ad ad

ग्लोबल


बदनाम तानाशाहका छोरा फिलिपिन्सको राष्ट्रपतिमा कसरी निर्वाचित भए?

बदनाम तानाशाहका छोरा फिलिपिन्सको राष्ट्रपतिमा कसरी निर्वाचित भए?

नेपालखबर
बैशाख २८, २०७९ बुधबार १९:१९, काठमाडौँ

फिलिपिन्सको राष्ट्रपतीय निर्वाचनमा फर्डिनान्ड ‘बङबङ’ मार्कोस जुनियरले सानदार विजय हासिल गरेका छन्। मार्कोस फिलिपिन्सका बदनाम तानाशाह फर्डिनान्ड मार्कोस र आडम्बरी प्रथम महिला इमेल्दा मार्कोसका सन्तान हुन्। 

शपथ लिएपछि उनी त्यही राष्ट्रपति भवनमा भित्रिनेछन्, जहाँबाट उनको परिवार १९८६ मा हेलिकोप्टर चढेर भागेको थियो। 

मार्कोस सिनियर १९६५ देखि १९८६ सम्म सत्तामा रहे। जसमध्ये १४ वर्ष सैनिक शासन रह्यो। उनको शासनको मुख्य चरित्र थियो, अनियन्त्रित भ्रष्टाचार विरोधीलाई जेल, यातना र गैरकानुनी हत्या। मार्कोसले सरकारी कोषबाट अनुमानित १० अर्ब डलर कुम्ल्याएपछि उनी विश्वभर कुख्यात भएका थिए। एमनेस्टी इन्टरनेसनलका अनुसार उनको शासनमा ७० हजार जना जेल परेका थिए, ३४ हजारलाई यातना दिइएको थियो भने ३ हजारलाई मारिएको थियो।

अन्तिममा पिपुल्स पावर नाम दिइएको जनविद्रोह भएपछि अमेरिकाले उनलाई भाग्न मद्दत गरेको थियो। सो परिवार नगद, गरगहना, सुनको इँट, प्राचीन सामग्री, विदेशी बैंक खातासहित भागेर अमेरिकाको हवाइ पुगेको थियो।

अहिले पनि ९२ वर्षीया इमेल्दा मार्कोस जमानतमा छिन्। सम्पत्ति लुकाएको भन्दै अदालतले २०१८ मा उनलाई ११ वर्ष सजाय दिएको थियो। त्यसलाई खारेज गर्न उनले माग गरेकी छन्। 

यति धेरै बदनामी कमाएको परिवारका सदस्य मार्कोस जुनियरले अहिले कसरी चुनाव जिते त?

यसको एउटा कारण हो– फिलिपिन्समा हाबी वंशीय राजनीति। चुनाव जित्ने सवालमा वंशीय राजनीतिले ठूलो प्रभाव पार्छ।

अत्यन्त धनी मार्कोस परिवार फिलिपिन्सको सबैभन्दा शक्तिशाली वंशमध्ये एक हो। यो वंशको प्रशंसा गर्ने फिलिपिनीहरु थुप्रै छन्। खासगरी मार्कोस सिनियरको सैनिक शासन नभोगेका युवाहरु। 

अध्येताहरुका अनुसार हालै चुनाव जितेका राजनीतिकर्मीहरुमध्ये धेरैजसोको कम्तीमा एक जना नातेदार उच्च पदमा छन्। 

मार्कोस परिवारको राजनीतिमा पुनरागमन अचानक भएको होइन। तानाशाह मार्कोस सिनियरको मृत्युपछि १९९१ मा यो परिवार हवाइबाट स्वदेश फर्केको थियो। त्यसबेला मनिलाको संस्थापनले उनीहरुलाई बेवास्ता गर्यो।

अर्को वर्ष इमेल्दा मार्कोसले राष्ट्रपतीय निर्वाचनमा उठ्ने असफल प्रयास गरिन्। तर, १९९५ मा संसदमा उनी निर्वाचित भइन्। 

मार्कोस जुनियर र उनकी बहिनी इमी पहिले स्थानीय राजनीतिमा प्रवेश गरे। मार्कोस जुनियर १९९८ मा आफ्नो क्षेत्रको गभर्नर बने भने २०१० मा सिनेटर।

१९८६ मा फर्डिनान्ड मार्कोस पत्नी इमेल्दा र छोरा मार्कोस जुनियर (सबैभन्दा दायाँ) का साथमा मलकानांग दरबारको बार्दलीमा।

त्यसपछि मार्कोस परिवारसँग अर्को शक्तिशाली वंशको गठबन्धन भयो। तानाशाह मार्कोसको शव २० वर्षदेखि पारिवारिक चिहानमा काँचको शोकेसमा राखिएको थियो। त्यसलाई २०१६ मा राष्ट्रपति रोड्रिगो डुटेर्टेले मनिलास्थित सेमेटेरी अफ हिरोजमा लगेर दोस्रो पटक समाधिस्थ गरे। 

