बहुचर्चित गीत ‘ए कान्छा मलाई सुनको तारा’ का गायक रुद्रमणि गुरुङको सोमवार बिहान निधन भएको छ।
स्वर साम्रज्ञी अरुणा लामासँग उनले यो गीत गाएका थिए। पासाङ वाङबलको शब्द र अम्बर गुरुङको सङ्गीतमा १९५९ ताका रेकर्डिङ भएको यो गीत बहुचर्चित बने तापनि उनी गायनबाट ओझेल बनेका थिए। जानकारीका अनुसार उनले त्यसपछि एकाध गीत त गाएका थिए, तर तीमध्ये धेरजसो रेकर्डिङ हुन सकेनन्।
सङ्गीतकार कर्मा योञ्जनले दिएको जानकारीका गायक ८४ वर्षीय गुरुङको आज बिहान करिब ११ बजी सिलगढ़ीस्थित नर्थबेङ्गल नर्सिङ होममा निधन भएको हो। उनलाई चार दिनअघि उक्त नर्सिङ होममा भर्ती गरिएको थियो।
जानकारीका अनुसार बूढ्यौलीका कारण उनी विभिन्न रोगले ग्रसित थिए। आजै उनको शवलाई दार्जीलिङको क्विन्स हिलस्थित घरमा लगिएको छ भने बुधवार अन्तिम संस्कार गरिने बताइएको छ।
Shares
प्रतिक्रिया