ad ad

कला


राजेश हमालसँग संवाद गर्दै ओलीले भने– महानायक हुँदाहुँदै मैले अभिनय गर्ने कुरा भएन

‘कला नबुझेका मान्छे पनि बाँच्छन् तर अर्थपूर्ण जीवन बाँच्न कला चाहिन्छ’
राजेश हमालसँग संवाद गर्दै ओलीले भने– महानायक हुँदाहुँदै मैले अभिनय गर्ने कुरा भएन

लक्ष्मी बलायर
चैत २, २०८० शुक्रबार १९:४९, काठमाडौँ

आज दिउँसो राष्ट्रिय सभागृहमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग अभिनेता राजेश हमालको गफगाफले माहौल रमाइलो बन्यो। फरक क्षेत्रका यी दुई चर्चित अनुहार एकै ठाउँमा देखिएका थिए-  'सिनेमा संवाद' गर्न।

उनीहरुबीच नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा दुई घण्टाभन्दा लामो समय संवाद चल्दा दर्शकदीर्घाबाट पटकपटक ताली बजेको थियो। हमालले सुरुमै ओलीलाई प्रश्न तेर्स्याए : आर्टलाई कसरी हेर्नुभएको छ?

ओलीले कला जीवनसँग सम्बन्धित रहेको जवाफ दिए। उनले भने, 'खासमा जीवन भनेकै कलासँग सम्बन्धित छ। मानव सभ्यताले प्रगति गर्नुमा पनि एक प्रकारको कलाको भूमिका छ। जंगली युगबाट कृषि/पशुपालन युगमा जाँदा कृषि कसरी गर्ने, सञ्चित कसरी गर्ने भनेर मान्छेले सिक्यो। जंगली जनावरलाई तालिम दिएर घलपालुवा बनाउन पनि कला चाहियो।'

ओलीले सिक्नेदेखि बाँच्न गर्नुपर्ने कामसम्मलाई कलासँग जोडिदिए। कला जीवनका लागि महत्त्वपूर्ण रहेको बताउँदै ओलीले भने, 'सिक्नेदेखि बाँच्न गर्नेपर्ने काम सबै कलासँगै सम्बन्धित छन्। जंगली युगमा सिकार खेल्न कला चाहिन्थ्यो। जीवनको सुरक्षाका लागि जीवहरुले जुन प्रयास गर्छन् वा सुरक्षासम्बन्धी चेत राख्छन् ती सबै कला हुन्। जीवनका लागि कला महत्त्वपूर्ण छ।'

कलाका विभिन्न विधाहरु छन्। जसभित्र हस्तकला, चित्रकला, वास्तुकला, साहित्य, सिनेमा पर्छन्। कलाका यी फरक विधालाई ओलीले कसरी हेर्छन् त? राजेशले जान्न खोजे।

ओलीले भने, 'वस्तुलाई सुन्दर ढङ्गले प्रस्तुत गर्नु कला भनिन्छ। काठको झ्याल बनाउन सकियो। तर, कलात्मक तवरले कि सोझै? टुँडाल बनाउन सकियो। तर, कलात्मक कि सोझै? अनुहार देखाउन सकियो। तर, कलात्मक कि सोझै? यही कारण मानिसले कला साहित्यको विकास गर्‍यो। त्यसैले संस्कृतिको विकास भएको छ। त्यसकारण कला, संस्कृति र साहित्य जोडिएका छन्। मानव जीवनमा आवश्यक पर्ने विभिन्न पक्षहरुको सुन्दर प्रस्तुति नै कला हो।'

जीवनको तितो यथार्थलाई झेल्नका लागि कलाले पार्ने प्रभावबारे हमालले जिज्ञासा राख्दा ओलीले भने, ‘सक्रिय मान्छे अचेत भएर सुतेको पनि हुन्छ। मानव जीवनका विभिन्न पक्ष, अवस्था, परिस्थिति हुन्छन्। त्यसलाई कसरी झेल्ने भनेर पनि कलाको विकास भइरहेको हुन्छ। आधारभूत कुरा जीवन हो, कला नबुझेका मान्छे पनि जीवन पनि बाँचेका हुन्छन्। तर, मानव जीवन फरक छ। अर्थपूर्ण रुपमा बाँच्न खोज्छ। त्यसका लागि कला चाहिन्छ।’

कलाबिना पनि जीवन चल्ने भएकाले मानव जीवनमा यसको आवश्यकताका बारेमा हमालले फेरि प्रश्न सोधे, ‘कलालाई अनावश्यक आवश्यकताको रुपमा पनि लिइन्छ। कलालाई बुझ्ने मान्छेले जीवनलाई सन्तुलनमा राख्न, गहिराइमा जान सक्ने क्षमता राख्छ भनिन्छ। यसमा तपाईंको राय के छ?’

जवाफमा ओलीले भने, ‘मेरो विचारमा मानव जीवनका लागि कला अत्यावश्यक आवश्यकता हो। युवावस्थाको मान्छेले दालभात मात्र भन्दैन प्रेम जोड्छ, आमाले सन्तानप्रतिको स्नेह, मायाममता जोड्छ, मायाले जाडो मेट्दैन तर जाडो बिर्साउने क्षमता राख्छ। कलाको महत्व पनि दैनिक जीवनमा त्यस्तै हुन्छ।’

कला भावनाबाट प्रेरित भए पनि राजनीति भने यथार्थ/बौद्धिकताबाट प्रेरित हुने ओलीले बताए। 'जीवन र समाज यथार्थ हो। अवस्था जे जस्तो छ, त्यही यथार्थ हो। कला परिकल्पना हो, कथा र अभिनय हो। जीवन अभिनय गरेर चल्दैन। फिल्ममा नखाएको भए पनि खाएको, प्रेम नभए पनि भएको, घाइते नभए पनि भएको र नमरेको पनि मरेको अभिनय हुन्छ। तर, जिन्दगीमा त्यस्तो हुँदैन। राजनीतिमा पनि त्यस्तो हुँदैन।'

मानव जातिको रचना शक्ति र त्यसको प्रभावको पनि ओलीले गुणगान गाए। जसकारण मान्छेको जीवन पनि कथ्य र तथ्यको मिश्रण रहेको उनको बुझाइ छ। 'मान्छेले आफै भगवान बनाउँछ, अर्कोतिर भुत बनाउँछ, मसान बनाउँछौँ। अनि त्यसैले मान्छेलाई खान्छ। तर जंगलको हरिणको बच्चालाई मान्छेले बनाएको भुतले खान सक्दैन।’

मान्छेले बनाएका कथाले राजनीतिक संसारमा पारेको प्रभावका बारेमा बोल्दै हमालले भने, ‘राजनीतिमा पनि मान्छेले आफ्नो आइडियोलोजीमा विश्वास गर्छ। त्यो सम्भव होस् नहोस्, त्यता पनि कहानीमा विश्वास गरेका हुन्छन्। आफ्नो आफ्नो कथामा हामी विश्वास गरेर त्यसकै छातामुनि अडिग भएर बसेका हुन्छौँ। त्यसरी कथाले मान्छेलाई विभाजित पनि गरिरहेको छ।’

त्यसमा समाधानका बारेमा बोल्दै ओलीले भने, ‘त्यस्तो अवस्थामा अनुमानित होइन, नयाँ यथार्थ कथा बनाउनुपर्छ। अधिकार, अवसरमा समानता हुनुपर्छ।’

वर्तमान अवस्थाका आवश्यकतालाई हेरेर विश्वभर समानता कायम गर्न असम्भव भएमा एक समयमा आवश्यकता नै फेरिने पनि उनले सुनाए।

सिनेमाभन्दा बाहिर कुरा धेरै हुन थालेपछि राजेशले कुरा मोडे। त्यसपछि उनले ओलीलाई सोधिहाले, 'तपाईंले कत्तिको सिनेमा हेर्नुहुन्छ अनि कस्ता सिनेमा मन पर्छन्?  

जवाफमा ओलीले भने, ‘कहिलेकाहीँ फुर्सदको समयमा फिल्म हेर्छु। जसमा देशभक्ति, चेतनामूलक/जागरणमूलक र मनोरञ्जनात्मक फिल्म प्राथमिकतामा पर्छन्।’

उनले फिल्म हेर्दा कथावस्तु र कलाकारको अभिनयलाई प्राथमिकता दिने समेत बताए। 'म फिल्म हेर्दा त्यसको कथावस्तु र त्यसलाई प्रस्तुत गर्ने कलाकारहरु कति पात्रको रुपमा निस्के भन्ने कुरा हेर्छु। जस्तै फिल्ममा एउटा कविको अभिनय गर्दाखेरी राजेश हमाल देखिनुभएन, किसानको भूमिकामा पनि राजेश देखिनुभएन। कथाको पात्र प्रत्यक्ष रुपमा प्रकट हुनुपर्यो। त्यो कलाकारिता हो। त्यसमा ग्ल्यामर, त्यो आफ्नै ठाउँमा छ। ग्ल्यामर अलिकति घुसाउनु अनिवार्य भइसक्यो। तर, ती फिल्मका अंग होइनन्। बिनासित्ति राखिएका हुन्। सिनेमामा व्यक्तिगत चरित्रमा विश्वसनीय तरिकाले प्रस्तुत हुनुपर्छ।'

ओलीले नेपाली फिल्मलाई विश्व बजारमा सफलता दिलाउनका लागि यसको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए।

'हामीले सिनेमालाई प्रोत्साहन गर्न सक्छौँ। मुख्य कुरा सिनेमा पहिलेकोजस्तो सरकारले बनाउने समय रहेन। निर्माताहरुले एउटा फिल्म बनाइहालौँ न भनेर लहडमा फिल्म बनाउनुभएन। स्तरीय फिल्म बनाउनेतर्फ ध्यान दिनुपर्छ। हाम्रो देशमा धेरै जनसंख्या छैन। जसकारण स्तरीय फिल्म बनाएर विश्वबजारसम्म लानुपर्छ,' ओलीले भने।

केही समयअघि केपी ओली रमित ढुंगानाको फिल्म 'नमेटिने घाउहरु' मा प्रधानमन्त्रीको भूमिकामा देखिन लागेको खबर चर्चामा थियो। 'साँच्चिकै प्रधानमन्त्री बनेको व्यक्ति किन फिल्ममा देखिन लागेको' भन्दै एक दर्शकले जिज्ञासा राखे।

जसको उत्तरमा ओलीले भने, 'मैले एसिड आक्रमणको बारेमा धेरै कुरा गरेको छु। एसिड आक्रमण गर्नेलाई कसरी कडा कसरी कारबाही गर्न सकिन्छ। यसलाई रोक्ने प्रयास गरेकोले उहाँहरुले मेरो अनुहार समेट्न खोज्नुभएको जस्तो लाग्छ। यथार्थलाई अभिनयसँग जोडिँदा म समेटिएको हुँ। नत्र त मेरो सिनेमामा खेल्ने रुचि छैन। किनकि सिनेक्षेत्रमा उहाँजस्तो महानायक हुनुहुन्छ। यो बेलामा आएर मैले अभिनय सिक्ने कुरा पनि भएन।'

‌राजेश हमाललाई ह्यान्डसम भन्दै ओलीले विचारदेखि बौद्धिकता र शालीन व्यक्तित्वदेखि अभिनय र समाजसँग घुलमिल हुन सीपबाट आफू निकै प्रभावित रहेको सुनाए।

सट्टामा हमालले पनि ओलीको प्रशंसा गरे। 'मलाई सबैसँग एकै हिसाबले प्रस्तुत हुने तपाईंको तरिका मन पर्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .