ad ad

गण्डकी


पोखरामा चार दिनको शिशु मृत फेला

अस्पतालबाट डिस्चार्ज भएपछि जन्माउनेले नै शिशुलाई बाटैमा छाडे
पोखरामा चार दिनको शिशु मृत फेला

नेपालखबर
असोज १४, २०८१ सोमबार २०:३५, पोखरा

पोखरा महानगरपालिका १४ चाउथे विजयपुर खोलाको ओरालोमा नवजात शिशु मृत फेला परेको छ। मृत भेटिएको शिशुको जन्म यहाँको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल)मा भएको पुष्टि भएको छ। 

मृत शिशु राखिएको जेब्रा झोलामै जन्मदर्ताको कागज भेटिएको हो।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक भरतबहादुर खत्रीले सो शिशु र आमा अस्पतालबाट सकुशल डिस्चार्ज भएको पुष्टि गरे। उनका अनुसार नुवाकोट बेलकोटकी सुभद्रा लामिछाने असोज ११ गते अस्पतालको प्रसूती कक्षमा भर्ना भएकी थिइन्।

सोही दिन शिशुलाई जन्म दिएकी उनको १२ गते अस्पताले डिस्चार्ज गरेको थियो। अस्पतालले डिस्चार्ज गराउँदा दिने शिशुको जन्मदर्ता प्रमाणपत्रमा आमाको नाम सुभद्रा र पिताको नाम गोविन्द लामिछाने लेखिएको छ। 

‘बच्चा डिस्चार्ज भएर गएको बर्थ सर्टिफिकेट लिएर गएको रहेछ। बच्चा सकुशल भएकै कारण डिस्चार्ज हुने हो। बिरामी भएको भए उपचार हुन्थ्यो,’ उनले भने।

सोमबार बिहान स्थानीय ब्लक उद्योगमा काम गर्ने ओमबहादुर दर्जीले नालामा नयाँ जेब्रा झोला र प्लाष्टिकको बाटा देखेका थिए।

उनका अनुसार जेब्रा झोलाको चेन खुल्लै थियो। भित्रको ब्ल्याङकेट बाहिरबाटै देखिन्थ्यो। छाम्दा भित्र गिलो भएपछि हेर्दा बच्चा देखिएको उनले सुनाए।

त्यहीँ आइपुगेका नरेन्द्र बुुढाथोकीसँग  झोलाभित्र बच्चा भएको सुनाएपछि नरेन्द्रले नै झोलालाई खाल्डोबाट निकालेर डिलमा राखेका थिए। उनीहरूले नै खबर गरेपछि प्रहरी त्यहाँ पुगेको थियो।

उनीहरू दुवैले  बिहानको समयमा झोला त्यहाँ ल्याएर राखेको अनुमान लगाए।

यता, प्रहरीले चाहिँ शिशु छाडेर हिँड्ने दम्पतिको खोजी थालेको छ। 

प्रहरीले उनीहरूले अस्पतालमा पेस गरेको बाबुआमाको नामसमेत नक्कली हुनसक्ने अन्दाजसमेत लगाएको छ।

प्रहरी स्रोतका अनुसार अस्पतालका अन्य परीक्षणको क्रममा र जन्मदर्ताको प्रमाणपत्रमा फरक नाम पाइएकोले यो घटना हाडनातासँग जोडिएको वा अन्य केही हुनसक्ने अनुमान गरिएको छ।

अस्पतालका निर्देशक डा. खत्रीले डाक्टरको काम उपचार गर्नेमात्र भएको र सुत्केरी हुन आएकालाई सुत्केरी गराइएको र अस्पतालले उपचारबाहेक धेरै निधिखोजी नगर्ने बताए।

‘यहाँ आउँदा कतिले आफ्नो नामै फेर्छन। कतिले गाउँ। शंका लाग्यो भने मात्र चेक गर्छौँ नत्र त आमाले बच्चा जन्माउन आयो भनेपछि हाम्रो काम त उपचार गर्ने नै हो। त्योभन्दा अन्य सोधखोज गर्ने पाटो हाम्रो होइन,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .