अन्तर्वार्ता


चुनावमा अरु पार्टी एकठाउँ उभिए भने कांग्रेस पनि गठबन्धनबाटै अगाडि बढ्छ : एनपी साउद (अन्तर्वार्ता)

चुनावमा अरु पार्टी एकठाउँ उभिए भने कांग्रेस पनि गठबन्धनबाटै अगाडि बढ्छ : एनपी साउद (अन्तर्वार्ता)

एनपी साउद भन्छन्– शेखर कोइरालालाई पेलेर पार्टी एकता सुनिश्चित हुँदैन (तस्बिरः विक्रम राई)


केशव सावद
माघ १२, २०७८ बुधबार १४:६, काठमाडौँ

एनपी साउदलाई नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको चर्चा सुरु भएदेखि नै संस्थापन समूहबाट महामन्त्रीको एक दाबेदार मानिएको थियो। सभापति शेरबहादुर देउवाले आफ्नो टिमभित्रका महामन्त्रीका दाबेदारहरु बालकृष्ण खाणलाई गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चारमन्त्रीको जिम्मेवारी दिएकाले साउदलाई महामन्त्रीको स्वाभाविक उम्मेदवार मानिएको थियो।

देउवाले प्रदेशहरुबाट उम्मेदवार टुंगो लगाउने जिम्मा दिँदा पनि सुदूरपश्चिमको जिम्मा नेता साउदलाई नै दिएका थिए। साउदलाई महामन्त्रीको उम्मेदवार बनाउनुपर्छ भन्दै विभिन्न जिल्लाका ३०० भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले बालुवाटारमा धर्नासमेत दिए। तर, साउदले महामन्त्रीको टिकट पाएनन्। संस्थापन समूहबाटै केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरे। निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा साउद डा. शशांक कोइरालापछि सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भए। उनले केन्द्रीय सदस्यमा २ हजार ९ सय ३७ मत ल्याएका थिए। 

कांग्रेसभित्रका विभिन्न राजनीतिक विवाद समाधानका लागि मध्यस्थकर्ताको भूमिका खेल्ने साउदलाई कांग्रेसकै नेताहरुले कुशल संगठक र सहजकर्ताको रुपमा चित्रण गर्छन्। उनै नेता एनपी साउदसँग नेपालखबरले गरेको कुराकानीः​

१४ औँ महाधिवेशनमा महामन्त्रीको आकांक्षी हुनुहुन्थ्यो। टिकट पाउनु भएन। तर, केन्द्रीय सदस्यमा लोकप्रिय मतका साथ विजयी हुनुभयो। लगत्तै गृहजिल्ला जानुभयो। पार्टीले खटाएको थियो कि आफ्नै ढंगले जानुभएको?
यो इलेक्सन इयर पनि हो। महाधिवेशनमा लामो समयसम्म हामीले प्रजातान्त्रिक अभ्यास गर्यौं। यो प्रजातान्त्रिक अभ्यासका कारणले अलिअलि हारजित पनि भएको छ।

वडामा, गाउँ/नगरमा, प्रदेश क्षेत्रमा, संघीय क्षेत्रमा, जिल्लामा पनि निर्वाचन भएको छ। सबै साथीहरुलाई समायोजन गरौँ, सबै साथीहरुलाई एकजुट पारौँ। लोकतान्त्रिक पार्टीभित्र निर्वाचन सामान्य कुरा हो, यसलाई ठूलो अर्थमा लिनुहुन्न। यसलाई सामान्य रुपमा लिनुपर्छ र पार्टीलाई एकजुट बनाएरै अगाडि बढ्नुपर्छ भन्ने सन्देश जाओस् भनेर मैलै साथीहरुसँग भेटघाट गरेको हुँ। 

१४ औँ महाधिवेशनपछि अहिले नेपाली कांग्रेस के गर्दैछ?
१४ औँ महाधिवेशन ऐतिहासिक थियो। यसले नेपाली कांग्रेस नेपालको मात्रै नभएर दक्षिण एसियाकै सबैभन्दा लोकतान्त्रिक पार्टी हो भन्ने पुष्टि गरको छ।

भिडिओ

नौ लाखभन्दा बढी क्रियाशील सदस्यहरु विभिन्न तहमा जसरी प्रजातान्त्रिक प्रणाली र प्रक्रियाअनुसार निर्वाचनमा सामेल भएर आफ्ना प्रतिनिधि छनौटका लागि होमिनुभयो, त्यसले प्रजातान्त्रिक संस्कृतिलाई एउटा प्रतीकात्मक अर्थमा मात्रै नेपाली कांग्रेसले लिँदैन। यो सांस्कृतिक रुपमै नेपाली कांग्रेसको लागि अत्यन्तै जरुरी छ। नेपाली कांग्रेस लोकतन्त्रलाई आत्मसाथ गरेको पार्टी हो भन्ने कुराको सन्देश गाउँठाउँमा गएको छ। 

अर्को कुरा, नेपाली कांग्रेस एकजुट छ– कमसेकम अधिवेशनका सन्दर्भमा, निर्वाचन प्रणालीका सन्दर्भमा या अधिवेशनबाट नेतृत्वलाई निरन्तरता दिने वा प्रतिस्थापन गर्ने प्रक्रिया–पद्धतिका बारेमा पनि पार्टीभित्र एकजुट छ भन्ने किसिमको सन्देश गएको छ। यसले आम निर्वाचन, प्रदेश निर्वाचन, स्थानीय तहको निर्वाचनको ठीक अगाडि भएको प्रजातान्त्रिक अभ्यासबाट पार्टीमा नयाँ रक्तसञ्चार भएको छ। 

महाधिवेशनले नयाँ रक्तसञ्चार भएको छ भन्नुभयो। बाहिरबाट हेर्दा त नेपाली कांग्रेसमा प्रस्ट रुपमै २ गुट देखिन्छन्। गतिविधि पनि त्यसै गरी भइरहेका छन् नि?
पार्टीभित्र यसपालिको निर्वाचनमा दुई वटा मात्रै देखिएनन्। ४–५ वटा समूह बनेरै निर्वाचन लडेको देखियो। विभिन्न विचार समूहहरूले आ–आफ्नो विचार र सोचलाई पार्टीका महाधिवेशन प्रतिनिधिहरुको माझ लैजाने काम भयो। त्यहाँबाट म्यान्डेट लिने कोसिस गर्नुभएको जस्तो देखिन्छ। एउटा प्रजातान्त्रिक प्रणालीभित्र विभिन्न मतहरु प्रतिस्पर्धाको विषय बन्नु अथवा प्रतिस्पर्धाको एजेन्डा बनेर पार्टीको महाधिवेशन प्रतिनिधि–कार्यकर्ताका माझ जानुलाई हामीले सकारात्मक रुपमै लिनुपर्छ।​

महाधिवेशनपछि पदस्थापन समारोहमा सभापति शेरबहादुर देउवाले सबैलाई मिलाएर लैजान्छु भन्नुभएको थियो। अहिले एकलौटी गरिरहेको आरोप इतर समूहले लगाइरहेको छ त? 
पूर्णतः एकलौटी गरिराख्नुभएको छ भन्ने कुरामा म त्यति सत्यता देख्दिनँ। उहाँ (सभापति देउवा) ले पार्टी सभापतिका उम्मेदवार सबै साथीहरुको समायोजन गर्नुभएको छ। 

कतिपय पदाधिकारीमा लड्नुभएका साथीहरु पनि आउनुभएको छ। केन्द्रीय समितिभित्र मनोनित गर्नुपर्ने अहिले पनि बाँकी छ। मलाई लाग्छ सम्भावित साथीहरुलाई यो वा त्यो पक्षका भनेर परहेज गर्न जरुरी छैन। महत्वपूर्ण साथीहरु जुनसुकै समूहका भए पनि उहाँहरुलाई पार्टी सभापतिले समेट्नु हुनेछ। र, समेटिने साथीहरुले केन्द्रीय कार्यसमितिमा बसेर आफ्नो भूमिका निर्वाह गर्नुहुनेछ।

