बेलायतमा कोरोना संक्रमणबाट ६ जना नेपालीको मृत्यु भएको छ। बितेका दुई दिनमा चार नेपालीले ज्यान गुमाएका हुन्।
पछिल्लो पटक बुधबार बेलायतको ननिटन निवासी ५६ वर्षीय भूतपूर्व गोर्खा मेखबहादुर गुरुङको कोरोना संक्रमणबाट निधन भएको छ।
पुख्र्यौली घर पर्वत जिल्लाको भोक्सिङ देउरालीका गुरुङलाई स्वास्थ्य स्थिति खराब भएपछि अस्पताल भर्ना गरिएको थियो। अस्पतालले उनको मृत्यु कोरोनाका काराण भएको जानकारी परिवारलाई दिएको छ।
यसअघि बेलायतमा कोरोनाका कारण भूपू गोर्खा सैनिक लीलाबहादुर राई, प्रशान्त अर्याल, चेतप्रसाद गुरुङ, शिव श्रेष्ठ तथा नातिको विवाहमा बेलायत आएका अर्का एक ७० वर्षीय नेपालीको मृत्यु भएको थियो।
बुधबार मृत्यु हुने गुरुङलाई यसअघि कुनै स्वास्थ्य समस्या नरहेको पर्वत वेल्फेयर सोसाइटी यूकेका अध्यक्ष नेत्र आलेले नेपालखबरलाई बताए। ‘उहाँ स्मार्ट स्पोर्ट्सम्यान हुनुहुन्थ्यो’, उनले भने।
लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरणले मृतक नेपालीका परिवारहरुलाई नेपाली दूतावासको तर्फबाट फोन गरेर समवेदना प्रकट गरेको नेपालखबरलाई बताए। आरणले बेलायतबासी नेपालीहरुलाई घरमै सुरक्षित भएर बस्न पनि आग्रह गरे।
यसैगरी बेलायतका लागि नेपाली राजदूत डा.दुर्गा बहादुर सुवेदीले सामाजिक सञ्जाल ट्विटरबाट बेलायतबासी नेपालीहरुलाई सपरिवार सुरक्षित बस्न आग्रह गरेका छन्। फुर्सदको समयमा आफना बालबालिकाहरुलाई मातृभाषा नेपाली सिकाउन उनले अनुरोध गरेका छन्।
मार्च १९ यता वेलायतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको हो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को पछिल्लो विवरणअनुसार बेलायतमा कोरोनाबाट ६० हजार ७३३ संक्रमित छ। १३५ जना निको भएका छन्।
प्रतिक्रिया