नीति शाहको फिल्मी करिअर अन्योलमा परेको छ। उनलाई डेब्युमै सकस भैरहेको छ। उनले साइन गरेका फिल्म छायांकन सुरु हुन नसक्दा उनको फिल्मी करिअर अन्योलमा परेको हो।
नीतिले चार फिल्ममा साइन गरिसकेकी छन्। तर, चारै फिल्मको निर्माण अनिश्चित बनेको छ।
उनले सबैभन्दा पछि साइन गरेको ‘रावायण’को सुटिङ तत्कालै हुने अवस्था छैन। नायक अनमोल केसीसँगको विवादका कारण फिल्मको सुटिङ अन्योलमा परेको छ।
फिल्मका मुख्य अभिनेता नै फिल्मबाट बाहिरिएपछि निर्देशक सुदर्शन थापाले अब कसरी प्रोजेक्ट अघि बढाउँछन्, अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेका छैनन्।
नीतिले सुरुमा ‘हुतुतु’ नामक फिल्मका लागि साइन गरेकी थिइन्। यो फिल्ममा उनले अभिनेता प्रदीप खड्कासँग स्क्रिन सेयर गर्ने चर्चा थियो। तर चर्चा, चर्चामै सेलायो।
त्यसपछि ‘एक्स नाइन’ साइन गरिन्। यो फिल्म पनि घोषणामै सीमित रह्यो। त्यसपछि प्रदीप खड्कासँगको ‘क्यामिनो’ साइन गरिन्। यो फिल्मको छायांकन पनि अन्योलमा परेपछि उनी भारत गइन्।
मुम्बईमा अभिनय प्रशिक्षण लिएर फर्किएकी उनले ‘रावायण’मा साइन् गरिन्। यो फिल्म पनि बेलामा छायांकनमा जान सेकन।
अनमोलसँग काम गर्न नीतिले रामबाबु गुरुङको ‘डिग्री माइला’को अफर अस्वीकार गरेकी थिइन्। फिल्ममा भविष्य खोजिरहेकी नीतिलाई डेब्यु गर्नै मुस्किल भएको छ।
Shares
प्रतिक्रिया