निकटतम् प्रतिद्वन्द्वी डा. शेखर कोइरालालाई पेलेरै गयो भने नेपाली कांग्रेस बलियो हुने हो? 
होइन, पार्टीभित्र कसैलाई पनि पेल्नु हुँदैन। झन निकटतम् प्रतिद्वन्द्वीसँग विजयी उम्मेदवारभन्दा फरक मतहरु हुन्छन्। त्यसकारण पार्टीभित्र साढे १८ सय मत ल्याएर शेखर कोइराला दोस्रो हुनुभएको छ। उहाँलाई निषेध गरेर, बाहिर राखेर अथवा तपाईंले भने जस्तै पेलेर पार्टीको एकता सुनिश्चित हुन सक्दैन। 

विधानले पनि पार्टीको सभापतिको निकटतम् प्रतिद्वन्द्वीलाई केन्द्रीय कार्यसमितिमा पदेन सदस्यका रुपमा राख्ने भन्ने प्रबन्ध गरिसकेको अवस्था छ। पार्टी सभापतिले सबैलाई मिलाएर लैजान्छु भनेर लगातार भनिराख्नुभएको छ। फरक मतलाई पेलेर लैजाने सोच उहाँ (देउवा) मा मैले पाएको छैन।   

यस पटक पार्टीका विभागहरु समयमै गठन हुन्छन् त? 
विगतबाट हामीले पाठ सिक्नुपर्छ। विगतमा ढिला भयो। अबेला भयो। कुबेलामा हामीले विभाग गठन गर्यौँ। त्यसले आपसमा पार्टीभित्र सहमति पनि हुन सकेन। विभागहरुको गठन विवादमा पर्यो। विवादका बीच विभागहरु गठन भएपछि जुन पार्टीको कार्यक्षमतामा अभिवृद्धि हुनुपथ्र्यो, पार्टी ज्यादा प्रभावकारी ढंगले क्रियाशील हुनुपथ्र्यो, त्यो अवसरबाट हामी वञ्चित रह्यौं। 

त्यसकारण अहिले विधानको दायराभित्रै सबै कुरा राख्नुपर्छ। विधानले निर्धारित समयभित्रै पार्टीका संरचनाहरु पुरा हुनुपर्छ। र, पार्टी प्रभावकारी किसिमले संस्थागत रुपमा अगाडि बढ्नुपर्छ। 

विभाग गठन हुँदै गर्दा अब तपाईंले पार्टीको संगठन विभाग प्रमुख ताकिरहेको सुनिन्छ। फेरि, तपाईंको नाम पार्टी प्रवक्ताका रुपमा पनि चर्चा भइरहेको छ। के हो यथार्थ?
मैले केही खोजेको छैन। कुन मान्छेलाई के भूमिका दिनुपर्छ, के दिनुहुन्न भन्ने पार्टीले निर्णय गर्ने कुरा हो। तर, तपाईंले भनेको जस्तो भूमिका मैले खोजेको छैन। म पनि कहिलेकाहीँ मिडियामा पढ्छु। त्यो मेरालागि नौलो विषय हो। मैले त्यस्तो कुनै भूमिका खोजेको छैन। पार्टीलाई जहाँ जरुरत हुन्छु म आफ्नो ठाउँबाट सदस्यको रुपमा सहयोग गरिराखेको छु।​

पाँच दलीय गठबन्धनको सरकार गठन भएको ६ महिना पुरा भयो। सरकारको मूल्यांकन कसरी गर्नुहुन्छ?
यो सरकार जनताबाटै आम निर्वाचनबाट म्यान्डेट लिएर गठन भएको होइन। यो जनताबाट म्यान्डेट लिएर गठन भएको सरकार असफल भएपछि बनेको सरकार हो। त्यसकारण सर्वसाधारणले पनि यो सरकारले धेरै काम गर्छ, तत्कालै धेरै कुरामा रुपान्तरण गर्छ भनेर अपेक्षा गरेको जस्तो लाग्दैन। 

तर पनि विगतका सरकारका काम गराइमा केही कमिकमजोरी र त्रुटिहरु छन्। त्यसलाई यो सरकारले सच्याउनेछ। बेरोजगारी बढेको छ। मुद्रास्फिति बढेको छ। महँगी बढेको छ। नेपाली दाजुभाइ–दिदीबहिनीहरु बाहिरी मुलुक जाने क्रम अहिले अलिकति घटेको छ। बाहिर जाँदा पनि गएकाहरुको सुरक्षा कति छ त्यो हेर्नुपर्ने, विचार गर्नुपर्ने परिस्थिति छ। यस्ता कुरामा सरकार संवेदनशील हुनुपर्छ।   

सँगसँगै अबको वर्ष तीन तहको निर्वाचन हामीले सम्पन्न गर्नुपर्ने दायित्व छ। यसका लागि राष्ट्रिय सहमति खोज्नुपर्ने हुन्छ। जसले जेसुकै भने पनि प्रजातन्त्र हामी कहाँ बाल अवस्थामै छ। यो परिपक्व हुन सकेको छैन। यो संविधानअन्तर्गत एउटा मात्रै चुनाव भएको छ। दोस्रो चुनावको हामी पूर्वसन्ध्यामा छौं। त्यसकारण हामीकहाँ सहमतिको आवश्यकता छ। र, राष्ट्रिय सहमति सबै दलहरुलाई एक ठाउँमा ल्याएर मात्रै हुन सक्छ।  

त्यो काममा हाम्रो सभापति परिपक्व पनि हुनुहुन्छ। पटकपटक राज्य चलाएको, पार्टी चलाएको अनुभव छ। त्यो आधारमा पनि सबैलाई समेटेर उहाँ जानुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। 

सरकारको आलोचना बढेको छ। प्रधानमन्त्रीलाई जनअपेक्षा अनुसार काम गर्न के ले रोकेको हो? गठबन्धनका कारण त होइन? 
गठबन्धनको कुरा जहाँसम्म छ, हाम्रो निर्वाचनको जुन प्रबन्ध हामीले संविधानमा गरेका छौं, त्यसले गठबन्धनबाहेक अरु सरकार बन्ने धेरै कम सम्भावना मात्रै छ। समानुपातिक समावेशिताको कुराले कुनै न कुनै रुपमा गठबन्धन संस्कृतिमै जानुपर्ने अपरिहार्यता हाम्रा अगाडि आएको छ। 

त्यसकारण एकल पार्टी सरकार बन्ने हो भने त ‘डाइरेक्ट इलेक्सन सिस्टम’ मा जानुपर्छ। हामी कहाँ प्रत्यक्ष सबै सिटहरु आम निर्वाचनबाट तय हुन्थ्यो। त्यो प्रक्रियामा जानुपर्छ। गठबन्धन हाम्रो संविधानको, हामीले अपनाएको निर्वाचन पद्धतिको एउटा अंग हो। गठबन्धन गरिसकेपछि सबैलाई मिलाएर लैजानुपर्ने, सबैका एजेन्डालाई सम्बोधन गर्नुपर्ने अपरिहार्यता हुन्छ र यो सरकार र हाम्रो पार्टीसँग त्यो बाध्यता छ। 

पाँच दलीय गठबन्धन कहिलेसम्मका लागि हो? 
पाँच दलीय गठबन्धन त तत्कालका लागि सरकार बनाउन र सरकार सञ्चालन गर्न बनेको हो। अब परिस्थितिले माग गर्यो भने अलि अगाडिसम्म जान्न सक्छ।​

देशभर जनाधार भएको मुलुककै पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस एक्लै निर्वाचनमा जान किन डराएको?
होइन, हामी एक्लै निर्वाचनमा जान चाहन्छौँ। हाम्रो पहिलो रोजाइ एक्लै निर्वाचनमा जाने हो। तर, एक्लै निर्वाचनमा जाने नाउँमा हामीबाहेकका अरु सबै राजनीतिक पार्टीहरु एकठाउँमा आए भने हाम्रा जटिलताहरु थपिन्छ। 

योभन्दा अघिको निर्वाचनमा यही घटना भएको थियो। सबै पार्टी आआफ्नो किसिमले निर्वाचनमा जाने हुन् भने ठीकै छ। सबै पार्टी आआफ्नो किसिमले निर्वाचनमा जाने होइनन्, गठबन्धन नै बनाएर जाने हुन् भने हामी पनि गठबन्धनबाटै अगाडि बढ्न सक्छौं। 

स्थानीय तहको निर्वाचन आगामी वैशाख, जेठमै गर्दा के बिग्रिन्छ?
स्थानीय तहको निर्वाचन वैशाख–जेठमा गर्दा बिग्रिन्न। त्योभन्दा पछाडि गर्दा पनि बिग्रने खास कुरा केही होइन। स्थानीय निर्वाचन समयमा हुनुपर्छ। संविधान र ऐन–कानुनले जे कुरा भन्छ त्यही बमोजिम अगाडि बढ्नुपर्छ।​

त्यसोभए नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन कहिले गर्न चाहेको हो?
नेपाली कांग्रेसमा स्थानीय तहको निर्वाचनका बारेमा २ कारणले बहस चलिरहेको छ। यो कांग्रेसभित्र मात्रै नभएर समग्र मुलुकभित्र बहस चलिरहेको विषय हो। एउटा संविधानको कारणले। संविधानमा नगरसभा र गाउँसभाको पदावधि पाँच वर्षको हुने भनिएको छ। पाँच वर्षपछि पदावधि सकिएको समयको ६ महिनाभित्र निर्वाचन हुनेछ भन्ने प्रबन्ध संविधानमा छ। 

ऐनमा त्योभन्दा अलि फरक प्रबन्ध छ। यसबीचको विरोधाभाषको कारणले अहिले अलिकति निर्धारित समयभन्दा निर्वाचन ढिलो जाने कुरा संविधानको परिकल्पना हो कि भनेर बहस चलिराखेको छ। तर, ढिलो गए पनि निर्धारित ६ महिनाभन्दा ढिलो जाँदैन। र, निर्धारित समयभन्दा ढिलो जाँदा संविधानको उल्लंघन हुने भएकाले हामी समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्छौं।

राष्ट्रिताको सवालमा यो सरकारले खुट्टा कमायो भन्ने छ। भारतीय हस्तक्षेपविरुद्ध बोल्न सकेन भन्ने आरोप लागिरहेको छ। यस्तो कूटनीतिले चल्छ र? 
राष्ट्रियताको सवालमा यो सरकारले खुट्टा कमाएको छैन। कमाउनु पनि हुन्न। योभन्दा अघिल्ला सरकारहरु खाली सार्वजनिक खपतका लागि मात्रै बोलिराखेका थिए। ज्यादा बहस गरिराखेका थिए। तर, अरु पार्टीसँग आफ्नो स्ट्रेन्थ, पोजिसन क्लियरकट राख्न हिच्किचाइराखेका थिए। हाम्रो पार्टीले आफ्नो पोजिसन अन्तर्राष्ट्रिय मञ्चमा पनि स्पष्ट राखेको छ। 

कांग्रेस सबैभन्दा पुरानो पार्टी हो। मुलुकको बाध्यता पनि बुझेको छ। मुलुकका अवसरहरु पनि बुझेको छ। यो अनुभवको आधारमा हामी कूटनीतिक किसिमले जति पनि समस्याहरु छन् तिनको निराकरण गर्न चाहन्छौं। 

खाली सार्वजनिक खपतका लागि, नाराका लागि, चुनावका लागि फन्डा जस्तो तयार पारेर जसरी भोट बटुल्ने काम एमालेले या नेकपाले विगतमा गरेको थियो, नेपाली कांग्रेस त्यसो गर्दैन। जिम्मेवार पार्टीको रुपमा सबै समस्याहरु विशेष गरेर छिमेकी देशका बीचमा रहेका समस्या पनि, अरु देशसँगका समस्या पनि समाधान गर्न चाहन्छ।   


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .