अन्तर्वार्ता


आत्मानन्द लिङ्देनबाट आशीर्वाद लिएको थिएँ, ‘विजयी’ चिट मेरो हात पर्यो : गोपाल बस्नेत (अन्तर्वार्ता)

‘झापामा अब केपी ओलीलाई हराउन धेरै सहज छ’
आत्मानन्द लिङ्देनबाट आशीर्वाद लिएको थिएँ, ‘विजयी’ चिट मेरो हात पर्यो : गोपाल बस्नेत (अन्तर्वार्ता)

केशव सावद
माघ १३, २०७८ बिहिबार १६:२८, काठमाडौँ

नेपाली कांग्रेसका नेता गोपाल बस्नेत बुधबार प्रदेश १ मा भएको राष्ट्रियसभा निर्वाचनमा गोला प्रथाबाट राष्ट्रिय सभा सदस्यमा विजयी भएका छन्। झापा निवासी बस्नेत खुलातर्फका उम्मेदवार थिए। उनीसँग प्रतिस्पर्धा गर्न नेकपा (एमाले) ले गुरु बराललाई उठाएको थियो। २०२७ सालदेखि कांग्रेसको राजनीति थालेका बस्नेत झापा कांग्रेसको सचिव भइसकेका नेता हुन्। उनी २०४८ सालमा सम्पन्न आठौँ महाधिवेशनमा झापा सचिवमा विजयी भएका थिए। बस्नेतका सभापति थिए– कृष्णप्रसाद सिटौला। 

नेता बस्नेत २०५१ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका तर्फबाट तत्कालीन झापा निर्वाचन क्षेत्र नम्बर ३ (हाल १) बाट उम्मेदवार थिए। २०२७/०२८ मा कांग्रेसको अभियानलाई गाउँ–गाउँ पुर्‍याउन नेता सिके प्रसाईंको चिठ्ठी पत्र ओसारपसारमा सहयोगी भूमिका निर्वाह गरेका बस्नेत २०४१ सालमा संगठन विस्तारका क्रममा नजरबन्द परे। उनले २०४६ सालको जनआन्दोलनमा समेत सक्रिय भूमिका निर्वाह गरेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र ७६ वर्षीय बस्नेतसँग नेपालखबरले गरेको कुराकानी : 

राष्ट्रियसभा निर्वाचनमा अन्तिम समयमा गोला प्रथाद्वारा विजयी हुनुभयो। कस्तो अनुभव गर्नुभयो?
निर्वाचन प्रक्रियाबाटै विजयी भएको हुँ। बराबरी मत आइसकेपछि निर्वाचन नियमावलीमा गोला प्रथाद्वारा अन्तिम निर्णय गरिने व्यवस्था रहेछ। निर्वाचन आयोगले भनिसकेपछि हामीले त्यसलाई स्वीकार गर्यौं। 

उनीहरुले दुई वटा खाम (चिट) झोलामा हाले। उस्तै उस्तै प्रकारले फोल्डिङ गरेर एउटामा ‘विजयी’ लेखिएको थियो भने अर्को प्लेन (खाली) थियो। त्यही फोल्डिङ गरेको चिटले हाम्रो निर्णय भयो। मैले पहिलो पल्ट चिट तान्ने मौका पाएँ। ‘विजयी’ लेखिएको चिट मेरो हात पर्याे। निर्वाचन आयोगले मलाई विजयी घोषणा गर्‍याे।

गोला तान्दा कस्तो लागिरहेको थियो। भाग्य त बलियो रहे छ नि?

मेरो भाग्यले मलाई साथ दिँदै आएको छ। सँगसँगै म अलिकति भगवानमा विश्वास राख्छु। मैले ठाकुरको दीक्षा लिएर निरन्तर नामजप–ध्यान पनि गर्ने गरेको छु। दुई दिन अगाडि इलाम माक्सेबुङमा आत्मानन्द लिङ्देन गुरुजीको आशीर्वाद लिएको थिएँ। उहाँले मेरो टाउकोमा हात राखेर विजयी भवः भन्नुभएको थियो। त्यसैले तपाईंले ठीकै भन्नुभयो–मेरो भाग्य पनि राम्रै हो। 

देवी-देउतामा विश्वास गर्छु भन्नुभयो। गोला तान्दा कुनै देवी–देउताको भाकल गर्नुभएको थियो? 
जुन बेला अप्ठ्यारो पर्ने हो त्यही बेला मान्छेले देवी–देउता बढी सम्झिने रहेछ। मैले पनि त्यो बेला सम्झेकै हो। 

भाकल पूरा भयो। अब के गर्नुहुन्छ तपाईंले सम्झेका देवी–देउताका नाममा?
म राष्ट्रियसभामा पुग्छु। राष्ट्रियसभाको नीति, नियमावलीलाई पूर्णतया पालना गर्छु। राष्ट्रियसभाको गरिमालाई उच्च राख्न हरेक कदमहरू अगाडि बढाउने छु। राष्ट्रियसभाको अत्यन्त जिम्मेवार सदस्यका रुपमा आफूलाई प्रस्तुत गर्नेछु।

 

गोला तान्ने मापदण्ड के तय गरिएको थियो? प्रतिद्वन्द्वी भन्दा पहिले तान्ने अवसर कसरी पाउनुभयो?
निर्वाचन आयोगले तपाईंहरु दुई जनामध्ये पहिले कसले तान्ने हो, तान्नुस् भन्यो। मैले गुरु बराल (एमालेका उम्मेदवार) जीलाई प्रस्ताव राखेँ– म तानुँ कि तपाईं तान्ने? उहाँले तपाईं नै पहिला तान्नुस् भन्नुभयो। त्यहाँ मैले पहिले तान्दा नै विजयी हुन्छ भन्ने कुरो थिएन।

मैले तानेँ। मैले तानेको चिट खोलेर हेर्दा विजयी लेखेको देखियो। अर्को चिट उहाँ (गुरु बराल) ले तान्नुभयो। त्यो चिटमा केही लेखिएको थिएन। ‘प्लेन’ (सादा) कागज थियो। 

गोला तानेर विजयी लेखिएको देखिएलगत्तै एमालेका उम्मेदवार गुरु बरालको प्रतिक्रिया के थियो? उहाँले के भन्नुभयो?   
त्यो भइसकेपछि माहोल नै भिन्नै भइहाल्यो। खुसियालीको लहर छायो। नेता–कार्यकर्ताहरुले भेट्नुभयो। सूचना सबैतिर पुगिहाल्यो। फोन आएको आयै गर्‍याे। मलाई पहिलो फोन नै पार्टी सभापति शेरबहादुर देउवाको त्यहीँ आयो। 

त्यही ठाउँबाट मैले उहाँलाई म गोला प्रथाद्वारा विजयी भएँ भनेर जानकारी गराएँ। त्यो भइसकेपछि सबै साथीमा खुशीको माहोल भयो। उहाँ (गुरु बराल) हरुले दुःख मनाउ गर्नुभयो होला। त्यतातिर खासै ध्यान दिने कुरा पनि भएन। तर, गोला तानुन्जेलसम्म हामी दुई जना साथैमा रह्यौँ।  

प्रधानमन्त्रीको फोन आयो भन्नुभयो। फोनमा के कुरा भन्नुभयो? तपाईं विजयी भइसकेपछि फोन आएको थियो कि विजयी हुनु अघि? 
ल, ल जीतको खबर आयो। तपाईंलाई बधाई छ भन्नुभयो। एउटा सामान्य प्रक्रिया अन्तर्गत कुरा भएको हो। प्रधानमन्त्री भएर होइन। आफ्ना कार्यकर्ताहरूको हारजीतमा नेताहरुको चासो रहन्छ नै। यो कुनै नौलो र नयाँ कुरो होइन। 

गोला प्रथामा यस अघिको यहाँको अनुभव कस्तो थियो। कुनै चिट्ठा प्रतियोगिता अथवा भाग्योदय उपहार योजना जस्तामा सहभागी हुनुभएको थियो?
म यसअघि कहिल्यै पनि गोला प्रथाद्वारा विजयी हुने कार्यक्रम–प्रतियोगिता जस्तामा सहभागी भएकै थिइनँ। 

प्रदेश १ मा पाँच दलीय गठबन्धनले जित्ने लगभग निश्चित जस्तै थियो। तर, तपाईँमाथि त अन्तरघात भएको देखियो। रिस उठेन?
उठेन, उठेन। रिसाउने कुरै भएन। किन भने आफ्नो पार्टीका साथीहरु सबैले मत दिनुभयो। गठबन्धनका साथीहरुले पनि मत दिनुभयो। दुइटै तिर मत बराबर भएको भन्ने मैले बुझेको छु। अहिले म कुनै पनि साथीलाई ‘ब्लेम’ (दोष लगाउने) गर्ने पक्षमा छैन। 

गठबन्धनको एक दल नेकपा (एकीकृत समाजवादी) की उम्मेदवार जयन्ती राईले सहजै जित हासिल गर्दा तपाईंले त गोला प्रथाको भर गर्नुपर्यो नि?
गोलामा म भर परेको होइन। म पनि विजयकै प्रक्रियामा थिएँ। साथीहरुले मलाई बराबरीमा मत दिनुभयो। बराबर भयो। मतपत्र त भिन्नै हुन्छ फेरि हाम्रो। उहाँहरुको मतपत्र भिन्नै हो, बाकस भिन्नै हो। मेरो मतपत्र, बाकस भिन्नै हो। हामी अलग–अलग श्रेणीका उम्मेदवार थियौं। म खुल्लातर्फको उम्मेदवार थिएँ। 

तपाईंको पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिपक्षी एमालेले परमादेशको प्रधानमन्त्री भन्ने गरेको छ। तपाईं त झन् भाग्य चिट्ठाको सांसद। एमालेले जिस्क्याउला नि अब? 
त्यो वैधानिक विधिको कुरा हो। विधिको कुरा, प्रक्रियालाई उनीहरु (एमाले) ले आफैँले सहमति गरेका छन्। नेपालकै कानुन–संविधानमा चिट्ठा गर्नु भनेर लेखिसकेपछि कसैले पनि यसको विरोध गर्नु गलत हुन्छ भन्ने मलाई लाग्छ। 

तपाईं त झापाको नेता। आगामी निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्न सकिन्छ? तयारी कस्तो छ कांग्रेसको झापामा?
नेपाली कांग्रेस आफैँमा सवल पार्टीका रुपमा परिवर्तन भइरहेको छ। नेपाली कांग्रेस संगठन विस्तारको काममा अगाडि बढिसकेको छ। एमाले विभाजनको घेरामा छ। त्यसकारण पनि उहाँलाई हराउन धेरै सहज छ। अहिले हामी एकढिक्का पनि छौं। पार्टी एकता पनि पार्टी जिताउने कारण बन्छ। त्यस कारण पनि हामी जित्छौँ भन्ने विश्वास छ। 

झापामा कांग्रेस नेताहरु तीनतिर फर्किएका छन् भनिन्छ। यस्तो अवस्थामा कसरी जित्नु हुन्छ? 
नेपाली कांग्रेस एक छ, यस बेलामा चुनाव जित्नका लागि। हाम्रो महाधिवेशन पछाडि स्थिति परिवर्तन भएको छ। अहिले हाम्रो केन्द्रीय नेताहरु पनि एक हुनुहुन्छ। केन्द्रीय नेताहरुका बीचमा कुनै विभाजन भएको छैन। हामी एक भएरै निर्वाचनमा जान्छौं। एक भएर जाने पनि निर्वाचनमा विजयी हुने हाम्रो मुख्य कारण हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .