ad ad

कला


तासमेनियाबाट नेपथ्यको अन्तिम सलाम

तासमेनियाबाट नेपथ्यको अन्तिम सलाम

नेपालखबर
फागुन ७, २०७९ आइतबार ९:७, काठमाडौँ

एन्टार्टिका महादेशबाट नजिकै पर्ने अस्ट्रेलियाली टापु तासमानियामा शुक्रबार बेलुकी अन्तिम प्रस्तुतिसँगै यो वर्षको नेपथ्य अस्ट्रेलिया श्रृंखलाबद्ध यात्राको समापन भएको छ। अस्ट्रेलियाका अन्य प्रान्तीय राजधानीहरुभन्दा शान्त होबार्ट सहरमा ऐतिहासिक महत्त्वको १ सय ७ वर्ष पुरानो सभागृह ‘ओडियन थिएटर’ दर्शकले भरिभराउ थियो। आफ्नो प्रिय ब्यान्ड नेपथ्यलाई दोस्रोपटक यस सहरमा पाएर रमाएका नेपालीहरुले अधिकांश गीतमा मञ्चका कलाकारलाई साथसाथै गाएर सघाएका थिए।

अघिल्लो दिनमात्र एबीसी रेडियोको बिहानी सत्रका वार्ताकार लियोन कम्पटनले नेपथ्यलाई विश्व दर्शकमाझ नेपालको के पप ब्यान्डजस्तै हो  भनेर प्रश्न गरेका थिए। त्यतिबेला रेडियो अन्तवार्तामा उपस्थित ब्यान्ड व्यवस्थापक किरणकृष्ण श्रेष्ठले कोरियाली ब्यान्ड ‘के पप’ को उदय र उत्थानका बारेमा व्याख्या गर्दै नेपथ्य त्यसभन्दा अलिक बेग्लै रहेको बताएका थिए। नेपथ्यको आत्मा नेपाली लोक संगीतसँग मिलेको जानकारी दिँदै किरणले विश्वभर विस्तार हुँदैगरेको नेपाली समुदायले यस ब्यान्डको उपस्थितिलाई आफ्नो पहिचानको स्वाद मानेर रमाउने गरेको उल्लेख गरेका थिए। 

शुक्रबार स्थानीय समयअनुसार बेलुकीको ठीक साढे ७ बजे हलका ढोका खुला गरिएको थियो भने ठीक ९ बजे कन्सर्ट सुरु भएको थियो। कार्यक्रममा अन्यत्रजस्तै ब्यान्डको स्थापनाकै पहिलो गीत ‘आँगनैभरि हिउँ नै झरे’ बाट सुरु गरियो। त्यो गीतबाटै हलभरिका दर्शकले साथसाथै गाएर कन्सर्टको माहोल तताइदिएपछि यो क्रम सिंगो कार्यक्रम अवधिभर जारी रहन पुग्यो। 

अढाई लाख जनसंख्या पनि नभएको अस्ट्रेलियाकै यो सबैभन्दा शान्त प्रादेशिक राजधानीमा पछिल्लो समय बिस्तारै नेपालीको संख्या बढ्न थालेको छ। यतिबेला यो प्रदेशमै अंग्रेजीपछि सबैभन्दा बढी बोलिने दोस्रो भाषा नै नेपाली बन्न पुगेको स्थानीय रेकर्डले देखाउँछ। केही वर्षअघिसम्म दोस्रो बढी बोलिने भाषा चिनियाँ रहेकामा पछिल्लो समय भुटानी शरणार्थीहरुको समेत आप्रवासन गराइएपछि र नेपालबाटै आएका तन्नेरीहरु पनि बढ्दै गएपछि चिनियाँहरुभन्दा बढी नेपालीभाषी देखिएका हुन्। 

विशेषगरि अस्ट्रेलिया र फ्रान्सका नाविकहरुको निम्ति एन्टार्कटिका यात्रा गर्दाको यो बिसौनीरुपी सहर प्रशान्त महासागरको गहिरो किनारासँग जोडिएको छ। ‘यति महत्त्वको स्थानमा यहाँ बोलिने दोस्रो भाषा नेपाली रहेको थाहा पाएर असाध्यै गौरव महसुस भएको छ’, मुख्य गायक एवं ब्यान्डका अगुवा अमृत गुरुङले दर्शकसँग संवाद गर्दै भनेका थिए, ‘भाषा रहे मात्र हाम्रो पहिचान रहने भएकाले यो भाषालाई आउने सन्ततिसम्मै जोगाएर विस्तार गरौं है।’

दोस्रो प्रस्तुतिका रुपमा ‘छेक्यो छेक्यो’ र त्यसपछि पनि क्रमशः ‘भेँडाको ऊन’ र ‘लामपाते सुरती’ हुँदै अघि बढेको कन्सर्ट अवधिभर नेपथ्यले उसका पुराना र नयाँ गीतहरु सुनाउँदै गएको थियो। 

कन्सर्ट हेर्न आउने दर्शकहरुमा विष्णु सापकोटा पनि थिए। द्वन्द्वकालमा नेपथ्यले ‘शान्तिका लागि शिक्षा’ अभियान लिएर गाउँ आउँदा आफू केवल १२ वर्षको रहेको विष्णुले सम्झना गरे। ‘दुवैतर्फका हतियारधारीको चेपमा परेको गाउँले त्यतिबेला झेल्नुपरेको भयावह दिन सम्झँदा पनि डर लाग्छ,’ विष्णु भनिरहेका थिए, ‘त्यतिबेला नेपथ्यकै बलमा हामीले विद्यार्थी क्लब खोलेर स्कुल ब्यूँताउने प्रयास गरेका थियौं।’ यसरी गाउने र मनोरञ्जन दिने मात्र नभएर देश र समाजलाई आइपर्दा जहिले पनि नेपथ्य अगाडि आएको सम्झना विष्णुले गरे। 

‘आज मजस्ता नेपालीहरु अस्ट्रेलियामा आएर आफ्नै व्यावसाय गरेर बसेका छौं’, विष्णुले थपे, ‘अब नेपथ्यका लागि पनि केही गर्ने हाम्रो दायित्व सम्झेका छौं।’

विष्णुले शुक्रबारको कन्सर्टबारे पनि प्रतिक्रिया दिए। 

‘गीत सँगसँगै अमृत दाइका अनुभवहरु सुन्दा जहिले पनि मनोरञ्जन मात्र नभएर गौरवबोध पनि महसुस हुन्छ’, उनले भने, ‘यसपाला पनि नेपथ्यले तासमानियामा बसोबास गर्दै आएका हामीमाझ एकसाथ पर्वको माहोल र  नेपालीपनको गौरवबोध गराएको छ।’

आइतबारको कन्सर्टमा दर्शकहरुको हुलमै स्थानीय आयोजक साजन परियार पनि थिए। 

‘हामीले कन्सर्ट आयोजनाको थालनी नै नेपथ्यबाट गर्न पाउनु आफैँमा भव्य सुरुवात भएको छ’, उनले भने, ‘नेपथ्यको साथमा धेरै कुरा सिक्ने मौका पनि पाएका छौं।’

स्थानीय ‘रेडियो होबार्ट’की कार्यक्रम सञ्चालिका एलिजा पंगेनीले पहिलोपटक नेपथ्यको कन्सर्ट हेरेको र यो अनुभव नै गज्जबको भएको प्रतिक्रिया दिइन्। ‘एकातिर गीत-संगीतले मञ्चका कलाकार र दर्शक यसरी एकाकार भएको देख्दा आश्चर्य लाग्दै थियो भने अर्कोतिर ब्यान्डले फैलाइरहेको मानवताको सन्देश असाध्यै प्रभावकारी लाग्यो’, उनले थपिन्, ‘सायद त्यसैले गर्दा पनि अलिक महँगो टिकट काटेर भए पनि यति धेरै दर्शकहरु नेपथ्यलाई हेर्न आएका रहेछन् भन्ने बुझ्न सजिलो भयो।’

कन्सर्ट हेर्न आउनेमध्येमै रोयल होबार्ट हस्पिटलका मनोचिकित्सक डा. दीप मल्ल पनि थिए। 

‘मानसिक स्वास्थ्यका निम्ति संगीत आफैँ पनि उपचारमा उपयोगी एउटा बलियो साधन हो’, डा. मल्ल भनिरहेका थिए, ‘नेपालीहरुलाई संगीतका माध्यमबाट उनीहरुका मूल्य, मान्यता, संस्कृति र पहिचानको अनुभूति दिलाएर मनोरञ्जन गराउनु नेपथ्य कन्सर्टको उल्लेखनीय योगदान भएको मैले पाएँ।’

विदेशमा आएर एक्लो महसुस गरिरहेका धेरै मानिसका लागि यस्तो जमघट असाध्यै उपयोगी हुने उनको भनाइ थियो। 

कन्सर्टका बेला सधैँजस्तै नेपथ्यका मुख्य गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

यस वर्ष जारी अस्ट्रेलिया यात्राका दौरान तासमानियाको यो कन्सर्ट श्रृंखलामध्येको आठौं प्रस्तुति थियो। यसअघि डार्बिन, एडिलेड, ब्रिसबेन, क्यानबेरा, पर्थ, सिड्नी र मेलबर्नमा सफलताका साथ कन्सर्ट सम्पन्न भइसकेका छन्। दर्शक संख्यामा सदैव गुणात्मक वृद्धि देख्दै आएको सिड्नीमा यसपाला पाँच हजारभन्दा बढी दर्शक जुटाएर नेपथ्यले नयाँ मानक कायम गरेको छ। 

तासमानियामा अन्तिम प्रस्तुति सम्पन्न भएसँगै ब्यान्ड, प्राविधिक र व्यवस्थापनसहितको १३ सदस्यीय टोली यसै साता मेलबर्न हुँदै स्वदेश फर्कनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .