टेकुस्थित कौशी थिएटरमा यतिबेला कोइराला परिवार विवाहको एल्बम पल्टाउँदैछ। एल्बम पल्टाउँदै जाँदा विवाह कसरी भएको थियो? कस्तो माहोलमा भएको थियो? चटारो कति थियो, तनाव केको थियो सबै पुन: ताजा भएर आइदिन्छ। हो, गिरिश कर्नाडको वेडिङ एल्बमलाई भारतबाट आकांक्षा कार्कीले नेपाल भित्र्याएकी हुन्।
हुन त यतिबेला 'मेन्टल हेल्थ म्याटर्स' भन्ने चेतना पनि नेपाली समाजमा प्रवेश गर्न खोजिरहेको देखिन्छ। त्यसकारण पनि 'वेडिङ एल्बम' पल्टाउने यो नै सबैभन्दा उत्तम समय हो। भनिन्छ नि, उपचारभन्दा रोकथाम राम्रो। फेरि यस्तो पनि होइन, नाटकले तपाईंका मानसिक समस्याहरूमा भर्खरै समाधान खोजेर दिन्छ। तर, समस्या यहाँनेर छ है भनेर निदान हुनु नै आधा समस्या सल्टिनु हो। वेडिङ एल्बम पल्टाउँदै गर्दा तपाईंलाई कहाँनेर कतिबेला कुन पात्रको कुन दृश्यले ट्रिगर गरिदिन्छ, सम्झिनुस्, तपाईंमा त्यहीँनेर समस्या छ।
नाटकले तपाईं आफैलाई थाहा नभइरहेको आफ्नो मानसिक समस्याबारे थाहा दिन सघाउनेछ।
कोइराला परिवारमा दुई छोरी र एक छोरो छन्। जेठी छोरी हेमाको विवाह भइसकेको छ। कान्छी छोरी विदुषी उर्फ विदुको विवाहको लागि बच्चाबच्चीलाई अस्ट्रेलियामै छोडेर हेमा नेपाल आएकी छ। एक्लो छोरो रोहित भने नेपालमै कथा लेख्ने काम गर्छ। उसको कृस्चियन प्रेमिका छे- जेनी। विदुलाई जेनी कृस्चियन हुनुले कुनै फरक पर्दैन। ऊ अलि उदार देखिन्छे। पछिल्लो पुस्ता अलि उदार त हुनैपर्यो नि। तर, हेमालाई त्यो कुरा पच्दैन। बाहिरी संसार धेरै घुम्दैमा भित्री आँखा उघ्रिन्छ भन्ने कहाँ हुँदोरहेछ र?
बुबा उर्फ डा. अंकल, पत्रिका पढ्छन्। झट्ट प्रतिक्रिया जनाइहाल्दैनन्। तौलिएर बोल्छन्। उनी शान्त छन् या फेरि स्तब्ध? यो कुरा जान्नका लागि नाटकको एल्बम मात्र पल्टाएर पुग्दैन। यो विवाहको साक्षी नै बस्नुपर्ने हुन्छ। अनि, आमा? आमा सबैको एउटै हुन्छिन् कि कसो? गन्थन गरिरहने, किचकिच गरिरहने, तनाव लिइरहने। हुन त मान्छेले आफूभित्र जे भर्छ, त्यही ओकल्ने न हो। आमाले पनि गरेकी त्यति मात्रै होलिन्। आमाभित्र के छ साच्चै? के ले भरिएकी छन् आमा? के तपाईं कसैकी आमा हो? या फेरि तपाईंकी आमा र तपाईंबीचको सम्बन्ध कस्तो छ? आमाको मनभित्र के होला है? कहिल्यै सोच्नुभएको छ?
हेमालाई त आमासँग सधैँ गुनासो छ। हेमाकी छोरीलाई हेमासँग गुनासो होला नहोला? के हेमाले योबारे कहिल्यै सोचेकी छ? त्यत्रो दिनमा हेमाले सधैँ छोरोलाई मात्र सम्झिरही, उसैलाई फोन गरिरही। छोरीलाई सम्झिन उसलाई विशेष कारण आवश्यक पर्यो। आखिर, आमा र छोरीबीच किन यस्तो हुन्छ होला?
आमा र छोरीको कुरा गरिरहँदा छोराहरू छुट्लान् भन्ने पीर! हुन पनि, छोरीका समस्याबारे मात्र चर्चा गरिरहँदा छोराका समस्या गौण भएर जाने पो रहेछन् कि?
नत्र, अन्तिमसम्म आफ्नो कुरामा दृढ भएर उभिएको रोहितले कसरी एकाएक आफन्तको निर्णय स्वीकार्न पुग्यो? साँच्चै, रोहित त रोएको पनि देखिएन है? हुन त समाजले छोरो मान्छेलाई रुने अधिकार नै कहाँ दिएको छ र!
थोरै, विभानको पनि कुरा गरौँ। ऊ उपन्यासहरू पढिरहन्छ, पढाकु देखिन्छ। तर, पढाकु हुनु र शिक्षित हुनुमा केही त भेद पक्कै रहेछ। होइन र? कतिबेला के पढ्ने, नपढ्ने भन्ने कुराले पनि मानिसको शिक्षित हुनु, नहुनुसँग सम्बन्ध राख्दो हो। उसले कुन उमेरमा कस्तो शिक्षा पाउनुपर्ने हो- त्यो ज्ञान उसलाई दिने स्रोत खोइ त? बुबा-आमा कता के गर्दैछन्? उसको स्कुलमा पढाइ हुँदैन यस्ता कुराबारे? साँच्चै, कस्ता कुरा? त्यो भने तपाईंलाई नाटक हेरेपछि नै थाहा होला।
अनि, प्रतिभालाई कसरी बिर्सन मिल्छ र? भलै, नाटकमा सबैभन्दा थोरै देखिन्छे तर, दर्शकको मनमा गढेर बस्नसक्ने पात्र हो प्रतिभा। निमन्त्रणाको भाषामा पनि त कसैलाई बहिष्कार गर्न सकिनेरहेछ। यो कुरा कसैले उबाट सिकोस्!
नाटक हेरिरहँदा सबैभन्दा खसखस तपाईंलाई कुसुम दिदीलाई देख्दा लाग्नसक्छ। के होला उनको कथा? विदुले कुसुम दिदीको कथा भन्दै सुनाएको कुरा साँच्चै होला त? अनि, हेमाले बुझ्न चाहेको कुसुम दिदीकै आमाछोरीको कथा होला त? हुन त, नाटकभरि यस्तै यस्तै प्रश्न बोकेर भड्किरहेका खसखस छन्। रोहितलाई आफ्नी बहिनी विदु 'नाइस गर्ल' लाग्छ। तर, किन पो लाग्छ? तर, रोहितले सोचेको भन्दा विदु त फरक पो निस्की! के अब ऊ 'नाइस गर्ल' रहिन? 'नाइस गर्ल' को परिभाषा के हो? के 'नाइस गर्ल' हुन जरुरी छ?
आमाले नागरिकतामा बिग्रिएको नाम सच्याउन किन खोजिनन् होला है? अनि, रोहित र हेमाले हिँड्ने बेलामा विदुलाई भन्न खोजेको कुरा भन्न सके होलान् त? त्यो कुरा के थियो कुन्नि? कस्तो रहस्यमयी परिवार, होइन?
नाटकमा केही कमीकमजोरी पक्कै छन्। भारतीय मिडल क्लासलाई नेपालमा ल्याउँदा नेपाली मिडल क्लासलाई ऐना हेरेजस्तै भने पक्कै नलाग्दो हो। किनभने, सपिङ हिँड्नेबेला खुसी र उत्साहभन्दा ज्यादा किन्ने-नकिन्ने दोमन ज्यादा हुन्छ नेपाली मिडल क्लासमा। अनि, काम गर्ने मान्छे राख्नसक्ने हैसियतका नेपाली मिडल क्लास पनि कमै होलान्। विवाहको मौकामा ऋणको पीडा नपोख्ने मिडल क्लास... हुन त, मिडल क्लासभित्र पनि क्लास हुन्छ भन्छन्। कोइराला परिवार मिडल क्लासभित्र पनि सबैभन्दा अपर क्लासतिर पो पर्दा हुन् कि?
अनि, एल्बम हो, स्मृतिमा दृश्य चल्छन्। त्यो क्षणमा छिरिन्छ, बाहिरिइन्छ, पुन: अर्कोमा छिरिन्छ, बाहिरिइन्छ र पुन: ..! यो सिलसिला यसैगरी चलिरहन्छ। एल्बम पल्टिँदैपिच्छे दृश्य बदलिन्छन्। यसमा अलि धेरैबेर टिकिरहूँ भन्न पाइँदैन। किनभने, एल्बम पल्टाएर देखाउने अरू नै कोही हो। जस्तो कि एउटा दृश्य, जहाँ विदु र हेमा अचानक रमेशका बारे कुरा गर्न पुग्छन्। कसरी रमेशले उनीहरूमाथि यौन दुर्ववहार गरेको थियो! किन उनीहरूको बचपन कहालीलाग्दो थियो! कसरी उनीहरू त्यो घिनलाग्दो बाल्यकाल भोग्न बाध्य भए!
यस्तो गम्भीर कुरा दुई दिदीबहिनीबीच पहिलोपटक भइरहेछ। वातावरणले यसको असर खोज्छ। दर्शकहरू यहाँनेर स्तब्धता खोज्छन्। तर, सायद रौनकपूर्ण माहोल भएर हुनसक्छ एल्बम पल्टिरहन्छ। अन्य संवेदनामा हुत्याइरहन्छ। दर्शकलाई लाग्नसक्छ, एकैछिनलाई भए पनि उनीहरू दुवै जुरुक्क उठिदिऊन् र गइदिऊन् एकान्तमा। या त एकले अर्कालाई आँखाकै इसाराले सही, सान्तवना दिऊन्। कमसेकम, क्षणभरलाई सही त्यो कोलाहलबाट विच्छेद गरिदिऊन् आफूलाई। तर, यस्तो हुँदैन। वेडिङ एल्बम पल्टिरहन्छ। दृश्यहरू चलिरहन्छन्, बदलिरहन्छन्। दर्शक ती स्मृतिमा गहिरिन्छु भनेर पनि गहिरिन भने पाउँदैन। हुन त, बच्चु कैलाशलाई साक्षी राखेर कोइराला परिवार गाउँछन्- 'टाढा टाढा जानु छ साथी, एकफेर हाँसिदेऊ'।
छुटिने बेला नजिकिँदै गर्दा हुनसक्छ केही मीठो बात गरेरै छुट्न मन भयो होला। एकान्तमा रुनु त आखिर सबैलाई छँदैछ।
यावत् बात गर्दागर्दै केही कुरा त छुटिगएछ नि साथी। बुबालाई पनि केही भन्नु थियो कि? फ्लाइट छुट्ने छोराछोरीका पीरमा बुबाका पीरहरू शुन्यतामा पो छरिए कि? तर, संगालिदिने कुसुम दिदी छिन् नि है? अनि, उनलाई संगालिदिने को छ? उनको व्यथा बुझिदिने को छ? साँच्चै, को छ हँ कुसुम दिदीको?
Shares
प्रतिक्रिया