चर्चित हलिउड अभिनेता ब्रुस डर्न नेपाली फिल्म ‘भूठान’मा देखिने भएका छन्। फिल्म निर्माण टिमले अभिनेता ब्रुस फिल्ममा अनुबन्ध भएको जानकारी दिएको हो।
बुलबुलु फेम्ड विनोद पौडेलको निर्देशनमा बन्ने यस फिल्मको अंग्रेजी नाम ‘द वर्ल्डस् ह्याप्पियस्ट म्यान’ राखिएको छ। जुन सन् २०१९ मा बुसान फिल्म फेस्टिभलको स्क्रिप्ट पिचिङमा समेत छानिएको थियो।
हलिउड अभिनेता ब्रुसले ‘कमिङ होम’बाट दुईपटक अस्कर मनोनयनमा परेका थिए। फिल्म नेब्रास्का बाट उनले कान्स फिल्म फेस्टिलबलमा ‘बेस्ट एक्टर अवार्डसमेत जितेका थिए।
यसअघि फिल्मको मुख्य भूमिकामा दयाहाङ राई र हरिवंश आचार्य अनुबन्ध भइसकेका छन्।
यस चलचित्रमा अमेरिकाको ओहायो-पेन्सिल्भेनिया क्षेत्रमा बसोबास गर्ने भुटानी-नेपाली शरणार्थीहरूको दुर्दशा र विस्थापनको लडाइँलाई देखाइनेछ।
फिल्ममा ब्रुस, हरिवंश, दयाहाङसहित जोयस पाण्डेय, अनुराधा मजुमदार, पूजा चन्द लामा, ऋचा घिमिरे, अदिती प्याकुरेल, टम क्रेन, विमला सुवेदी, कौशिला खनाल कर्माचार्यको अभिनय रहने छ।
यस फिल्मले भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र जीवनयात्राको कथा समेटेको छ।
सन् २०१९ मा रिलिज भएको ‘बुलबुल’बाट पौडेलले नेपाल सरकारबाट सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका थिए।
पौडेलकै कथा रहेको फिल्ममा अविरल थापा, राजेन्द्र ठकुराठी र अमिताभ जोशी निर्माताका रुपमा जोडिएका छन्।
निर्माता अविरल थापाले यो चलचित्र विश्व बजारका लागि बनाउन लागिएको र अन्तर्राष्ट्रिय चलचित्रको भीडमा अलग्गै पहिचान कायम गर्नेमा आफू विश्वस्त रहेको बताए।
चलचित्रको सम्पूर्ण छायांकन अमेरिकाको ओहायो राज्यमा हुनेछ। नेपालीसहित अंग्रेजी भाषामा निर्माण हुने सन् २०२५ मा प्रदर्शन हुनेछ।
यस चलचित्रलाई अमेरिकाको म्याड मंकी फिल्मस्ले निर्माण गर्नेछ। साथै अमेरिकाकै डग इयर्ड फिक्चर्स र नेपालको अवेकन प्रोडक्सनले सहकार्य गर्नेछन्।
Shares
प्रतिक्रिया