ad ad

गण्डकी


आकर्षक बन्दै ‘ऐतिहासिक सत्र पोखरी’

आकर्षक बन्दै ‘ऐतिहासिक सत्र पोखरी’

स्याङ्जास्थित ऐतिहासिक सत्र पोखरी


नेपालखबर
चैत १३, २०७९ सोमबार १८:१, स्याङ्जा

स्याङ्जाको वालिङ १४ कपासेस्थित ऐतिहासिक सत्र पोखरीमा भौतिक पूर्वाधार निर्माण गरेसँगै पर्यटकको आवागमन बढ्दै गएको छ। अग्लो पहाड र सम्म परेको रमणीय भूभाग सत्र पोखरीमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको केन्द्र भएकाले यहाँ भौतिक पूर्वाधार निर्माण गरिएको हो। पूर्वाधारबिना पनि यहाँ वनभोज खाने तथा घुम्न विशेष गरी आन्तरिक पर्यटक पुग्ने गरेका थिए। आन्तरिक पर्यटकको रोजाइको स्थल बन्दै गएपछि यसलाई थप व्यवस्थित गर्न पूर्वाधार निर्माणमा जोड दिइएको वडाध्यक्ष बोधराज कुँवर (राजु) ले बताए। 

‘समथर भूभाग र ऐतिहासिक महत्त्वको स्थान सत्र पोखरीलाई व्यवस्थित गर्न पूर्वाधार निर्माण गरिरहेका छौंँ’, उनले भने, ‘यस ठाउँको गुरुयोजना बनाएर काम अगाडि बढाएका छौंँ, पूर्वाधार निर्माण भएसँगै थप पर्यटक आउने विश्वास छ।’ गत वर्ष वालिङ नगरपालिका कार्यालयबाट रु तीन लाख खर्च गरी दुई वटा पोखरी निर्माण गरिएको छ। 

चालु आर्थिक वर्षमा गण्डकी प्रदेशअन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट रु दश लाख विनियोजन भएको छ। 

उक्त ठाउँमा पोखरी, धारा, शौचालय, वनभोज खानका लागि ट्रस, विद्युत्, पार्क निर्माणको काम भइरहेको छ। ‘यहाँ वनभोज आउनेहरु आफैँ पानी बोकेर आउनुपर्थ्यो, बिजुली थिएन, समस्या थियो’, उनले भने,‘अहिले व्यवस्थित पार्कसहित वनभोज खान आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण भएका छन्, क्रमशः अरु काम गर्छौं।’

यस ठाउँमा स्याङ्जासहित छिमेकी जिल्ला पर्वतका विभिन्न ठाउँबाट घुम्न तथा वनभोजलाई मानिस आउने गरेका ऐतिहासिक सत्र पोखरी पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष बलबहादुर थापाले बताए। ‘यहाँ व्यवस्थित नहुँदा र आवश्यक पूर्वाधारको अभावकाबीच त वनभोज खान र घुम्न आउनेको भीड लाग्ने गर्थ्यो ’, उनले भने, ‘अब त झनै सहज भएको छ, पक्कै पनि सङ्ख्या वृद्धि हुनेछ।’ 

तीनवटा पोखरी निर्माण भएका छन्। अरु चौधवटा थप गरी यहाँको ऐतिहासिक महत्त्वलाई प्रचार र संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटकको केन्द्रका रुपमा विकास गर्ने लक्ष्य रहेको उपभोक्ता समितिका अध्यक्ष थापाले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .