सदावहार हिरो भुवन केसी हाल चलचित्र विकास बोर्डको अध्यक्ष छन्। चलचित्र क्षेत्रमै सिंगो जीवन बिताएका भुवनले बोर्ड छिरेपछि केही गर्छन् भन्ने आशा राख्नु अस्वभाविक थिएन। तर, भुवनले पनि त्यहाँ पुगेर खासै केही गरेनन्। नेपाली सिनेमाले भोगेको नियति बदलिएन।
किन त? भुवन स्वयंले प्रश्नको उत्तर दिँदै भने,‘ बोर्ड हराएकोबारे पत्ता लगाउन बोर्ड पुगेको थिएँ। बोर्ड संचार मन्त्रालयभित्र हराएको रहेछ। चलचित्र ऐन २०२६ सालको ऐन अहिलेसम्म चलिराको छ। ब्ल्याक एण्ड ह्वाइडमा हेर्थे फिल्म, अहिले कलर आइसक्यो तर ऐन अहिलेसम्म पास हुन सकेको छैन। जबसम्म चलचित्र विकास बोर्ड स्वायत्त हुँदैन, संचारमन्त्रालयको अण्डरमा जहिलेसम्म रहन्छ, तबसम्म चलचित्र क्षेत्रको विकास हुँदैन भन्ने ठम्याइ छ।’
भुवन चलचित्र पत्रकार संघ कास्कीले यहाँको सुन्दर पर्यटकीय गाउँ सिक्लेसमा आयोजना गरेको ‘सरकार र सिनेमा : हिजो, आज र भोलि’ भन्ने शीर्षकमा रंगपत्रकार प्रकाश सुवेदीसँग गफिँदै थिए।
भुवनसँगै एउटै मञ्चमा देखिएकी अभिनेत्री दीपाश्री निरौलाले चाहिँ दक्ष जनशक्ति उत्पादनदेखि फिल्म नै राम्रो बनानुपर्नेमा जोड दिइन्।
‘अरु फिल्म विस्थापित गर्न सकौंं। नेपाली फिल्म उँभो लगाउनका लागि नेपाली चलचित्र राम्रो चाहियो,’उनले भनिन्।
निर्माता संघका पूर्वअध्यक्ष आकास अधिकारीले नेपाली सिनेमाको विकासमा स्वतन्त्र निर्माताहरुको ठूलो योगदान रहेको तर चलचित्र विकास बोर्डदेखि सरकारले केही योगदान नदिएको गुनासो गरे।
नेपाली सिनेमा : अस्पतालको खाना
निर्देशक मनोज पण्डितले त नेपाली सिनेमालाई अस्पतालको खानासँग तुलना गरिदिए।
उनले नेपाली सिनेमा ‘आइ लभ यु’ भन्दा माथि उठ्न नसकेको जिकिर गर्दै थपे,‘ त्यसभन्दा माथि उठेर आई एम हुमन भन्ने कहिले आउँछ? संसार अचम्म लाग्दो छ। संसार योमात्र होइन, पात्रले मेटाफिजिकल रुपमा चुनौती गरेको खै त? संसारमा धेरै स्वाद आइसके, हामी अझै राउटेकै अवस्थामा छौं। नेपाली सिनेमाको स्वादमा एउटा कुरा थपौँ, त्यो हो आशा। यो आशा भन्ने मसला दिन सक्यो भने असफल देशको नागरिक होइन, सफलताको स्वाद चखाउन सक्यौँ भने नेपाली फिल्मको विकास हुनेछ।’
उनले नेपाली फिल्म बिगार्ने काम सबैभन्दा बढी निर्माताबाटै हुने गरेको ठोकुवा पनि गरे। निर्माताले कलाकार नछान्ने, आफ्ना मान्छे छान्ने गरेको बताइरहँदा निर्देशकको भने बचाउ गरे।
उनले थपे,‘ लेखक र निर्देशकले सीमित प्रविधि र ज्ञानमा रहेर काम गर्ने हो।’
कलाकार तथा निर्देशक अनुप बरालले नेपाली सिनेमाबाट फिल्म भन्नु पनि एक शैली हो भन्ने चिज नै गायव हुने गरेको स्वीकार्दै भने,‘छरिएर बसेको छ, त्यसलाई एक ठाउँमा ल्याउन सकेका छैनौं।’
आफूले पनि राम्रा सिनेमा बनाउन चुकेको अनुपले स्वीकारे।
‘जुन उत्साहले सिनेमा बनाउँछु भन्ने सोचेको थिएँ, पछि हातबाट फुत्किदै गयो। चंगा चुँडेझैँ भयो,’उनले भने।
कलाकार दीया मास्केले नेपाली सिनेमामा मिहिनेत गर्नेभन्दा पनि सम्झौता गर्ने प्रवृत्ति ज्यादा भएको औंल्याइन्।
‘हाम्रो फिल्म धेरैसम्म हिन्दी फिल्मको फोटोकपी हो। ६० वर्ष लामो नेपाली फिल्मको इतिहासमा पनि यो हुनु गलत हो। सिनेमाले देखाउने स्टोरीको कुरा गर्नुपर्छ,’ उनले सहजकर्ता सुरज सुवेदीसँग भनिन्।
Shares
प्रतिक्रिया