यो चुनावमा राष्ट्रपति पदमा मार्कोस जुनियर उठेका थिए भने उपराष्ट्रपतिमा डुटेर्टेकी लोकप्रिय छोरी सारा उठेकी थिइन्। सारासँगको गठबन्धनबाट मार्कोसको चुनावी अभियान निकै बलियो बन्न पुग्यो। किनभने उत्तरी फिलिपिन्समा मार्कोस परिवारका समर्थक धेरै छन् भने दक्षिणी फिलिन्पिसमा डुटेर्टेका।

‘मार्कोस–डुटेर्टे सँगै उठ्नु भनेको एकदम बलियो टिकट हो,’ कोलम्बिया जर्नालिजम स्कुलकी प्राध्यापक शिला कोरोनेल भन्छिन्, ‘छुट्टाछुट्टै चुनाव लडेको भए उनीहरुबीच प्रतिस्पर्धा हुन्थ्यो र यति सजिलै जित्ने थिएनन्।’

त्यस्तै, विश्लेषकहरुका अनुसार कुप्रचार र इतिहासको झुटा व्याख्याले पनि मार्कोस परिवारको पुनरागमनको बाटो तय गरेको छ। 

युट्युबमा २०२० मा एउटा भिडिओ पोस्ट भएको छ। जसमा दाबी गरिएको छ– सयौँ वर्षअघि फ्रान्सेली ज्योतिषी नास्त्रोदमसले मार्कोस जुनियर राष्ट्रपति बन्ने भविष्यवाणी गरेका थिए। चुनाव नजिकिँदै जाँदा यस्ता प्रचार अझ सघन भएका थिए। 

दशकौँदेखि मार्कोसको तानाशाहीका खराब पक्षलाई ढाकछोप गर्ने प्रयास गरिँदै आएको थियो। चुनाव आउन थालेपछि होसियारीपूर्वक त्यसलाई अनलाइनमा जोडदार रुपमा फैलाउन थालियो।

‘अहिले एउटा सिंगो पुस्ता मतदाता बनेको छ, जसले मार्कोसको शासन र सो तानाशाहीले ल्याएको संकट देखेको थिएन,’ मनिलास्थित एटेनो स्कुल अफ गभर्नमेन्टका डिन रोनाल्ड मेन्डोजा भन्छन्।

सारा डुटेर्टे

मार्कोसको तानाशाहीलाई फिलिपिन्सको इतिहासको सुनौलो युगका रुपमा व्याख्या गर्दै बनाइएको भिडिओ अनलाइनमा छ्यासछ्यास्ती पाइन्छन्। तिनमा भ्रष्टाचार गरेर मार्कोस परिवारले कमाएको अर्बौं डलर सुनबाट कमाएको, तानाशाहीका बेला फिलिपिन्स ‘एसियाको सबैभन्दा बलियो र सबैभन्दा ख्यातिप्राप्त मुलुक’ भएको दाबी गरिएका छन्।

‘सैनिक शासनकालको निकै झुटा प्रशंसा हुने गरेका छन्। आर्थिक रुपले त्यो फिलिपिन्सको सुनौलो युग भनिएको छ,’ मेन्डोजा भन्छन्, ‘त्यो झुट हो। ती वर्षहरु मानवअधिकारका हिसाबले भयानक थिए भने अर्थतन्त्रका लागि पीडादायी।’

फिलिपिन्स सन्धिमार्फत अमेरिकाको घोषित सहयोगी हो। अर्कोतिर, दक्षिण चीन सागर विवादको एक पक्ष पनि हो। वर्तमान राष्ट्रपति डुटेर्टेको कार्यकालमा अमेरिकासँग उनको सम्बन्ध सुमधुर रहन सकेन। चीनसँग मौखिक विवाद भए पनि सम्बन्धमा समस्या आएन।

उनले अमेरिका भ्रमण पनि गरेनन्। तर, २०२० मा उनकी छोरी साराले अमेरिकाको भ्रमण गरिन्, जसले अब उपराष्ट्रपतिको कार्यभार सम्हाल्नेछिन्। 

‘मार्कोस जुनियर डुटेर्टेभन्दा अलि बढी चीनपक्षीय हुनसक्छन्। तर उनले डुटेर्टेकै नीतिलाई निरन्तरता दिने बताएका छन्,’ युनिभर्सिटी अफ फिलिफिन्सका राजनीतिशास्त्रका प्राध्यापक आरिए आरुगे बताउँछन्।

‘डुटेर्टेको विदाईले अमेरिका–फिलिपिन्स सम्बन्धका समस्या हट्नेछन्,’ युरोसिया ग्रुपका दक्षिणपूर्वी एसिया विश्लेषक पिटर ममफोर्ड भन्छन्, ‘वासिङ्टनले ठ्याक्कै चाहेको नतिजा यो नभए पनि अमेरिका र चीन दुवै यसबाट खुसी हुनेछन्।’

(फाइनान्सियल टाइम्स र एसिया टाइम्सको सहयोगमा) 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .