आर्थिक अभाव देखाउँदा प्रिन्सिपलले यो केटालाई फेरि स्कुल नपठाउन र सडकमा भिख माग्न पठाउन भनेको उनले स्मरण गरे।
प्रिन्सिपलको त्यो भनाइले रहमानलाई नराम्रोसँग बिझायो। त्यसपछि उनले त्यो विद्यालय छाडेर एमसीएन स्कुल भर्ना भए। जहाँ उनले एउटा सानो ब्यान्ड पनि बनाए। रहमानलाई संगीत र पढाइ सन्तुलन मिलाउन गाह्रो भइरहेको थियो। त्यसैले उनले आमाको सल्लाह लिएर १५ वर्षको उमेरमा पढाइ छाडे।
रहमानको जन्म हिन्दू परिवारमा भएको हो। उनका आमाबाबुले उनलाई दिलीपकुमार नाम राखिदिएका थिए। २० वर्षको उमेरमा उनले आफ्नो नाम र धर्म परिवर्तन गर्ने निर्णय गरे । त्यसपछि उनी रहमान भएका हुन्।
२५ वर्षको उमेरमा रहमान आफ्नो जीवनसँग निकै निराश भए। त्यो समय उनी प्रायः आत्महत्या गर्ने सोच्ने गर्थे। यही बीचमा उनले आफ्नो घरको आँगनमा एउटा सानो रेकर्डिङ स्टुडियो बनाए। यहाँबाट उनको सफलताको यात्रा सुरु भयो।
वृत्तचित्रमा संगीत दिएर सांगीतिक करिअर सुरु गरेका रहमानले धेरै विज्ञापन र जिंगलमा पनि काम गरेका छन्। एकपटक टाइटनका लागि बनाइएको उनको एउटा जिंगलले साउथका फिल्ममेकर मणिरत्नमको नजर तान्यो। मणिलाई रहमानको काम यति मनपर्यो कि उनले रहमानलाई रोजा फिल्ममा संगीत गर्न अफर गरे। त्यसपछि उनले थुप्रै हिट गीतमा काम गरे।
रहमानले २७ वर्षको उमेरमा ६ वर्ष कान्छी सायरासँग विवाह गरे। बिहे गर्दा सायरा २१ वर्षकी थिइन्। सायरा र रहमानका ३ सन्तान छन्।
Shares
प्रतिक्रिया