ad ad

कला


रवि मिश्रको एकल कार्टुन प्रदर्शनी बिहीबारदेखि

रवि मिश्रको एकल कार्टुन प्रदर्शनी बिहीबारदेखि

नेपालखबर
माघ २, २०८० मंगलबार १४:३, काठमाडौँ

कार्टुनिष्ट रवि मिश्रले एकल कार्टुन प्रदर्शनी गर्ने भएका छन्। काठमाडौं नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा क्याफेमा उनले बिहीबारदेखि ‘डिपेक्सन’ नाम दिएर १० दिने एकल प्रदर्शनी गर्दै छन्। 

नयाँ पत्रिकामा कार्यरत मिश्रले सञ्चारमाध्यमबाट भइरहेको एकल संवादलाई दोहोरो बनाउन प्रदर्शनीमार्फत आउने निर्णय गरेको बताए।

१७ वर्षदेखि विभिन्न अखबार तथा म्यागेजिनहरूमा करिब ३ हजार कार्टुन प्रकाशित गरिसकेका मिश्रले पहिलोपटक एकल प्रदर्शनी गर्ने भएका हुन्।

‘पत्रपत्रिकामा प्रकाशितमध्ये केही प्रदर्शनीमा राखिने छन्, जसलाई मैले 'डिपेक्शन' नाम दिएको छु। डिपेक्शन’ मैले देखेको नेपाली समाजको चित्र हो। प्रदर्शनीमा राखिने अधिकांश कार्टुन विभिन्न पत्रिकामा प्रकाशित भइसकेका छन्’, उनले भने, ‘तर पनि कार्टुनलाई सञ्चार मात्रै नभएर संवाद पनि बनाउन प्रदर्शनीको आवश्यक हुँदोरहेछ। पत्रिकाबाट एकोहोरो संवाद गरिरहेको म यो प्रदर्शनीमार्फत दोहोरो संवाद गर्न खोज्दै छु। कार्टुन एकतर्फी सञ्चार मात्रै होइन, संवाद पनि हो भन्ने मेरो विश्वास छ।’

मिश्रले कार्टुन आफ्ना लागि चित्रमात्रै नभएर विचार, भावना र हास्य व्यक्त गर्ने माध्यम रहेको बताए। साथै आफूले वर्तमानमा देखेको समाजको दृश्यलाई समेत कार्टुन कोर्ने सुनाए। 

अखबारका कोलममा नअटाउने कतिपय विषय मिश्रले प्रदर्शनीमार्फत प्रस्तुत गर्दैछन्।

‘मैले अखबारका कोलममा नअटाउने कतिपय विषयलाई दर्शकसमक्ष पुर्‍याउने माध्यमका रुपमा यो प्रदर्शनीलाई लिएको छु ,’ मिश्रले भने, ‘यो प्रदर्शनी कार्टुनका लागि नयाँ जमिनको खोजी पनि हो। अखबारका कोलम र ग्यालरीको भित्ता भन्दा पर पनि कार्टुनलाई पुर्‍याउने रहर हो। कार्टुनलाई थप पहुँचयोग्य र सान्दर्भिक बनाउने प्रयत्न हो।’

प्रर्दशनीस्थल उजामा क्याफेका निर्देशक लिलाराम खड्काले पत्रिका र आर्ट ग्यालरीमा देखाइँदै आएको कार्टुनलाई नियमित स्पेसबाट बाहिर ल्याउने प्रयासमा रहेको बताए।

मिश्र ‘कार्टुनिष्ट क्लब अफ नेपाल’ का महासचिवसमेत हुन्। व्यंग्य चित्रसँगै उनी व्यंग्य लेखनसमेत गर्ने गर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .