अन्तर्वार्ता


यही गठबन्धनले संसदबाट एमसीसी पास गर्छ, अहिले दायाँ बायाँ सोचेका छैनौँ : गगन थापा (अन्तर्वार्ता)

‘एकीकृत समाजवादीले टेबल गर्ने निर्णय गर्यो, माओवादीले पनि पुरानो निर्णयमा पुनर्विचार गर्छ’
यही गठबन्धनले संसदबाट एमसीसी पास गर्छ, अहिले दायाँ बायाँ सोचेका छैनौँ : गगन थापा (अन्तर्वार्ता)

फाइल फोटो


केशव सावद
फागुन ७, २०७८ शनिबार २१:२०, काठमाडौँ

अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल गर्ने विषयमा माओवादी केन्द्र र एकीकृत समाजवादी सहमत भएको खबरहरू आइरहेका छन्। फागुन १६ गतेभित्र एमसीसीको बारेमा निर्णय लिन अमेरिकाले तारन्तार दबाब दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्णायक पहलमा अन्ततः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि सहमत भएका हुन्। यो सहमतिबाट दलहरू पछि हटेनन् भने सम्भवतः आइतबार (फागुन ८) एमसीसी सम्झौता संसदमा टेबल हुनेछ। पछिल्लो समय एमसीसी संसदमा टेबल गर्न र पास गराउन सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको तर्फबाट महत्वपूर्ण भूमिका खेलिरहेका महामन्त्री गगन थापासँग यस सन्दर्भमा नेपालखबरले गरेको वार्ताः 

नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट पारित गर्ने निर्णय गरिसकेको छ। तर सत्ता गठबन्धनमै मतभेद चलिरहँदा अब कांग्रेसले कस्तो कदम चाल्छ?
संसदीय प्रणालीमा सरकारले ल्याएको प्रस्तावलाई सभामुखले संसदमा छलफलका लागि प्रस्तुत गर्नुपर्छ। सार्वभौम संसदले त्यसलाई अनुमोदन गर्ने वा नगर्ने अधिकार राख्दछ। हामीले यो विषय (एमसीसी) संसदमा प्रस्तुत भइसकेपछि पक्षमा मतदान गर्नका लागि निर्णय गरेका हौँ।

जसरी हामी पक्षमा मतदान गर्न स्वतन्त्र छौँ, त्यसैगरी अन्य राजनीतिक दलहरु विपक्षमा मतदान गर्न पनि स्वतन्त्र छन्। हामी अहिले सभामुखले आफ्नो जिम्मेवारी वहन गरुन्, संसदमा एमसीसीसम्बन्धी विधेयक प्रस्तुत होस्, त्यसमाथि छलफल भएर टुंगो लाग्ने गरी जाओस् भन्ने चाहन्छौं। 

हामीले अहिले योभन्दा अगाडि केही सोचेका छैनौं। सबै दलहरु आफ्नो निर्णय गर्न स्वतन्त्र छन्। भोलि (आइतबार) को संसदमा विशेष गरी गठबन्धनका दलहरुबीच एउटा समझदारी बन्छ। संसदमा टेबल भएर प्रक्रिया अगाडि बढ्छ भन्ने अपेक्षा हामीले गरेका छौँ। त्यसका निम्ति अन्य दलहरूसँग पनि छलफल गरिरहेका छौँ।

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले शनिबार मात्रै एमसीसी संसदमा टेबल गर्न दिने निर्णय गरेको छ। यसलाई नेपाली कांग्रेसले कसरी लिएको छ?

हामीले चाहेको नै त्यही हो। माओवादीले पनि यसै गरी निर्णय गरिदेओस्। एमसीसी संसदमा टेबल होस्। टेबल भएपछि छलफल होस्। हामी त नेकपा एमालेले पनि छलफलमा यसैगरी भाग लेओस् भन्ने चाहन्छौं। 

देश र जनताले पनि एमसीसीबारे उठेका अनेक प्रश्नबारे थाहा पाउने अवस्था बनोस्। त्यसपछि संसदमा छिनोफानो होस्। एकीकृत समाजवादीले निर्णय गरिसकेपछि माओवादीले पनि आफ्नो पुरानो निर्णयलाई पुनर्विचार गर्छ भन्नेमा हामी आशावादी छौँ। 

भोलि (आइतबार) बिहान बस्ने सत्ता गठबन्धनको बैठकमा सबै दलबीच टेबल गर्न दिने कुरामा एक प्रकारको समझदारी बन्छ भन्ने कुरामा हामी विश्वास गर्छौं।     

जवरजस्ती टेबल गर्न खोजे सरकारबाट बाहिरिने निर्णय माओवादी केन्द्रले गरिसकेको छ। तपाईंले भनेजस्तो माओवादीले संसदमा टेबल गर्ने पक्षमा निर्णय गरेन वा टेबल गर्न खोज्दा सरकार छोडे के हुन्छ?
सरकारले अघि बढाएपछि संसदभित्र यो विषयलाई टेबल गर्ने जिम्मेवारी सभामुखको हो। हामी संसदीय व्यवस्थामा छौँ, संसदीय प्रक्रियाबाट यी कुराहरु टुंगिन्छन्। कुनै–कुनै कुरामा हाम्रो कुराकानी मिले हामी गठबन्धनमा आयौँ र सँगै छौँ। 

अहिले पनि हाम्रोबीचमा कुराकानी मिलोस् भन्ने चाहन्छौँ। तर, हाम्रोबीचमा कुराकानी नमिलेर सँगै बस्न नसकिने अवस्था भयो भने हामी बस्दैनौँ। त्यसैले न हामीले उहाँहरुलाई धम्काउनुको अर्थ छ। न उहाँहरुले हामीलाई धम्क्याउनु अर्थ रहन्छ। हामीसँगै बस्न सक्ने अवस्था भएन भने सल्लाहले नै छुट्टिउँला नि। 

एमसीसी पारित गर्न कांग्रेसले विपक्षी नेकपा एमालेसँग कस्तो अपेक्षा राखेको छ?
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्को निर्णय अनुसार अनुमोदनका लागि दर्ता भएको प्रस्तावको पक्षमा एमाले दृढ भएर उभिदेओस् भन्ने हाम्रो चाहना र अपेक्षा हो। 

किनकी हिजो नेकपाका तर्फबाट प्रस्ताव प्रस्तुत हुँदै गर्दा हामी प्रतिपक्षमा थियौं। प्रतिपक्षमा हुँदै गर्दा पनि हामीले यो विषयलाई मतभेदभन्दा सबैले यसमा काम गरेर आएका छौं, यो हाम्रो अन्तर्राष्ट्रिय प्रतिवद्धताको विषय पनि हो। हाम्रो राष्ट्रिय विश्वसनीयताको विषय पनि हो, हाम्रो अर्थतन्त्र र अन्तर्राष्ट्रिय सम्बन्धलाई दूरगामी प्रभाव पार्ने विषय भएकाले सही ढंगले यसलाई सम्हाल्न सक्नुपर्छ भनेर पक्ष विपक्ष, तत्कालको क्षणिक लाभ कुनै कुरा नहेरौँ, एक ठाउँमा उभिएर यसलाई पास गरौँ भनेका हौं। 

प्रधानमन्त्री ओलीको नेतृत्वमा जे निर्णय गर्नुभएको छ, अहिले उहाँ प्रमुख प्रतिपक्षी दलको नेता पनि हुनुहुन्छ। उहाँकै त्यही निर्णयमा, त्यही ठाउँमा उभिदिनुस् भन्ने हाम्रो एमालेसँग अनुरोध हो। 

प्रधानमन्त्री शेरबहादुर देउवा र विपक्षी नेता केपी शर्मा ओलीबीच भएको भेटबारे यहाँलाई के थाहा छ? के सहकार्य हुन लागेको हो, कांग्रेस र एमालेका बीच?
नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवा लुकेर पूर्वप्रधानमन्त्रीसँग भेट्न जानु भएको होइन। गठबन्धनको बैठकबीचमा नै उहाँले आफूले एमाले अध्यक्षसँग भेट्दै छु, एमसीसीको सवालमा एक ठाउँमा उभिऔँ भनेर अनुरोध गर्दैछु भनेर जानकारी दिनुभएको थियो। 

उहाँ ओलीजीलाई तपाईँले नै प्रस्ताव गरेको विषय हो, तपाईं म जत्तिकै नै जिम्मेवार हुनुहुन्छ, एकै ठाउँमा उभिऔँ भन्ने प्रस्ताव गर्छु र एमालेले यो कुरामा संसदमा सहजीकरणका लागि मद्दत गरिदेओस् भन्ने आग्रह गर्दछु भनेर जानुभएको हो।  

र, मैले थाहा पाएसम्म त्यही कुरा उता राख्नु पनि भयो। एमालेका अध्यक्षजीको कुरा पुरानै रह्यो। पहिले गठबन्धनले साझा धारणा बनाउनुस्, त्यसपछि हाम्रो धारणा राख्छौँ भन्ने कुरा दोहोर्याउनु भयो। हामीले हाम्रो कुरा प्रष्टसँग उहाँसँग राखेको हो। उहाँलाई हामीले अनुरोध पनि गरेको हो।         

यदि अन्तिम अवस्थामा गठबन्धनमा रहेका माओवादी र एकीकृत समाजवादी एमसीसी अनुमोदन गर्न तयार भएनन् भने एमालेसँग सहयोग लिन कांग्रेस सभामुख हटाउन पनि तयार हो?
मैले अघि नै भनेँ, कुराकानी मिलेर यो गठबन्धन बनेको हो। हाम्रो बीचमा कुराकानी मिलेन भने विभिन्न विकल्पहरूमा हामी जान सक्दछौँ भन्ने खालका अनुमान स्वभाविकै भयो।

तर, अहिलेसम्म नेपाली कांग्रेस र हाम्रो सभापतिले कहीँ कतै पनि यो गठबन्धनको विकल्प खोज्ने, सभामुखको विकल्प खोज्ने आदि विषयमा सामान्य छलफलसम्म गरेका छैनौं।

हामी अहिले पनि यही गठबन्धनले आफ्नो धर्म निर्वाह गरोस्, अन्य दलहरुले पनि संसदीय मान्यता मानून् भन्ने चाहन्छौँ। संसदभित्र गइसकेपछि हामीले फरकफरक पोजिसन लिँदा परिणाम के आउँछ कसैले पनि भन्न सक्दैनौँ। हामी एकै ठाउँमा रहन पनि सक्छौँ, नरहन पनि सक्छौँ। तर, आजको मितिसम्म हामीले यताउता कुनै पनि विकल्प खोजेको र सोचेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .