अभिनेत्री निशा अधिकारी शोभित बस्नेतको फिल्ममा अनुबन्ध भएकी छन्। योसँगै निशा बस्नेतको नयाँ फिल्म ‘जय हो’मा देखिने भएकी छन्। अधिकारी पछिल्लो समय फिल्ममा देखिएकी छैनन्।
गत साउनमा रिलिज ‘म’मा देखिएकी निशा त्यसयता फिल्ममा देखिएकी छैनन्। आमा भएपछि फिल्म उद्योगमा पातलिएको निशाको उपस्थिति अब भने बाक्लिने देखिएको छ। उनी भर्खरै फिल्म ‘आँखा’को छायांकन सकेर बसेकी छन्। अब भने निशाले उद्योगमा आफ्नो रफ्तार बढाउने देखिएको छ।
टेक पौरखी राईको निर्देशनमा बन्ने फिल्म ‘जय हो’मा निशासँगै केकी अधिकारी, सलोन बस्नेत, अर्पण थापा, माओत्से गुरुङलगायतका कलाकारले अभिनय गर्नेछन्।
यही फागुन २५ देखि फ्लोरमा जाने फिल्मको अधिकांश भाग मुस्ताङमा छायांकन हुनेछ। फिल्मको केहि दृश्य पोखरामा खिचिने निर्माण टिमले जनाएको छ। फिल्ममा सुरेश न्यौपानेको कथा, सौरभ लामाको छायांकन र शम्भुजित बाँस्कोटाको संगीत रहनेछ।
छायांकन सुरु हुनुअगावै फिल्मको रिलिज मिति ताेकिएको छ। यो फिल्मलाई आगामी वर्ष तीजमा रिलिज गर्ने निर्माण टिमको तयारी छ। सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा राज के अधिकारी र सुरज सरकारको लगानी छ।
Shares
प्रतिक्रिया