ad ad

कला


आनी छोइङ डोल्मामाथि बनेको डकुमेन्ट्री देखाउँदै सुरु भयो निफ

आनी छोइङ डोल्मामाथि बनेको डकुमेन्ट्री देखाउँदै सुरु भयो निफ

नेपालखबर
चैत १, २०८० बिहिबार २०:३६, काठमाडौँ

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को सातौँ संस्करण सुरु भएको छ। बिहीबार सुन्धाराको सिभिल मल स्थित क्युएफएक्सको हलमा आनी छोइङ डोल्मामाथि बनेको डकुमेन्ट्री ‘आनी छोइङ डोल्माः मिसन इम्पोसिबल’ देखाउँदै निफ सुरु गरिएको हो। जहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिनेमाकर्मीको बाक्लो उपस्थिति थियो।

निफको उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा उपस्थित सूचना, सञ्चार तथा प्रविधीमन्त्री रेखा शर्माले मनोरञ्जनको रुपमा मात्रै लिन नहुने भन्दै सिनेमाले सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण योगदान दिने बताइन्।

उनले भनिन्, ‘हिमाल, पहाड र तराईको भौगोलिक विविधताको संगम हुनुका साथै प्राकृतिक र साँस्कृतिक हिसाबले चलचित्र छायांकनका लागि विश्वमै महत्वपूर्ण स्थल हो। त्यसैले सिंगो नेपाल नै फिल्म स्टुडियोको हिसाबले विकास गर्न आवश्यक छ। नेपालको गौरवशाली इतिहास, साँस्कृतिक सम्पदाको अखण्ड विरासत, चलचित्रका लागि महत्वपूर्ण कथा वस्तु पनि हुन्।’

नेपाली चलचित्रको प्रवर्द्धन, विकास र सामाजिक रुपान्तरणका लागि आवश्यक योजनालाई बजेटमा पनि समेट्न लैजाने उनको भनाइ छ। मन्त्रीशर्माले आगामी बजेटमा नेपाली फिल्मलाई उद्योगको रुपमा विकास गर्नका लागि केही कार्यक्रम प्रस्ताव गर्न चलचित्र विकास बोर्डलाई अनुरोध गरिन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले यस्ता कार्यक्रम नियमित गर्न निकै कठिन रहेको बताए। सरकारका तर्फबाट कलाक्षेत्रले उचित सम्मान नपाएको बताउँदै फिल्मक्षेत्र अवहेलित हुन पुगेको सुनाए उनले।

केसीले भने, ‘भन्नको लागि कला संस्कृति र कलाकारलाई देशको गहना भनिए पनि नेपाली सिनेमा क्षेत्र अवहेलित छ भनेर दुःखका साथ भन्नुपर्छ।’

कलाकार नीर शाहले नेपालमा एकदमै थोरै राम्रा फिल्म बने पनि नराम्रा फिल्मको तुलनामा राम्रा फिल्मकै प्रभाव बढी रहेको बताए।

‘वित्तीय व्यवस्थापनको अलमल र बजार व्यवस्थापनको हेलचेक्र्याइँले गर्दा नेपाली फिल्म केही पछाडि परेको अनुभुति हुन थालेको छ। तथापि केही उच्च कोटीका प्रस्तुतिका कारणले गर्दा राष्ट्रिय चलचित्रले आफ्नो अभियानलाई सही दिशा तिर तिब्रता दिन सफलता हाँसिल गर्दै गएको पनि छ’ उनले भने।

नेपाली फिल्म क्षेत्रको उत्थानका लागि निफजस्ता कार्यक्रमको महत्वूर्ण योगदान रहने शाहले धारणा छ।

उनी भन्छन्,‘निफले सातौँ संस्करणसम्म आफ्नो यात्रा तय गरिसक्दा अन्तर्राष्ट्रिय स्तरमा आफूलाई चिनाउन सफल भइसकेको छ। नेपाली चलचित्रकर्मले प्राप्त गरेको दुरगामी अर्थ राख्ने संस्था बनेको छ। अन्यथा छ दर्जन देशहरुबाट एकसे एक राम्रा फिल्महरु, सिनेमा क्षेत्रलाई माथि उठाउन विभिन्न कालखण्डमा योगदान पुर्‍याउने अन्तर्राष्ट्रिय व्यक्तित्वहरुको सहभागिता यहाँ हुँदैन थियो।’

विदेशी फिल्मबाट प्रभावित फिल्म बनाउनुभन्दा यहीँका मौलिक कथामा आधारित रहेर विश्व मस्तिष्कमा बस्ने गरी पाँच मिनेटको छोटो फिल्म बनाउनु सिने क्षेत्र र देशको लागि फाइदाजनक उनले बताए।

आजबाट सुरु भएको महोत्सवमा ४० देशका ८८ फिल्म तथा डकुमेन्ट्री प्रदर्शन हुँदैछन्। चैत्र ५ गतेसम्मचल्ने महोत्सवका फिल्म छाया सेन्टर, सिभिलमल, लबिममल र भक्तपुर भाटभटेनीका क्युएफएक्स हलमा हेर्न सकिन्छ। सिनेमा सम्बन्धी बहसभने भृकुटिमण्डपस्थित राष्ट्रिय सभागृह र नेपालपर्यटन बोर्डको हलमा हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .